प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकामा रेनु दाहाललाई मेयरको उम्मेदवार बनाउन आफूले भनेको बताएका छन् । सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेनुलाई भरतपुर महानगरपालिकाको मेयरमा टिकट दिन आफूले भनेको बताएका हुन् ।
शुक्रबार काठमाडौंमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्दै उनले प्रकाशमान सिंहकी श्रीमती सिर्जनालाई काठमाडौंको मेयरमा उम्मेदवार बनाउन पनि आफूले नै भनेको बताए ।
उनले प्रचण्ड लचिलो भएकोले गठबन्धन बनाउन सजिलो भएको पनि बताएका थिए । सभापति देउवाले पार्टीको महाधिवेशन र केन्द्रीय समितिले पनि सर्वसम्मतिले गठबन्धन बनाउने कुरालाई पारित गरे पनि पछि आएर केहीले विरोध गरेको भन्दै आक्रोश व्यक्त गरे ।
सभापति देउवाले चितवनमा राम्रो काम गरेकाले रेनुलाई मेयरमा जिताउनुपर्ने बताए । उनले काठमाडौंको फोहोरको र यातायातको समस्या समाधान गर्छु भन्ने सिंहलाई पनि जिताउनुपर्ने बताए ।