‘रो’फैसला खारेजी र अन्तर्राष्ट्रिय प्रजनन न्याय

बिहिबार, २९ बैशाख, २०७९
डिजिटल संस्करण

डब्स’विरुद्ध ‘ज्याक्सन वुमन्स हेल्थ अर्गनाइजेसन’ मुद्दामा न्यायाधीश स्यामुएल अलिटोले लेखेको अमेरिकी सर्वोच्च अदालतको मस्यौदा निर्णय चुहिएपछि प्रजनन अधिकार विश्वभर बहसको विषय बनेको छ । यदि यो निर्णय अदालतले लागू गर्यो भने सन् १९७३ को ‘रो’विरुद्ध ‘वेड’को मुद्दामा भएको ऐतिहासिक फैसला उल्टिनेछ । सो मुद्दाले गर्भपतनको अधिकारलाई अमेरिकी संविधानको १४औँ संशोधनअनुरूप स्थापित गरेको थियो, जहाँ महिलाको गोपनीयताको अधिकारलाई आधार बनाइएको थियो ।

यदि ‘रो’ फैसलालाई उल्ट्याइयो भने गर्भपतन संवैधानिक अधिकार मानिनेछैन र यसबारे कानुन बनाउने जिम्मेवारी राज्यको विधायिकालाई दिइनेछ । हालसम्म, १२ राज्यले तथाकथित ‘ट्रिगर कानुन’ पारित गरिसकेका छन्, जसले यदि ‘रो’ मुद्दा उल्टियो भने गर्भपतनलाई अवैध ठहर्याउनेछ वा आपराधिक बनाउनेछ । यसो हुनु निश्चित रूपमा अमेरिकाका महिला एवं गर्भवतीको अधिकारमा विनाशकारी असर पर्नु हो किनभने धेरैले गर्भपतन स्वास्थ्य सेवामा पहुँच गुमाउनेछन् । 

गर्भपतनसम्बन्धी ‘रो’ फैसलाको संवैधानिक संरक्षणको सम्भावित क्षतिले प्रजनन अधिकार मात्र नभई प्रजनन न्यायको आवश्यकता पनि औँल्याउँछ । प्रजनन न्याय भनेको यस्तो समाजको निर्माण गर्नु हो, जहाँ समानता र समावेशी सिद्धान्तको अर्थ प्रत्येक महिलालाई आफ्नो शरीरबारे निर्णय लिने अधिकार हुन्छ । यो अवधारणा सन् १९९० को दशकमा अश्वेत अमेरिकी नारीवादीले विकास गरेका हुन् । प्रजनन न्यायले ‘रो’जस्ता फैसलामा भनिएको ‘छनोटको अधिकार’को दायरा पार गर्छ र फराकिलो सामाजिक अन्तरसम्बद्ध (इन्टरसेक्सनल) मुद्दामा विचार गर्छ ।

आयरल्यान्ड, बेलायत र अर्जेन्टिना एवं मेक्सिको जस्ता ल्याटिन अमेरिकी राष्ट्रमा हालैका गर्भपतन समर्थित अभियानको विशेषताको रूपमा प्रजनन न्यायका खाका देखा परेका छन् । आयरल्यान्डमा ‘आठौँ (संशोधन) खारेज गर’ अभियानमा सार्वजनिक विद्यालयमा निःशुल्क गर्भनिरोधक र व्यापक यौनशिक्षाको माग समावेश थिए । सन् २०१८ मा गर्भपतन प्रतिबन्ध हटाउन आयरल्यान्डको संविधान संशोधन गरिएको थियो ।

यदि ‘रो’ फैसलालाई उल्ट्याइयो भने गर्भपतन संवैधानिक अधिकार मानिनेछैन र यसबारे कानुन बनाउने जिम्मेवारी राज्यको विधायिकालाई दिइनेछ
 

बेलायतका उत्तरी आइरिस अभियन्ता, जहाँ एलायन्स फर च्वाइसका कार्यकर्तासहितले ‘निःशुल्क, सुरक्षित, कानुनी र स्थानीय’ गर्भपतन पहुँचको महŒवलाई जोड दिएका छन् । र, यसमा विशेषतः कोभिड–१९ महामारीको समयमा गर्भपतन गराउन नसक्ने समुदायका सदस्यका लागि टेलिमेडिसिन सेवासहितका माग छन् ।
अर्जेन्टिनामा नारीवादी अभियन्ताले गरेको ‘एबोर्तो लिगाल या’ अर्थात् ‘कानुनी गर्भपतनको तुरुन्त व्यवस्था गर’ आन्दोलनले ‘मारिया वर्दे’ वा ‘ग्रिन वेभ’ अभियानको रूप लियो । मुलुकको विद्यमान सामाजिक आर्थिक विभाजनबारेको सचेतना, ग्रिन वेभ अभियानको एक प्रमुख विशेषता थियो । उसो त अर्जेन्टिनामा नयाँ कानुन लागू हुनुअघि सबै पृष्ठभूमिका महिला असुरक्षित गर्भपतन रोज्न बाध्य थिए र यस छनोटका कारण विपन्नतामा बाँचिरहेका महिलाको ज्यान गुमाउने जोखिम बढी थियो ।

