पोखरामा कार्यकर्तालाई देउवाले भने - गठबन्धन गर्नुअघि कांग्रेसको अवस्था कस्तो थियो स्मरण गर्नुहोस्

गठबन्धन टुट्न नदिने देउवा–प्रचण्डको रणनीति

सोमबार, २६ बैशाख, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन गर्नुअगाडि आफूहरूको अवस्था कस्तो थियो भनेर स्मरण गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । पोखरामा पाँचदलीय गठबन्धनले आइतबार आयोजना गरेको चुनावीसभामा उनले कांग्रेसको नेतृत्वमा सरकार बनेको र प्रदेशहरूमा पनि कांग्रेसका मुख्यमन्त्री मन्त्री बन्न गठबन्धनकै कारण सम्भव भएको तथ्य नबिर्सन उनले आग्रह गरे ।

प्रधानमन्त्रीले गठबन्धन कांग्रेसका लागि बढी आवश्यक रहेको पनि बताए । उनले गठबन्धनलाई जोगाउन र यसको सफलताका लागि कांग्रेस र पार्टीका नेता कार्यकर्ताले बढी योगदान दिनुपर्ने धारणा राखे । गठबन्धनलाई शंका गरेर दायाँबायाँ गरे कारबाहीमा पर्नेतर्फ उनले सचेत पनि गराएका छन् । अहिले कांग्रेस नेतृत्वको सरकार रहेको र सबै पार्टीलाई मिलाउने काम गरेको भन्दै उनले गठबन्धनलाई शंका–उपशंका नगर्न आग्रह गरे ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले उदार भएर कांग्रेसलाई सहयोग गरेको उनले टिप्पणी गरे । ‘प्रचण्ड र माधव नेपालजीको पार्टीले हामीलाई उदार भएर सहयोग गरेको छ । हामीले धेरै लिएका छौँ । उहाँहरूले महानगरमा एउटा–एउटा नेतृत्व लिनुभएको छ । यसलाई तपाईंहरूले ध्यान दिनुपर्छ,’ उनले भने, ‘यसमा शंका–उपशंका गर्ने काम गर्नुभयो र यताउता गर्नुभयो भने तपाईंमाथि  कारबाही हुन्छ ।’

प्रचण्डले भने– परिवर्तनको रक्षाका लागि गठबन्धन  
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका लागि परिवर्तनको रक्षा र आबद्ध दललाई फाइदाका लागि गठबन्धन गरिएको बताएका छन् । पोखरामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले गणतन्त्र, संघीयता, लोकतन्त्र र समग्र परिवर्तनको रक्षाका लागि गठबन्धन गरिएको जिकिर गरे । ‘यसले आबद्ध हामी पाँच दललाई पनि फाइदा गर्छ । परिवर्तनको रक्षा र हामी यसमा आबद्ध दललाई पनि फाइदा हुने भएकाले गठबन्धन आवश्यक भएको,’ उनले भने ।

 आफूले संघीयताविरोधीहरूलाई परास्त नगरे देशमा राजनीतिक दुर्घटनाको खतरा छ भन्दा जनतालाई दिएको धम्कीको रूपमा अथ्र्याइएको उनले टिप्पणी गरे । ‘कांग्रेस नेतृत्वको सरकारलाई सफल गराउन आग्रह गर्दैगर्दा कतिपय मानिसले जनता धम्क्यायो, हामीलाई नजिताए दुर्घटना हुन्छ भन्यो भनेका छन् । यो गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट जोगाउन जन्मिएको हो । यदि यो गठबन्धन दयाँबायाँ भयो भने देश राजनीतिक दुर्घटनामा जान सक्छ भनेको हुँ’, उनले भने । 

 दम्भ राखे हामी पनि ओलीजस्तै पछारिन्छौँ : नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दम्भ राख्ने दल र नेताको भविष्य नहुने बताएका छन् । पोखरामा आइतबार चुनावीसभामा उनले दम्भी हुँदा एमाले अध्यक्ष केपी ओलीले हुँदाखाँदाको प्रधानमन्त्री पद गुमाएको र एमाले सत्ताबाट ओर्लिएको चर्चा गर्दै उनले कांग्रेस र आफूहरूले पनि दम्भ पाले त्यस्तै नियति भोग्नुपर्ने टिप्पणी गरे ।

 ‘दम्भ नपालौँ, हिजो केपी ओलीले दम्भ पालेका कारण उनी सत्ताबाट सडकमा पछारिए । कांग्रेसले दम्भ पाल्यो भने पनि त्यही हो । हामीले दम्भ पाले पनि त्यही हो ।म ठूलो अरू केही होइन नभनौँ । सबैको अस्तित्व स्वीकार गरौँ, नभए सबैको हालत उस्तै हुन्छ,’ उनले भने । नेपालले ओली देशका महत्वपूर्ण आन्दोलनमा अग्रसर नभएकोसमेत टिप्पणी गरे । नेकपा को–अर्डिनेसन पार्टी निर्माण, माले निर्माण र एमाले निर्माणमा भूमिका नखेलेका र परिवर्तनको आन्दोलनमा पनि ओली 
अग्रसर नभएको उनले आरोप लगाए । 

See More On

सुझावित समाचार