धनगढीमा उम्मेदवारका एजेन्डा : प्राथमिकतामा भ्रष्टाचार नियन्त्रण

स्थानीय तहमा भ्रष्टाचार मौलाएपछि मतदाता आकर्षित गर्न भ्रष्टाचार अन्त्य गर्ने एजेन्डा प्राथमिकतामा

सोमबार, २६ बैशाख, २०७९
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकामा उम्मेदवारहरू भ्रष्टाचार नगर्ने र हुन नदिने एजेन्डालाई प्राथमिकतामा राखेर मत मागिरहेका छन् । मतदाता रिझाउन अघिल्लो स्थानीय तहको निर्वाचनमा पूर्वाधार निर्माणका योजनालाई प्राथमिकतामा राखेका दलहरूले यसपालि भने भ्रष्टाचार नियन्त्रणलाई पनि प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन् । 

सत्तारुढ गठबन्धनको घोषणापत्रमा ‘हामी भ्रष्टाचार गर्नेछैनौँ र गर्न दिने पनि छैनौँ’ भन्ने प्रण गरिएको छ । घोषणापत्र सार्वजनिक गर्दै गठबन्धनका तर्फबाट कांग्रेसका मेयरका उम्मेदवार नृपबहादुर वडले धनगढीको विकास र सुशासनलाई आफूले प्राथमिकता दिने बताए । ०७४ को निर्वाचनमा धनगढीको मेयरमा निर्वाचित वड दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा छन् । वडले धनगढीलाई महानगरपालिका बनाउने, यहाँका खोलानाला अतिक्रमण हटाउने, खोलानालाको छेउछाउमा साइकल लेन निर्माण गर्ने, लालपुर्जा वितरण गर्ने, पार्किङ स्थल र सार्वजनिक शौचालयहरू निर्माण योजनालाई प्राथमिकता दिएका छन् । यी  एजेन्डा उनको अघिल्लो निर्वाचनको घोषणापत्रमा पनि प्राथमिकतामा थिए । 

सबै नागरिकलाई खानेपानीको सुविधा पुर्याउन एक घर एक धाराको व्यवस्था गर्ने, धनगढीको ग्रामीण बस्ती उर्मालाई सहरी सुविधासम्पन्न र सबैले गर्व गर्न लायक नमुना बस्ती बनाइने, वडा नम्बर १४, १८ र १९ मा टाउन प्लानिङ सुरु गर्ने योजना पनि गठबन्धनका उम्मेदवार वडले अघि सारेका छन् । आफू मेयरमा निर्वाचित भएपछि धनगढीको क्याम्पचोक, चौराहा र चटकपुरमा आकाशे पुल निर्माण, सबै वडामा कृषि हाटबजारको व्यवस्था, वडा नम्बर १५ र १६ मा औद्योगिक क्षेत्र स्थापना तथा धनगढीमा अत्याधुनिक टर्मिनलसहितको बसपार्क निर्माणलाई अगाडि बढाउने वडले बताए ।

त्यसैगरी एमालेका उम्मेदवार रणबहादुर चन्दले पनि भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रतिबद्धतासहित मत मागिरहेका छन् । नगर क्षेत्रमा बढी आवागमन हुने प्रत्येक सडकलाई कालोपत्रे गर्ने, व्यवस्थित बसपार्क र बजारमा पार्किङ स्थलहरू निर्माण गर्ने, विपन्नका घरमा निःशुल्क विद्युतीकरणसँगै खानेपानी सुविधा पुर्याउने आफ्नो योजना रहेको चन्दको भनाइ छ । मुख्य सडकमा रहेका विद्युतीय तारहरूलाई भूमिगत गर्ने, प्रत्येक वडामा एउटा नमुना प्राविधिक विद्यालय बनाउने, ग्रामीण क्षेत्रमा पर्ने उर्मा र फूलबारीमा १५ शय्याको अस्पताल बनाउने योजना उनले अघि सारेका छन् ।     