तसर्थ, प्रजनन न्यायलाई अन्तरसम्बद्ध दृष्टिकोण आवश्यक पर्छ अर्थात् समाजको जनसांख्यिकीय समग्रका केही हिस्सामा विशेष ध्यान र हेरचाह आवश्यक हुन्छ । अमेरिकामा गैरश्वेत, लैंगिक एवं यौनिक अल्पसंख्यक, दस्ताबेजविहीन आप्रवासी, अपांगता भएका व्यक्ति र गरिबीमा बाँचिरहेका मानिसलाई ‘रो’ फैसलाको पतनबाट सबैभन्दा सुरुवाती र ठूलो प्रभाव पर्नेछ । उल्लिखित सीमान्तकृत समुदाय र न्यून सामाजिक–आर्थिक पृष्ठभूमिका महिला र गर्भवतीले गर्भपतनको कानुनी व्यवस्था रहेको राज्यमा यात्रा गर्न असमर्थ हुनेछन् ।

‘रो’ फैसला व्यक्तिगत गोपनीयताको अधिकारका आधारमा गरिएको थियो । तर, अहिलेको ‘डब्स’को सम्भावित फैसलाको चुहावटले ‘रो’ फैसलाले उपलब्ध गराएको अधिकार कमजोर रहेको देखाएको छ । प्रजनन अधिकारको खाका मात्रै लिखित कानुनजत्तिकै बलियो हुन्छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश रुथ बडर गिन्सबर्गलगायत धेरैले स्वतन्त्रता र समानताको मूल्यमा ठोस ढंगले आधारित नभएकोमा ‘रो’ फैसलाको संवैधानिक आधारको आलोचना गरेका थिए । यो त्रुटिका कारण न्यायाधीश अलिटोलाई ‘रो’ निर्णय उल्ट्याउनका लागि मस्यौदा तयार गर्न सक्षम बनायो ।

संविधानको मौलिक व्याख्याका आधारमा गर्भपतन अधिकारलाई ‘राष्ट्रको इतिहास र संस्कृतिमा गहिरो रूपमा स्थापित नभएको’ भन्ने दलिलमा टेकेर अलिटोले चुहिएको मस्यौदा राय तयार पारेका थिए । गर्भपतनमाथि प्रतिबन्ध लगाइएका राज्यमा प्रतिबन्ध रोक्न वा विरोध गर्न आपसी सहायताको संस्कृति देखा पर्नेछ । पोल्यान्ड, माल्टा र जिब्राल्टरमा आधारित गर्भपतन समर्थन सञ्जालले गर्भपतन उपचारमा पहुँचका लागि आफ्नो राज्य छोड्न नसकेर अर्कोमा जान नसक्ने महिला र गर्भवतीका लागि प्रक्रिया एवं यात्रामा अनुदान दिने प्रयास सुरु भइसकेको छ ।

उदाहरण वुमन इन वेभ्सजस्ता अभियानले गर्भपतनलाई गैरकानुनी मानिएका मुलुकका नजिकका सीमा क्षेत्रबाहिर गर्भपतन सेवा प्रदान गरेर प्रत्यक्ष रूपमा सक्रिय छन् । अमेरिकामा नेसनल नेटवर्क अफ एबोर्सन नेटवक्र्स फन्ड्सले निःसन्देह बृहत् समर्थन हासिल गर्नेछ । ‘रो’ फैसला उल्टिने सम्भावनाले अमेरिकामा महिला र गर्भवतीका लागि राम्रो संकेत देखाउँदैन । यद्यपि अन्तर्राष्ट्रिय गर्भपतन र प्रजनन अधिकार आन्दोलनले एकसाथ काम गर्दा सबैभन्दा सामथ्र्यवान् भइन्छ भन्ने देखाइरहेको छ ।
द कन्भर्सेसनबाट
 

सुझावित समाचार