स्थानीय निर्वाचन र मतदाताको व्यवहारको मनोविज्ञान

मंगलबार, २७ बैशाख, २०७९
डिजिटल संस्करण

निर्वाचनलाई लोकतन्त्रको आत्मा मानिन्छ। लोकमत मापन गर्ने वैधानिक विधि पनि यही हो।  जनताको अभिमतलाई प्रतिनिधिको रूपमा रूपान्तरित गर्ने वैधानिक विधि वा तरिका नै निर्वाचन हो। निर्वाचन कुनै पदका लागि गरिने प्रतिस्पर्धा हो, जुन मतदाताको मत वा अभिव्यक्तिमा आधारित हुन्छ। 

०७२ सालमा जारी भएको नेपालको संविधानमा नेपालको संघीय व्यवस्थाको शासकीय स्वरूपमा  सरकारका तीन तहको व्यवस्था गरेको छ। नेपालको संविधानले राज्यलाई संघ, प्रदेश र स्थानीय तहमा विभाजन गरेको छ। 

वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तह निर्वाचनमा महानगरपालिका ६, उपमहानगरपालिका ११, नगरपालिका २७६, गाउँपालिका ४६० र ६,७४३ वडामा ३५ हजार २ सय २१ जना जनप्रतिनिधि निर्वाचित हुँदै छन्।  कुल १ करोड ७७ लाख ७ हजार २३ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने यो निर्वाचनमा पुरुष मतदाताको संख्या ८९ लाख ९२ हजार १० र महिला मतदाताको संख्या ८७ लाख ४१ हजार ५३० जना रहेको छ भने अन्यमा १८३ जना छन्। देशभर  १० हजार ७५६ मतदान स्थल र २१ हजार  ९५५ मतदान केन्द्र तोकिएको छ।  जनताले पत्याएको व्यक्ति र दललाई छनाेट गर्न पाउनु नै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको मर्म हो। 

मतदाताको मतदान गर्ने प्रवृत्ति
मनोविद्हरूले संसारका सबै देशका मतदाताको मतदान गर्ने प्रवृत्तिलाई निम्नअनुसार वर्गीकरण गर्ने गरेका छन्:  
 

सैद्धान्तिक मतदाताः सैद्धान्तिक मतदाता खास दार्शन तथा वैचारिक मान्यतामा बाँधिएका हुन्छन्।  उनीहरूले जस्तै परिस्थितिमा आफ्नो दार्शनिक मान्यताभन्दा बाहिर गएर मतदान गर्दैनन्।  

मातृपार्टी भावना राख्ने मतदाताः मतदाताले आफ्नो जीवनमा पहिलोपटक रोजेको पार्टीलाई नै आफ्नो पार्टी ठान्छन् र अरू केही विचार नगरीकन त्यसलाई भोट दिन्छन्। नेपाली कांग्रेस र नेकपा एमालेका परम्परागत मतदातामा मातृपार्टी भावना असाध्यै बलियो छ।  कांग्रेस पृष्ठभूमिको मतदाताले कहिल्यै एमालेलाई भोट नदिने, एमाले पृष्ठभूमिको मतदाताले कांग्रेसलाई भोट नदिने सम्भावना हुन्छ। 

एजेन्डामा आधारित मतदाताः एजेन्डामा आधारित मतदाताले भने पार्टीका घोषणापत्र वा घोषित नीतिमा ध्यान दिन्छन्। 

तटस्थ मतदाताः तटस्थ मतदाता तात्कालिक परिस्थितिबाट प्रभावित हुन्छन्।  

प्रतिशोधी मतदाताः कसैलाई जिताउने नभएर कसैलाई हराउने हुन्छ। यस्ता मतदाता कुन पार्टी वा उम्मेदवारसँग रिस उठेको छ त्यसलाई हराउन लागिपरेका हुन्छन्।  

