व्याँसमा हेलिकाेप्टरमार्फत निर्वाचन सामग्री र सुरक्षाकर्मी पठाइयो

सोमबार, २६ बैशाख, २०७९
डिजिटल संस्करण

दार्चुलाको सबैभन्दा विकट क्षेत्र रहेको व्याँस गाउँपालिका– १ को छाङरू र तिंकरमा हेलिकाेप्टरमार्फत निर्वाचन सामग्री र सुरक्षाकर्मी पठाइएको छ । नेपाली सेनाको हेलिकाेप्टरमार्फत निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पठाइएको हो । नेपालतिर घोरेटो बाटो नहुँदा छाङरू र तिंकरमा सुरक्षाकर्मी हेलिकाेप्टरमार्फत पठाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रतीक विष्टले जानकारी दिए ।

निर्वाचनमा प्रयोग हुने सामग्री, निर्वाचन अधिकृतलगायतका कर्मचारी पनि हेलिकाेप्टरमार्फत छाङरू, तिंकर गएका हुन् । तिंकरको छायालेकमा बस्ने प्रहरी र उनीहरूको हातहतियार तथा खाद्य सामग्री पनि हेलिकाेप्टरमार्फत लगिएको छ ।  तिंकर प्रहरी गत मंसिरमा हिमपातपछि सदरमुकाम खलंगा झरेको थियो । तिंकरका स्थानीय सदरमुकाम खलंगाबाट बसाइँ सरेर गाउँ फर्किसकेका छन् ।

निर्वाचन सामग्री बुझ्दै मतदान अधिकृत खटिए 
नौवटा स्थानीय तहको निर्वाचनका लागि निर्वाचन सामग्रीसहित मतदान अधिकृत र कर्मचारी खटिन थालेका छन् । टाढाका मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र कर्मचारीले निर्वाचन सामग्री बुझेर खटिएका हुन् । आइतबारदेखि मतदान अधिकृतले निर्वाचन सामग्री आफ्नो जिम्मेवारीमा लिएर गएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीले बताए । धामीका अनुसार टाढाका स्थानीय तहका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतलाई पहिलो प्राथमिकतामा राखेर निर्वाचन सामग्री बुझाइएको छ ।

जिल्लामा एक सय १० मतदानस्थल र एक सय ३९ मतदान केन्द्र छन् । निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतका लागि दुई दिन अभिमुखीकरण कार्यक्रम गरेर उनीहरू आफ्नो मतदान केन्द्रमा खटिन थालेको धामीको भनाइ छ । जिल्लाका लागि कुल ९९ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँको कुल मतदाता संख्या ८८ हजार दुई सय ८५ रहेको छ । मतपत्र कुनै कारण तलमाथि हुन गएको खण्डमा कुल मतदाताको पाँचदेखि १० प्रतिशत मत बढी आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी गणेश विष्टले जानकारी दिए ।

आयोगको नीतिअनुसार नै मतदाताको संख्याभन्दा केही बढी मतपत्र जिल्ला आएको हो । २७ वैशाखसम्म सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृतहरूलाई मतपत्र दिएर पठाइसक्ने विष्टले बताए । मतपत्रको ढुवानी नेपाली सेनाले गर्नेछ । 

दार्चुलामा निर्वाचन अवधिभर मदिरा बिक्री तथा सेवन गर्न रोक
दार्चुलामा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण तथा सेवन गर्न रोक लगाइएको छ। आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि जिल्लामा मादकपदार्थ बिक्री–वितरण तथा सेवन गर्न रोक लगाइएको हो । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार यही वैशाख २५ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम मतपरिणाम घोषणा नभएसम्म मादकपदार्थको बिक्री–वितरण तथा सेवन गर्न रोक लगाइएको छ ।

उक्त कार्यलाई बेवास्ता गरी बिक्री–वितरण, सेवन गरे वा गराइएको पाइएमा प्रचलित ऐन–कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । मादक पदार्थ बिक्री–वितरण तथा सेवन गर्न निर्वाचन सुरक्षा (व्यवस्था) निर्देशिका, २०७८ को दफा ६ (थ) बमोजिम पूर्ण निषेध गरिएको जनाइएको छ ।

सुझावित समाचार