गुठीचौरमा माओवादीको प्रतिबद्धता : जडीबुटी प्रशोधन केन्द्रदेखि डाक्टर पढ्न छात्रवृत्तिसम्म

मंगलबार, २७ बैशाख, २०७९
डिजिटल संस्करण

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गत वर्षदेखि एमबिबिएस अध्ययन सुरु भएको छ। चिकित्सा शिक्षा आयोगले अनुमति दिएपछि ०७८ सालदेखि एमबिबिएस अध्ययन सुरु भएको हो। जिल्लामै चिकित्सा शिक्षा अध्ययन हुन थालेपछि नेकपा माओवादी केन्द्र गुठीचौर गाउँपालिकाले डाक्टर पढ्न छात्रवृत्ति दिने प्रतिबद्धता गरेको छ।

माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार हरिबहादुर भण्डारी र उपाध्यक्षका उम्मेदवार राजकन्य बुढासहितका उम्मेदवारले सार्वजनिक गरेको घोषणापत्रमा गुठीचौरको विद्यालय शिक्षा निःशुल्क गर्ने, माध्यमिक विद्यालयमा एक नर्स र १५ वर्षमा टोलमा डाक्टर उत्पादन गर्ने प्रतिबद्धता गरेको छ।

सरकारी सेवामा जानका लागि लोकसेवा अध्ययन गर्न जेहेनदार विद्यार्थीलाई अनुदान दिइने, जेहेनदार विद्यार्थीलाई उच्च शिक्षा डाक्टर, पाइलट र इन्जिनियरिङमा छात्रवृत्ति दिने, गुठीचौरमा १५ शय्याको अस्पताल निर्माण गर्ने, गुठीचौर बहुउद्देश्यीय परियोजनालाई पूर्णता दिन पहल गर्ने घोषणापत्रमा उल्लेख छ।

त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्याम्पसहरू स्थापना गरिने, बहुप्राविधिक शिक्षालय स्थापना गरिने तथा ज्येष्ठ नागरिकको ६–६ महिनामा नियमित स्वास्थ्य परीक्षण गरिने उल्लेख छ। गुठीचौरका भवन मौलिक, भूकम्पप्रतिरोधी, अपांग तथा पर्यावरणमैत्री बनाउन जोड दिइने, नमुना सहर र बस्ती विकासको गुरुयोजना तयार गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ।

गाउँपालिकाको सीमाचौरमा गाउँपालिकास्तरीय रंगशाला निर्माण गरिने तथा प्रत्येक वडामा एक खेलकुद मैदान निर्माण गरिने माओवादी केन्द्रका उम्मेदवारहरूले प्रतिबद्धता गरेका छन्। यसैगरी, तीन महिनामा उज्यालो गाउँपालिका घोषणा गर्ने,  एकल महिला र पुरुषको सामाजिक सुरक्षा भत्ता नियमित गर्ने, सहिद परिवारलाई एक–एक हजार सामाजिक भत्ता दिइने उल्लेख छ।

एक घर, एक बगैँचा हुनेलाई अनुदान दिइने, कृषिमा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने, जडीबुटीको उत्पादन, संरक्षण, प्रवर्द्धन  र बजारीकरणमा जोड दिई प्रशोधन केन्द्र स्थापना गरिने उम्मेदवारहरूको प्रतिबद्धता छ। प्रतिबद्धतापत्रमा अध्यक्षका उम्मेदवार भण्डारीले अघिल्लो पाँच वर्ष विकासको केही आधार तयार भएकाले पूरा गर्न एकपटक फेरि आफूहरूलाई जिताउन मतदातासँग अपिल गरेका छन्। ०७४ सालको स्थानीय तह निर्वाचनमा पनि गुठीचौरको अध्यक्षमा भण्डारी र उपाध्यक्षमा जानदेवी ऐडी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।

सुझावित समाचार