गठबन्धन देशका लागि आवश्यक : शीर्ष नेता

शनिबार, २४ बैशाख, २०७९
डिजिटल संस्करण
गठबन्धन देशका लागि आवश्यक : शीर्ष नेता

पाँचदलीय सत्तागठबन्धनले काठमाडौंमा गरेको सभामा नेताहरू । तस्बिर : संजित परियार/नयाँ पत्रिका

काठमाडौंमा सत्तागठबन्धनको चुनावी सभा 

पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूले काठमाडौंमा गठबन्धनको चुनावी सभामा संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन अनिवार्य रहेको बताएका छन् । गठबन्धनको तर्फबाट शुक्रबार राजधानीमा आयोजित संयुक्त चुनावी सभामा शीर्ष नेताहरूले स्थानीय निर्वाचन प्रतिगामी र प्रगतिशील शक्तिबीचको लडाइँ भएको दाबी गरे । एमालेले प्रतिगामी शक्तिहरूको नेतृत्व गरेको उनीहरूको भनाइ छ । 

संविधानको हालको व्यवस्थाअनुसार एकल पार्टीको बहुमत आउन गाह्रो छ । तसर्थ मुलुकका लागि गठबन्धन आवश्यक रहेको प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको भनाइ छ । प्रधानमन्त्री देउवाले केही परस्पर विरोधी भावना भएकाले बखेडा झिकेर अहिलेको गठबन्धन कमजोर बनाउन लागेकोसमेत बताए । तर, जसरी पनि गठबन्धन सफल पार्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड छ । 

‘आज गठबन्धनका सम्पूर्ण साथीहरू एक भएर अगाडि बढेका छौँ, यो हाम्रा लागि खुसीको कुरा हो । हाम्रो संविधान संसारको उत्कृष्ट संविधान हो । अहिलेको संविधान हुँदासम्म कुनै पनि पार्टीले बहुमत ल्याउन सक्दैन । त्यसैले आजको गठबन्धन भोलिको पनि गठबन्धन हो,’ प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धन धेरै वर्षसम्म जानुपर्छ । हाम्रो पार्टी सबैलाई मिलाएर हिँडेको पार्टी हो । सत्तागठबन्धन जिन्दावाद, गठबन्धनलाई सफल पार्नुपर्छ । हामी देशैभरि एक भएर हिँड्नुपर्छ ।’ केही परस्पर विरोधी भावना भएकाले बखेडा झिकेका र विगतमा बिपी कोइरालालाई फाँसी दिनुपर्छ भन्ने गठबन्धनको खिलाफमा रहेको देउवाको भनाइ छ । प्रधानमन्त्री देउवाले युरोपका कतिपय देशमा गठबन्धनको सरकार रहेको पनि सुनाए । 

चुनावी सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटा परिस्थिति सधैँ एउटै नरहने भन्दै कोही पनि लकिरका फकिर बन्न नहुने बताए । सहमति, सहकार्य र एकता आजको आवश्यकता रहेको भन्दै उनले दुईवटा गठबन्धनको बीचमा आउने निर्वाचन एउटा लडाइँ बन्ने बताए । 

‘हामीले एकताकै बलमा पञ्चायती शासनलाई अन्त्य गर्‍यौँ । एकताकै बलमा निरंकुश राजतन्त्रको अन्त्य गर्‍यौँ । एकताकै बलमा संविधान बनायौँ, शान्ति–सम्झौता गर्‍यौँ । एकताकै बलमा गठबन्धन गरेका छौँ र एकताको तागत राष्ट्रिय सभाको निर्वाचनमा, बारको निर्वाचनमा, पत्रकार महासंघको निर्वाचनमा अनुभूत गरेका छौँ । प्रगतिशील गठबन्धनको तागत के हो र प्रतिगामी गठबन्धन कसरी गलत छ भन्ने साबित गरिसकेका छौँ,’ प्रचण्डले भने, ‘मुलुकमा अहिले दुईवटा गठबन्धन छ । एउटा संविधान, गणतन्त्र, संघीयता र प्रगतिविरोधी गठबन्धन छ । अर्को परिवर्तनको पक्षधर गठबन्धन छ । दुईवटा गठबन्धनको बीचमा आउने निर्वाचन एउटा लडाइँको रूपमा अघि आउँदै छ । अहिलेको चुनाव आफ्नो कित्ता परिवर्तन, प्रगति, शान्ति र समृद्धिको पक्षमा वा प्रतिगमनको पक्षमा भनेर फैसला गर्ने चुनाव हो ।’

प्रचण्डले देशमा संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान निर्माण, गठबन्धन निर्माणदेखि यहाँसम्म जे भूमिका खेलेको आफूलाई गर्व रहेको, तर ओली अधिकार खोस्न लागेको आरोप लगाए । ‘ओली प्रवृत्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी, परिवर्तनविरोधीका रूपमा देखापर्‍यो । संविधानमा जे–जे कुरा प्रगतिशील छन् ती–ती कुरालाई उल्ट्याउने कसरतका रूपमा देखापर्‍यो । उहाँलाई महिलालाई दिएको अधिकार बढी लाग्छ । प्रदेश र स्थानीय सरकारलाई दिएको अधिकार बढी लाग्छ, गणतन्त्र बढी लाग्छ । बेकारमा माओवादीले आँधीहुरी ल्याइदियो, त्यसकारण संघीयता मानेको भन्नुहुन्छ,’ प्रचण्डले भने । 

कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ओलीप्रति आक्रोश पोखे । उनले कांग्रेसकै केही नेताले गठबन्धनविरोधी अभिव्यक्ति दिएकोमा पनि असन्तुष्टि राखेका थिए । ‘कतिपयको दिमागमा लागेका हुन सक्छ– हामी एक्लै पार लगाउन सक्छौँ । यो भ्रमबाट सबै मुक्त हुन जरुरी छ । अहिले पनि एकताबद्ध भएर जानुको विकल्प छैन । अहिले देशमा दुईवटा गठबन्धन छ । अब रोज्नुपर्नेछ– कुन गठबन्धनको पक्षमा लाग्ने ? एउटा प्रगतिशील गठबन्धन छ । वाम लोकतान्त्रिक गठबन्धन छ । र, अर्को प्रतिगामी दक्षिणपन्थी गठबन्धन छ,’ नेपालले भने, ‘दक्षिणपन्थी गठबन्धनको नेतृत्व एमालेले, केपी ओलीले गरिरहेका छन् । जहाँ राप्रपाजस्ता दक्षिणपन्थी शक्ति, राजावादी शक्ति र प्रतिगामी शक्तिहरू सामेल छन् । विदेशीहरूका सामु लम्पसार पर्नेहरू, परिवर्तनविरोधीहरू त्यो गठबन्धनमा रहेका छन् । संविधानको मर्म र भावनाका विरोधमा बोल्ने र काम गर्ने शक्तिहरू प्रगतिशील गठबन्धनमा छन् । आजसम्म प्राप्त उपलब्धिहरूको रक्षा गर्नेहरू, संविधान जोगाउनेहरू, समाजवादको बाटोमा अघि बढ्नेहरू, देशमा सुशासन ल्याउनुपर्छ भन्ने मान्यता बोक्नेहरू, गणतन्त्रका हिमायतीहरू, धर्मनिरपेक्षताका पक्षधरहरू प्रगतिशील गठबन्धनमा छौँ ।’

नेपालले प्रगतिशील गठबन्धनमा सामेल भएका दलहरूको पक्षमा मतदान नगरे देशले फेरि दुःख पाउने बताए । ‘प्रतिगामी कित्तामा उभिएकाहरूको पक्षमा मत खसाल्नुपर्‍यो भने पछि तपाईं पनि पछुताउनुपर्नेछ । तपाईंका सन्तानहरूले पनि दुःख भोग्नुपर्नेछ । यदि हामी भविष्यलाई सुनिश्चित गर्न चाहन्छौँ भने, परिवर्तनको यात्रामा जान चाहन्छौँ भने अहिलेसम्म प्राप्त उपलब्धि जोगाउन यो हामीले काम गरेको पाँचदलीय गठबन्धनको अर्को विकल्प छैन,’ नेपालले भने, ‘काम गर्न भिजन चाहिन्छ, इमानदारिता र संकल्प चाहिन्छ र सबैको साथ र सहयोग लिएर जाने उदार भावना चाहिन्छ । दम्भले राम्रो ठाउँमा पुर्‍याउँदैन । दम्भीहरू कमजोर हुँदै गएका छन् । जनता गफाडीहरूको पछि लाग्न सक्दैनन् ।’

कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलले संविधान, लोकतन्त्र र स्थिरताका लागि अहिलेको गठबन्धन बनेको र यसलाई बचाएर लैजानुपर्ने बताए । एमालेले बनाएको गठबन्धन प्रतिगामी शक्तिहरूको भएको उनको भनाइ छ । 

‘अहिलेको गठबन्धनमा कांग्रेसदेखि लिएर प्रचण्ड नेतृत्वको माओवादी, माधव नेपालको एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासम्म समेटिएका छन् । यो गठबन्धनको अनुहार हेर्नुहोस्, यसको प्रगतिशील चिन्तनलाई हेर्नुहोस् । गठबन्धन वास्तवमा परिवर्तन बचाउन, संविधान बचाउन, गणतन्त्र र लोकतन्त्रको रक्षा गर्न र मुलुकलाई स्थायित्व दिनका लागि बनेको प्रस्ट छ,’ पौडेलले भने, ‘यो गठबन्धनको खिलापमा केपी ओलीले पनि गठबन्धन गरेका छन् । कस–कसलाई लिएर गठबन्धन गरेका छन्, उनीहरूको अनुहार पनि हेर्नुहोस् ।’ 