आश्रित मतदाताः आफ्नो कुनै स्वतन्त्र निर्णय हुँदैन, जसले आफ्नो जीवनमा प्रभाव पारेका व्यक्तिहरू, रोजगारदाता, अभिभावक, गुरु आदिको निर्णयबाट यस्ता मतदाता प्रभावित हुन्छन्।  

प्रायोजित मतदाताः प्रायोजित मतदाता भनेका निर्वाचन परिणामलाई अन्तिम अवस्थामा डाइभर्ट गर्न जहाँ पनि मतदान गर्न तयार हुने मतदाता हुन्।   

सधैँ नयाँपनको खोजी गर्ने मतदाताः सधैँ नयाँपनको खोजी गर्ने मतदाताले केही न केही नयाँ खोजिरहेका हुन्छन्। 

सामुदायिक भावना भएका मतदाताः सामुदायिक भावना भएको मतदाताले जाति, भाषा, धर्म, संस्कृतिसँगको निकटता वा दूरीलाई आधार बनाएर मतदान गर्छन्।   शक्ति–सम्बन्ध आधारित मतदाताः शक्ति–सम्बन्धमा आधारित मतदाताले जसले जित्ने सम्भावना बढी छ, उसैलाई भोट दिन्छन्। 

विकाउ मतदाताः निर्वाचनका बेला जसबाट भौतिक/अभौतिक सुविधा वा आश्वासन पाउँछन् उसैलाई भोट दिन्छन्।  

राजनीतिक विज्ञापन र चुनावी प्रचारप्रसारः
राजनीतिक विज्ञापनहरूले विशिष्ट राजनीतिज्ञहरूका लागि प्राथमिकताहरू परिवर्तन गर्ने, अरूप्रति आशंका सिर्जना गर्ने, र भावनाहरूलाई बढावा दिएर वास्तविक मतदानलाई प्रभाव पार्ने प्रयास गर्छन्।  अनुसन्धानले सुझाव दिन्छ कि सबैभन्दा प्रभावकारी राजनीतिक अभियानहरूले दुवै प्रकारका राजनीतिक विज्ञापनहरू प्रयोग गर्छन्।  

राजनीतिक विज्ञापनमा हुने खर्चसँगै त्यसमा पनि अनुसन्धान बढ्दै गएको छ।  संरचनात्मक विषयहरूबाहेक– जस्तै नैतिकता र नीति, ब्रान्डिङ र प्राविधिक विकास, राजनीतिक विज्ञापनका रणनीतिहरूको मनोवैज्ञानिक पक्षहरूको पनि अनुसन्धान गर्यो, र उनीहरूलाई संस्कृतिहरूमा तुलना गर्यो।  

नकारात्मक विज्ञापनहरू, तथाकथित आक्रमण–विज्ञापनहरू, दर्शकहरूलाई प्रभावकारी रूपमा उत्प्रेरित गर्न देखाइएको छन्, यद्यपि अनुसन्धानले उनीहरूको सीमा अवस्थाहरू पनि अन्वेषण गर्याे, जस्तै, दर्शक–संलग्नता र स्रोत विश्वसनीयता।

भर्खरैको कामले देखाउँछ कि सकारात्मक विज्ञापनहरूले दर्शकहरूलाई विशिष्ट उम्मेदवार वा पार्टीलाई भोट गर्न उत्प्रेरित गर्दछ।  सकारात्मक विज्ञापनहरूको प्रेरक प्रभावका लागि सीमा–सर्तहरू अवस्थित हुँदा नकारात्मक विज्ञापनहरू बढी प्रभावकारी छन् भन्ने दृष्टिकोणलाई चुनौती दिन्छ।  

सोसल मिडियाको सशक्त प्रभाव
डेटा रिपोर्टल डटकमअनुसार नेपालमा जनवरी ०२१ मा सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या एक करोड ३० लाख थियो। नेपालमा इन्टरनेटको ६० प्रतिशत ब्यान्डविथ फेसबुक, टिकटक चलाउनमा खपत हुने गरेको देखिन्छ भने शिक्षित र सहरी वर्गमा सीमित ट्विटरको ब्यान्डविथ हिस्सेदारी करिब २६ प्रतिशत देखिन्छ। 

