बुधबार आफ्नै पार्टीका स्वतन्त्र उम्मेदवारबाट एक लाखको माला लगाएर समर्थन निष्किय बनाएका ताजाकोटमा गठबन्धन दलका गाउँपालिका अध्यक्ष पदका प्रत्यासी लालकेस जैसी र नगद रुपैयाँको माला लगाउने अकवीर खड्कालाई निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेको छ । एक हजार नोट रहेको एक लाखको माला लगाएको कुरा सार्वजनिक भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुवैजनालाई स्पष्टीकरण सोध्न लगाएको हो ।
निर्वाचनको अवधिमा २५ हजारभन्दा बढी नगदको कुरा बाहिरिएकोले आचारसंहिता उल्लंघन गरेको पाइएकोले यसमा संलग्न अध्यक्ष पदका प्रत्यासी दुवैजनालाई स्पष्टीकरण सोध्ने कार्य भएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताए ।
सो घटनामा ताजाकोट गाउँपालिकाका गठबन्धन दलबाट माओवादी केन्द्रबाट जैसी र सोही पार्टीका स्वतन्त्र उम्मेदवार खड्का मुछिएको सार्वजनिक भएको थियो ।
अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार खड्काले एक लाखको माला अध्यक्ष पदका प्रत्यासी जैसीलाई लगाएर आफ्नो उम्मेदवारी निष्किय पार्ने बताएका थिए । उनले घटनामा संलग्न दुवै जनालाई ताजाकोट गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीरण सोध्ने कार्य भएको र जवाफ आएपछि आयोगमा पठाउने बताए । आवश्यक कारबाही आयोगले गर्नेछ ।
यो घटनामा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार खड्काले एक हजारका एक सय नोटलाई कपडासँगै सिलाएर माला बनाएर अर्का प्रत्यासी जैसीलाई लगाएको तस्बिर सार्वजनिक भएको थियो । यसअघि माओवादी केन्द्रबाट खड्काले उम्मेदवारी पाउने चर्चा थियो । अन्तमा जैसी आफैँ सो पदमा उम्मेदवार बन्न सफल भएका थिए । उनका विरुद्ध सोही पार्टीका खड्का र गोपाल बुढालगायतले स्वतन्त्र उम्मेदवारी दिएका थिए । बुढाले भने पहिले नै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।