चार हिमालबाट १७ हजार केजी फोहोर संकलन

बुधबार, २८ बैशाख, २०७९
डिजिटल संस्करण

फोहोर संकलनमा सैनिक तथा शेर्पासहित ९१ जना सहभागी, पहिलोपटक कञ्चनजंघा आरोहण

नेपाली सेनाको नेतृत्वमा गएको हिमाल सफाइ अभियान टोलीले सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लुबाट १७ हजार केजी फोहोर संकलन गरेको छ । सेनाको अगुवाइमा २२ चैतबाट सञ्चालन भइरहेको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत दुई हजार ६० केजी सड्ने फोहोर र बाँकी नसड्ने फोहोर संकलन भएको हो ।

चारवटा हिमाल पुगेका टोलीले मंगलबार प्रधानसेनापति प्रभुराम शर्मालाई हिमाल सफाइबारे भिडियो टेलिकम्युनिकेसनमार्फत ब्रिफिङ गरेका छन् । शर्माले भौगोलिक विकटता र प्रतिकूल मौसमको समेत परवाह नगरी विषम परिस्थितिमा सेनाका सकल दर्जाले गरिरहेको कार्यको उच्च मूल्यांकन गरे । उनले हिमाल सफाइअन्तर्गत तोकिएको जिम्मेवारी कुशलतापूर्वक समयमै सम्पन्न गर्न निर्देशन दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाका अनुसार सफाइमा गएको सैनिक टोलीले पहिलोपटक कञ्चनजंघाको शिखर आरोहण गरेको थियो । २४ वैशाख बिहान सहसेनानी राजु श्रेष्ठ र सिपाही अमित थापाले नेपाली सेनाका तर्फबाट पहिलोपटक कञ्चनजंघा हिमाल (८५८६ मिटर) को सफल आरोहण गरेका हुन् । प्रधानसेनापति शर्माले उनीहरूलाई बधाई दिएका छन् ।

सेनाका अनुसार सगरमाथा/ल्होत्से क्षेत्रबाट ६ हजार ३६५ केजी, कञ्चनजंघाबाट ६ हजार ६१२ केजी, मनास्लुबाट चार हजार २३ केजी फोहोर जम्मा भएको छ । सेना र शेर्पा समुदाय मिलेर फोहोर संकलन गरेका हुन् । फोहोर संकलन कार्य जारी रहेको सेनाले जनाएको छ ।

सगरमाथा क्षेत्रमा मात्रै तीन सय शव
यो वर्ष सेनाले ३५ टन फोहोर संकलन गर्ने लक्ष्य राखेको छ । सगरमाथा क्षेत्रबाट १४ टन, कञ्चनजंघाबाट १० टन, ल्होत्सेबाट ६ टन र मनास्लुबाट पाँच टन फोहोर संकलन गर्ने सेनाको तयारी छ । गत वर्ष १२ करोड ५५ लाख रुपैयाँ खर्च गरेर सेनाले फोहोर संकलनको समन्वय गरेको थियो । चार हिमालमा सैनिक तथा शेर्पासहित ९१ जना सहभागी छन् ।

गत वर्ष सेनाले ६ वटा हिमालबाट ३५ टन फोहोर संकलन गरेको थियो । सेनाका अनुसार सगरमाथा क्षेत्रमा मात्रै तीन सय शव र फोहोरमैला छन् । सगरमाथा क्षेत्रमा एक सय ४० टन फोहोर र ४० टनजति दिसाजन्य फोहोर रहेको अनुमान छ । ‘सेनाले हिमाली अर्थतन्त्र, प्रदूषण नियन्त्रण तथा हिमाली साहसिक पर्यटनको अवधारणाअनुसारको एकीकृत योजनाअनुसार फोहोर सफाइमा काम गरिरहेको छ,’ सेनाको वन्यजन्तु तथा वातावरणसम्बन्धी निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले जानकारी दिए । हिमाली क्षेत्रमा खटिएका सैनिकलाई सेनाले १५ फागुनदेखि सेनाको उच्च शिखर शिक्षालय कैसाङ (मुस्ताङ)मा तालिम दिएको थियो । सरकारले हिमाल सफाइका लागि आठ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।

भारतीय उपमहाद्वीपमा रहेका आठ सय किलोमिटर लामो हिमालय शृंखलाहरू करिब एक अर्ब ३० करोड जनसंख्याको पानीको स्रोत हो । यस क्षेत्रमा ६ हजार मिटरभन्दा माथिका एक हजार तीन सय १० हिमालमध्ये हालसम्म चार सय १४ हिमाल मात्रै आरोहणका लागि खुला गरिएका छन् । आरोहण खुला भएका हिमालमा आरोहीहरूले फोहोर छाड्ने गरेका छन् । सन् २००८ देखि २०१९ सम्म शेर्पाहरूको टोलीले सगरमाथा क्षेत्रबाट २१ हजार एक सय किलो फोहोर संकलन गरेर ल्याएका थिए ।

खाली अक्सिजन सिलिन्डिर, प्लास्टिकका बोतल, क्यान, ब्याट्री, खाना बेरिएका वस्तु, च्यातिएका टेन्ट, कागज तथा मृत शरीर संकलन गर्ने सेनाको योजना छ । गत वर्ष सगरमाथा, ल्होत्से, मकालु, अमादब्लम, पुमोरी र धौलागिरि हिमालबाट फोहोर तथा शव संकलन गर्न सेना र शेर्पाको एक सय १२ सदस्यीय टोली खटिएको थियो । 

सुझावित समाचार