नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले संवैधानिक उपलब्धिहरू समाप्त गर्ने बाटोतिर उद्यत पार्टीलाई आसन्न निर्वाचनले परास्त गर्न जरुरी रहेको बताएका छन्। पार्टीको स्याङ्जा–काठमाडौं सम्पर्क समितिले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘केपी शर्मा ओली आफू शासकका रूपमा असफल त हुँदै हो । सँगसँगै उहाँको नियत संवैधानिक उपलब्धिहरूलाई समाप्त गर्ने पनि थियो,’ पौडेलले भने, ‘त्यसैले संवैधानिक उपलब्धिहरूलाई समाप्त गर्ने बाटोतिर उद्यत भएको पार्टी, व्यक्ति अथवा प्रवृत्तिलाई यो निर्वाचनले परास्त गर्न जरुरी छ।’
वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनबाट एमाले अनुमोदन भएर आए लोकतन्त्र सुरक्षित गर्न नसकिने उनको जिकिर थियो। ‘यो निर्वाचनमा फेरि पनि त्यो प्रवृत्ति अनुमोदित भएर आयो भने हामीले लोकतन्त्रलाई सुरक्षित गर्न सक्दैनौँ,’ पौडेलले भने, ‘त्यस अर्थमा स्थानीय तहको निर्वाचन महत्त्वपूर्ण छ। यो निर्वाचन कसले जित्छ, त्यसले पछिल्ला निर्वाचनहरूमा असर, प्रभाव पर्ने स्थिति बन्छ ।’
राजनीतिक अर्थसँग जोडिएको अहिलेको निर्वाचनमा अहंकारी प्रवृत्ति, अलोकतान्त्रिक प्रवृत्ति र जनताको अधिकार खोसेर एकाधिकार जमाउने नियतलाई अन्त्य गरिनुपर्नेमा उनको जोड छ । स्थानीय तह निर्वाचनले मुख्यतः जनतालाई स्थानीयस्तरमा सेवा दिने, विकासका पूर्वाधार निर्माण गर्ने, स्थानीय आवश्यकता पूरा गर्ने भए पनि आसन्न निर्वाचन यति मात्रै विषयमा सीमित नभएको बताए ।