राजनीतिक पार्टीहरूको संगठन, मिडिया र सामाजिक सञ्जालहरूले मतदातामा अनेक प्रकारका सकारात्मक धारण निर्माण गर्न खोज्छन्।  उम्मेदवारले मतदाताको मनमा आफ्नो एवं दलको राम्रो छवि निर्माण गर्न सामाजिक सञ्जाल प्रयोग गर्न थालेका छन्। 

चुनाव प्रचारप्रसार एवं आफ्नो छवि निर्माणमा सामाजिक सञ्जालको उपयोग गर्ने पहिलो उम्मेदवार पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा थिए। विभिन्न अध्ययनले देखाएको छ कि सामाजिक सञ्जालहरूले पहिलोपटक मतदानमा सहभागी हुने करिब २० प्रतिशत मतदाताको राजनीतिक दृष्टिकोणलाई आकार दिन थालेको अमेरिकी निर्वाचनहरूको अध्ययनमा देखिएको छ। 

मतदाताको व्यवहारको मनोविज्ञान 
पाँल लाजरफेल्ड र उनको टोलीले सन् १९३९मा एरी काउन्टी चुनाव अध्ययनको योजना बनाएसँगै मनोविज्ञानमा औपचारिक रूपमा मतदान व्यवहार अनुसन्धानमा प्रवेश गर्याे।  मतदाताको समर्थन जुटाउन राजनीतिक विज्ञापन यसको सुरुवातदेखि नै राजनीतिको अन्तर्निहित अंग हो।  

मतदाताहर प्रायः रेसनल सान्दर्भिक छनाेट गर्ने हुन्छन्, तर महत्वपूर्ण चुनावहरूमा असान्दर्भिक छनाेट गर्ने प्रवृत्ति हाबी हुने गर्दछ।  मतदाताहरू आफ्नो भोट खेर जानुहुँदैन भन्ने मनोविज्ञानवाट प्रभावित हुने भएकाले कम सान्दर्भिक छनोट गर्न उद्यत् हुन्छन्। 

भिडको मनोविज्ञानले पूर्वाग्रही भएर भोट खसाल्न  सकारात्मक सहयोग  गर्दछ।  मतदाताको मनोविज्ञान र चुनावी प्रचारप्रसारको सकारात्मक सहसम्बन्ध रहेको हुन्छ।  मतदाताको व्यवहारलाई प्रभावित गर्ने समाजशास्त्रीय तत्वहरूमा आयको स्तर, पेसा, शिक्षा, लिंग, उमेर, धर्म, जातीयता, सांस्कृतिक विरासत, भूगोल र पारिवारिक पृष्ठभूमि आदि पर्दछन्।  त्यस्तै, मनोवैज्ञनिक तत्वहरूमा व्यक्तिको पार्टी, उम्मेदवार एवं चुनाव पद्धतिप्रतिको प्रत्यक्षीकरण, संवेगात्मक अवस्था, उत्प्रेरणा, राजनीतिक पार्टीको विरासत वा पहिचान, उम्मेदवारको छवि, चुनाव प्रचारप्रसारको तरिका र मुख्य चुनावी एजेन्डाहरू महत्वपूर्ण हुन्छन्।  

मतदाताको व्यवहारलाई पार्टीको संलग्नता, शिक्षाको स्तर, धार्मिक आस्था, आर्थिक अवस्थालगायतका तत्वहरूले असर गर्दछ।  केही अनुसन्धानले देखाएको छ कि मतदाताको भोटिङ व्यवहारलाई परोपकारी व्यवहार भनेका छन् भने यो आत्मकेन्द्रित व्यवहार हो भनेका छन्।   

