परिवर्तनको रक्षाका लागि गठबन्धन : प्रचण्ड

आइतबार, २५ बैशाख, २०७९
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशका लागि परिवर्तनको रक्षा र आबद्ध दललाई फाइदाका लागि गठबन्धन गरिएको बताएका छन्। पोखरामा आइतबार अयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘गणतन्त्र, संघीयता, लोकतन्त्र र समग्र परिवर्तनको रक्षाका लागि गठबन्धन हो। यसले आबद्ध हामी पाँच दललाई पनि  फाइदा गर्छ। परिवर्तनको रक्षा र हामी यसमा आबद्ध दललाई पनि फाइदा हुने भएकाले गठबन्धन आवश्यक भएको’ उनले भने।  

आफूले संघीयताविरोधीहरूलाई परास्त नगरे देशमा राजनीतिक दुर्घटनाको खतरा छ भन्दा जनतालाई दिएको धम्कीको रूपमा अर्थ्याइएको उनको टिप्पणी छ।

‘नेपाली कांग्रेसको नेतृत्वको सरकारलाई सफल गराउन आग्रह गर्दै गर्दा कतिपय मानिसले जनता धम्क्यायो। हामीलाई नजिताए दुर्घटना हुन्छ भन्यो भनेका छन्। यो गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट जोगाउन जन्मिएको हो। यदि यो गठबन्धन दयाँबायाँ भयो भने देश राजनीतिक दुर्घटनामा जान सक्छ। त्यसकारण राजनीतिक दुर्घटनाबाट देशलाई जोगाउन गठबन्धनलाई सफल बनाउनुपर्छ। नत्र राजनीतिक दुर्घटनाको खतरा छ भनेको हो,’ प्रचण्डले भनेका छन्। 

संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने प्रयास भएको भन्दै दुई–दुईपटक संसद विघटन गरिनु आन्दोलनमा सहभागी जनताका लागि दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरे। 

‘राजनीतिक दुर्घटनामा जान र प्रतिगमनबाट बचाउन, निरंकुशता, तानाशाही अनि अराजकताबाट बचाउन गठबन्धन भएको हो। गठबन्धन टुटाउने प्रयास गठबन्धन भएदेखि नै भइरहेको छ। अहिले पनि विभाजित गर्ने षड्यन्त्र चलिरहेको छ। अप्ठ्याराेसँग जोडेर गठबन्धन जोगाउने काम गरेका छौँ,’  उनले भने। 

अध्यक्ष प्रचण्डले नेपाली जनताको भाग्य र भविष्यप्रति इमानदार भएका कारण नै यो गठबन्धन गरिएको बताए। महानगरमा मेयरका उम्मेदवार धनराज आचार्य, उपमेयरका उम्मेदवार कोपिला रानाभाटसहित गठबन्धनमा आबद्ध सबै उम्मेदवारलाई जिताएर गठबन्धनलाई अझै बलियो बनाउन उनले आग्रह गरेका छन्। 

गठबन्धन स्थानीय तहको निर्वाचनका लागि मात्र नभएर संघीय र प्रादेशिक निर्वाचन र अझ पर राजनीतिक स्थायित्व नपाउँदासम्म गठबन्धन जारी राख्ने संकल्प आफूहरूले गरेको उनले बताए। 

सुझावित समाचार