नेता पौडेलले ओलीलाई निमित्त नायक बनाएर मुलुकलाई अस्थिरताको भुमरीमा धकेलिएको र फेरि आज ओलीलाई नै बलियो बनाउन गठबन्धन कमजोर पार्ने खेल भएको पनि बताए । ‘गठबन्धनभित्रैका मानिसलाई उक्साएर हामी हँसिया–हथौडामा छाप हान्दैनौँ, हामी रूखमा छाप हान्दैनौँ, हामी यसमा छाप हान्दैनौँ भनेर गठबन्धन कमजोर पार्ने कोसिस भएको छ । गठबन्धन कमजोर पार्नु भनेको वास्तवमा अस्थिरताको शक्तिलाई बलियो बनाउने हो । कतिपयबाट गठबन्धनलाई कमजोर बनाएर आज मुलुकलाई अस्थिरतामा लाने, संकटमा धकेल्ने र राष्ट्रवादको खोल ओढेर लम्पसारवाद अपनाउने प्रवृत्तिलाई बलियो बनाउने कोसिस भएको छ,’ पौडेलले भने, ‘संकीर्णता समातेर होइन अलिकति खुला भएर राष्ट्रको आवश्यकता के हो ? लोकतन्त्रको आवश्यकता के हो ? किन राजनीतिक स्थिरता चाहियो ? किन यो संविधान बचाउनुपर्‍यो ? किन लोकतन्त्र जोगाउनुपर्‍यो ? मन्थन गर्नुपर्छ ।’

पौडेलले अहिलेको संविधान भत्काएर, लोकतन्त्रलाई अलगथलग पारेर मुलुक अस्तव्यस्त गराउने प्रवृत्तिका प्रतिगामी तŒवहरू, शक्तिहरू एक ठाउँमा जम्मा हुँदै गरेको भन्दै गठबन्धनमा रहेका दलहरूबीचको सहमति र सहकार्यलाई बढावा दिनुपर्ने बताए । 

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले पनि गठबन्धनभन्दा प्रतिगमन बलियो रहेको भन्दै इमानदारीपूर्वक एक–अर्कालाई सहयोग गरेर निर्वाचनमा जित निकाल्नुपर्ने बताए । उनले काठमाडौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबैको नजरमा परेकाले गठबन्धनबाट अगाडि सारिएको उम्मेदवार विजयी हुनैपर्ने बताए ।

‘काठमाडौं महानगर महत्वपूर्ण छ, यसको चर्चा देशभित्र र अन्तर्राष्ट्रियमा पनि हुन्छ । काठमाडौंको मेयर महत्वपूर्ण पद हो । सिर्जनाले विजयी प्राप्त गर्नुहुनेछ,’ केसीले भने, ‘राष्ट्रिय जनमोर्चाले इमानदारीपूर्वक सहयोग गर्छ, कसैले तलमाथि गर्नुहुन्न । अझै पनि प्रतिगमन बलियो छ, नेपालमा प्रतिगमन एक्लै छैन र शक्तिशाली छ ।’ केसीले जनमोर्चाले काठमाडौंमा चन्द्रागिरि नगरपालिकामा उपमेयर उठाएको र सबैको इमानदारीपूर्वक सहयोगको अपेक्षा गरेको पनि बताए । 

सभामा जसपा नेता राजेन्द्र श्रेष्ठले मुलुकमा फेरि प्रतिगमन हु“दैन भनेर ढुक्क हुने स्थिति नआएको र लोकतन्त्र पक्षधर शक्तिहरूबीचको एकता उत्तिकै जरुरी रहेको बताए । ‘ओलीलाई सत्ताको चाबी दिनु र मकैबारीमा बाँदरलाई कुरुवा राख्नु उस्तै हो । ओलीको हातमा सत्ता गयो, उनले लोकतन्त्र र संविधान खाए,’ श्रेष्ठले भने, ‘त्यसैले प्रतिगमन हुँदैन भनेर ढुक्क हुने होइन, हामीले त्यसरी काम गर्नुहुन्न ।’

गठबन्धनका तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले सबैको अपनत्व रहने गरी काठमाडौंमा काम गर्ने प्रतिबद्धता जनाइन् । ‘कहिल्यै पनि मतदाताको शिर निहुरिने गरी काम गर्दिनँ । काठमाडौंवासी सबैको दिदी, बहिनी, भाउजू, आमा भएर काम गर्नेछु । सबैले अपनत्व र आफ्नोपन पाउने गरी काठमाडौंलाई घरजसरी नै चलाउनेछु ।’

उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले ओलीको अहंकार र स्वेच्छाचारिताले गठबन्धन बनेको र यसको जित निश्चित रहेको दाबी गरे । राजनीतिमा एउटा मान्छेको अहंकार र स्वेच्छाचारिताले कति फरक पार्छ भन्ने मञ्चमै देखिएको छ । गठबन्धनले चुनाव जित्नेछ र अहंकारवादीको स्वाहा हुनेछ,’ उनले भने, ‘गठबन्धनका उम्मेदवारले काठमाडौंको नेतृत्व लिएपछि घुसखोरीको अखडा बनेको महानगरमा सुशासनको नमुना काम गर्छौँ ।’ 

सुझावित समाचार