किसानलाई सुविधाका लागि कृषक परिचयपत्र दिने, सडक तथा अन्य आवश्यक स्थानमा सौर्यबत्ती जडान गर्ने, एक वडा एक खेलमैदान निर्माणलाई पनि आफू मेयरमा निर्वाचित भएपछि अगाडि बढाउने उनले बताए । भौतिक र मानवीय विकास गरेर धनगढीलाई सुन्दर र समृद्ध नगर बनाउने आफ्नो योजना रहेको उनको भनाइ छ । ‘धनगढी उपमहानगरपालिकामा जनताले विकासको अनुभूति गर्न पाएनन्,’ चन्दले भने, ‘भ्रष्टाचार हुन नदिनु मेरो पहिलो काम हुनेछ । मेरो तीन दशकको राजनीतिक यात्रामा म निष्कलंकित छु । मेयरको रूपमा पनि यही छवि कायम राखेर काम गर्नेछु ।’
 
धनगढीमा गठबन्धन र एमालेका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले कडा टक्कर दिँदै छन् । मेयरमा निर्वाचित भएपछि विकासमा ‘धनगढी मोडेल’ स्थापित गर्ने र भ्रष्टाचार हुन नदिने संकल्पसहित हमालले मतदातालाई आश्वस्त पार्ने प्रयास गरिरहेका छन् । नगरमा भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिने एजेन्डालाई उनले पनि प्राथमिकताका साथ उठाएका छन् । उनले आफू निर्वाचित भए मेयरका रूपमा पाउने कुनै पनि सेवा सुविधा र गाडी नलिने घोषणासमेत गरेका छन् । 

घरघरै गएर सामाजिक सुरक्षाभत्ता वितरणको व्यवस्था मिलाउने, फोहोरमैला व्यवस्थापनमा वैज्ञानिक विधि अपनाउने, वृक्षारोपण गरेर धनगढीलाई सुन्दर र हराभरा बनाउने, पार्किङ र खेलमैदानको व्यवस्था गर्ने, खोलानालाको अतिक्रमण हटाएर साइकल लेन निर्माण गर्नेजस्ता विकासका योजना हमालले अघि सारेका छन् । ‘स्थानीय तहमा जनप्रतिनिधिले आफ्ना कार्यकर्ता पोस्ने काम मात्र गरे, जुन रूपमा विकास हुनुपर्थ्याे, त्यो हुन सकेन,’ हमालले भने, ‘स्थानीय तहमा हुने भ्रष्टाचार रोक्न र धनगढीलाई नमुना सहरको रूपमा विकास गर्न मैले उम्मेदवारी दिएको हुँ ।’

धनगढीको मेयर र उपमेयरका अन्य उम्मेदवारले पनि भ्रष्टाचारलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन् । धनगढीको मेयरमा नाै र उपमेयरमा ६ जनाबीच प्रतिस्पर्धा हुँदै छ । जनप्रतिनिधिले जनताको चाहनाअनुसार काम गर्न नसक्नु र स्थानीय तहमा भ्रष्टाचार चरम रूपमा बढ्नुले उम्मेदवारहरूले मतदाता आकर्षित गर्न भ्रष्टाचार अन्त्यलाई प्रमुख प्राथमिकता दिएका यहाँका नागरिक अगुवाहरू बताउँछन् । 

मेयरमा जनता समाजवादी पार्टीका कविन्द्र ऐर, लोकतान्त्रिक समाजवादी पार्टीका वसन्तबहादुर विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टीका मीनकुमार चौधरी, सचेत नेपाली पार्टीका भारती थापा तथा मदनकृष्ण भट्ट र उद्धवराज पन्त स्वतन्त्र उम्मेदवार छन् । मेयरका नाै उम्मेदवारमध्ये वड, चन्द र हमालबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।  

त्यस्तै, उपमेयरमा गठबन्धनका तर्फबाट माओवादीका शान्ति अधिकारी, एमालेका कन्दकला राना, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुर्गादत्त पन्त, विवेकशील साझा पार्टीका विमला पन्त, नागरिक उन्मुक्ति पार्टीका सावित्रीदेवी चौधरी र स्वतन्त्रबाट प्रभाकर भण्डारी उम्मेदवार छन् ।  
 

सम्पादकको रोजाइ

सुझावित समाचार