दाङको एक मतदानस्थल सारिएको छ। शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनको दिन पानी पर्न सक्ने मौसमविदहरूले जानकारी गराएकाले त्यसलाई मध्यनजर गरी तुलसीपुर उपमहानगरपालिका वडा नं.५ स्थित अरनिको मैदानको मतदान स्थललाई नजिकैको एक विद्यालयमा सारिएको हो।
पानी परेमा मतदान कार्य नै प्रभावित हुने भएपछि तुलसी बोर्डिङ स्कुलमा सारिएको मतदान अधिकृत माया आचार्यले बताइन्। उनका अनुसार दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसहित राजनीतिक दलका प्रतिनिधिहरूको सहमतिमा उक्त मतदान स्थल सारिएको हो।
सोही मतदान स्थलमा ६ वटा मतदान केन्द्र रहेका छन्। दाङमा सबैभन्दा असुरक्षित क्षेत्र अरनिको मैदान नै भएकाले त्यहाँको मतदान स्थललाई सारिएको उनको भनाइ छ। दाङमा १५३ मतदान केन्द्र रहेका छन्, भने ४६१ मतदान स्थल रहेका छन्। ती सबै मतदान केन्द्रहरुमा कर्मचारी पुगिसकेको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए।
उनका अनुसार कर्मचारी पुगेर मतदान केन्द्रको शान्ति सुरक्षा मजबुत बनाएर भयरहित वातावरणमा मतदान गर्ने वातावरण तयार पार्ने कार्य भइरहेको उनले बताए। दाङमा २५ सयभन्दा बढी कर्मचारी र ३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
साथै दाङसँग भारतीय सिमाना पनि जोडिएकाले सीमा क्षेत्रसमेत सिल गरिएको छ। जिल्लामा पुरुष मतदाताको संख्या दुई लाख आठ सय एक र महिला मतदाताको संख्या दुई लाख नौ हजार ९९ जना रहेका छन्। कुल मतदाता संख्या चार लाख ९९ हजार दुईजना रहेको छ।