प्रायजसो व्यक्तिहरूमा आफ्नो व्यक्तित्वसँग मेल खाने उम्मेदवारलाई जिताउने प्रवृत्ति हुन्छ।  आत्मकेन्द्रित प्रतिबिम्बनको व्यवहार नै मतदानमा मतदाताको निर्णयका लागि महत्वपूर्ण हुन्छ।  स्वकेन्द्रित अभिव्यक्ति जसमा आफ्नो राजनीतिक दर्शनसित मेल खाने उम्मेदवारलाई सहयोग गर्ने प्रवृत्ति उद्यत् हुन्छ।  जसले व्यक्तिको मूल्य–मान्यतालाई साकार गर्न सहयोग  पुर्याउँछ।  

मतदाताको व्यवहारलाई असर गर्ने मनोवैज्ञानिक तत्व डर पनि हो।  डराएको मतदाताले सम्पूर्ण नेतालाई मूल्यांकन गरेर झुटो कम बोल्ने, इमानदार र मूल्य मान्यताको राजनीति गर्ने उम्मेदवारलाई भोट गर्दछन्।  

नेताहरूले डराएर, धम्क्याएर पनि भोटरको मनोविज्ञानलाई प्रभावित गर्दछन्। त्यसको उदाहरण चुनावी उदाहरणको समय नेताहरूले गर्ने भाषणमा दिने धम्की हुन सक्छन्। सामाजिक दबाबले पनि  व्यक्तिको भोट खसाल्ने निर्णय परिवर्तन हुन्छन् किनकि भोटलाई सामाजिक समूहहरूको (जस्तै जातीय, आर्थिक, लैंगिक र उमेर) स्वीकृतिको रूपमा रहेको हुन्छ।  व्यक्तिहरू साथीभाइ, अभिभावक, आमाबुबा, श्रीमान्–श्रीमती, रोमान्टिक साथीको दबाबले मतदानका लागि आफ्नो निर्णय परिवर्तन गर्दछन्। 

समाज मनोवैज्ञानिकको अनुसन्धानले देखाएअनुसार उम्मेदवारको शारीरिक आकर्षणले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।  शारीरिक रूपमा आकर्षक उम्मेदवारप्रति हलो इफेक्टको परिणामस्वरूप मतदाताको निर्णय प्रभावित हुन्छ।  

आकर्षक व्यक्ति बुद्धिमान, सहयोगी,आत्मविश्वासी, संवेगात्मक रूपमा बलियो हुन्छन्। यस्ता व्यक्ति आशावादी, विश्वास गर्न लायक र कार्यमा केन्द्रित भन्ने पूर्वाग्राही धारणा निहित हुन्छ।  सामाजिक परिवेशमा घटेको हाइप्रोफाइल घटनाहरू जसले मतदान निर्णयमा असर गर्दछ।  

यसका साथै पार्टीप्रतिको आफ्नो समय र सम्पत्तिको लगानी, व्यक्तिगत घटनाको पनि असर गर्दछ।  विपतजन्य घटना, मर्दापर्दा सहयोग गर्ने उम्मेदवारप्रति मतदाताको सकारात्मक सदभाव रहन्छ। किनकि यस्तै विपतजन्य अवस्थामा हाम्रो सुखदु:खको साथी बन्ने मनोवैज्ञानिक मनोवृत्ति हुन्छ।  

अचेतनका व्यवहारजस्तै अचेतन सोचाइको तरिका,संवेग र पूर्वाग्रही व्यवहारले निर्णय प्रक्रिया प्रभावित हुन्छ।  उम्मेदवारप्रतिको  विश्वास र छविले पनि भूमिका खेल्छ। निम्नस्तरको अन्तरव्यक्तिक विश्वासले पनि भोटरको निर्णय अन्तमा परिवर्तन हुने अध्ययनले देखाएको छ।  
(ठगुन्ना मनोविद् हुन्।)

सुझावित समाचार