स्वास्थ्यकर्मी निर्वाचनमा खटिएपछि हुम्लामा स्वास्थ्य सेवा प्रभावित, चार दिनदेखि ल्याब सेवा ठप्प

बिहिबार, २९ बैशाख, २०७९
डिजिटल संस्करण

जिल्ला अस्पताल हुम्लाका स्वास्थ्यकर्मी निर्वाचनमा खटिएपछि अस्पतालको सेवा प्रभावित भएको छ। ल्याबमा काम गर्ने सात कर्मचारी र एक डाक्टरसहित १५ स्वास्थ्यकर्मी निर्वाचनमा खटिएपछि अस्पतालको सेवा प्रभावित भएको हो।

१५ शय्याको जिल्ला अस्पतालमा अहिले तीन मेडिकल अफिसर, एक डेन्टल डाक्टर, दुई पारामेडिक्स कर्मचारी र पाँच नर्सिङ स्टाफ मात्रै छन्। ल्याबका सबै कर्मचारी निर्वाचनमा खटिएपछि चार दिनदेखि ल्याब सेवा ठप्प भएको छ भने अन्य सेवा पनि प्रभावित भएको छ।

ल्याबका कर्मचारीहरू भक्ति फडेरा रोडिकोट, रवीन्द्र देवकोटा अदानचुली, सुनिता तामाङ  बराई, शोभा रोकाया सर्केगार्ड, रामराज शाही ताजाँकोट, बलिराज भण्डारी लिमि र दीपेन्द्र शाही सर्केगार्ड खटिएपछि ल्याब बन्द छ। ल्याब सेवाका लागि दैनिक १७ देखि १९ बिरामी आउने अस्पातलमा ल्याब सेवा नै बन्द भएपछि बिरामी त्यसै घर फर्किन बाध्य छन्। अस्पतालले अहिले इमर्जेन्सी सेवा मात्र दिँदै आएको छ।

अस्पतालका डाक्टर कैलाश लामा नाम्खा गाउँपालिका– १ हेप्कामा निर्वाचन अधिकृत भएर खटिएका छन् भने अस्पतालकी सिनियर अनमी सरिता बोहरा नाम्खा– ३ खगाल गाउँमा मतदान अधिकृत भएर खटिएकी छिन्। यसैगरी, हेल्थे असिस्टेन्ट  प्रेम भण्डारी हेप्का, प्रजित भण्डारी मेल्छाम, स्टाफ नर्स अन्जु मल्ल डाँडाफाया, श्रुती रोकाय सिमकोट, पूजा चन्द छिप्रा तथा निकिता बिसी लाली खटिएका छन्।

ल्याबका सबै कर्मचारीसहित १५ स्वास्थ्यकर्मी निर्वाचनमा खटिएपछि उपचारका लागि आउने बिरामी उपचारबिनै घर फर्किन बाध्य छन्। पछिल्लो चार दिनदेखि जिल्ला अस्पतालको ल्याब नै बन्द भएपछि हुम्लामा बिरामीलाई सकस भएको बिरामी र बिरामीका आफन्तले दुःखेसो गरेका छन्।

मानव अधिकार हनन
निर्वाचनको प्रर्यवेक्षण गर्न हुम्ला पुगेका राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्त सुदीप पाठकले स्वास्थ्यर्कीलाई निर्वाचनमा खटाइएकोप्रति आपत्ति जनाएका छन्। स्वास्थ्यजस्तो अतिसंवेदनशील क्षेत्रका कर्मचारीलाई निर्वाचनमा खटाउनु आपत्तिजनक रहेको आयुक्त पाठकले बताए।

‘ल्याब सेवा बन्द छ। सातजना ल्याबका कर्मचारीलाई निर्वाचनमा खटाएपछि चेकजाँच गर्न आउने सेवाग्राहीको मानव अधिकारसमेत हनन हुने काम भएको  छ,’ आयुक्त पाठकले भने।

सुझावित समाचार