मतदान केन्द्रहरूमा निर्वाचन सामग्रीसहित कर्मचारी पुग्न थाले

मंगलबार, २७ बैशाख, २०७९
डिजिटल संस्करण

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि  रसुवाका मतदान केन्द्रहरूमा निर्वाचन सामग्रीसहित कर्मचारी पुग्न थालेका छन् । मतदान गर्ने समय चार दिन बाकी छँदा हिँडेर जानुपर्ने स्थानका मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुग्न थालेका हुन् । हालसम्म जिल्लाका १३ वटा मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए । गोसाइँकुण्ड गाउँपालिकाको लाङटाङ र नौकुण्ड गाउँपालिकाको १२ वटा मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेको उनले बताए । सोमबार मतदान सामग्रीसहित लाङटाङ हिँडेका कर्मचारी र सुरक्षा निकायको टोली मंगलबार पुगेका छन् । 

बाँकी मतदान केन्द्रमा निर्वाचन गराउन खटिएका कर्मचारी पनि निर्वाचन सामग्री बुझ्दै मतदान केन्द्रमा जान थालेको उनले बताए । मंगलबार बेलुकीसम्ममा निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रहरूमा पुगिसक्ने उनले बताए । मतदान केन्द्रहरूमा पुगेका कर्मचारीले मंगलबारबाटै निर्वाचनको आवश्यक प्रक्रिया सुरु गर्ने बताएका छन् । मतदान केन्द्रहरूमा सूचना टाँस गर्ने, चारकिल्ला तोक्नेलगायतका गतिविधिहरूरु सुरु गर्ने भएका छन् । 

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा दुई सय ५५ जना कर्मचारी खटाइएको छ । निर्वाचन गराउन खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार तालिम प्रदान गरी खटाइएको हो । जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाको उत्तरगया गाउँपालिकामा ६ वटा मतदानस्थल र ११ वटा मतदान केन्द्र, कालिका गाउँपालिकामा ६ वटा मतदानस्थल र ११ वटा मतदान केन्द्र, गोसाइँकुण्ड गाउँपालिकामा आठवटा मतदान स्थल र नाैवटा मतदान केन्द्र, नौकुण्ड गाउँपालिकामा आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तथा आमाछोदिङमाे गाउँपालिकामा ६ वटा मतदानस्थल र पाँचवटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा ३८ हजार पाँच सय ४५ मतदाता रहेका छन् । जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार आठ सय ८५ महिला रहेका छन् । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार