दुई करोड सात लाख चार हजार मतपत्र छापियो

शुक्रबार, २३ बैशाख, २०७९
डिजिटल संस्करण

आसन्न स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाइको काम सकिएको छ । निर्वाचन आयोगले जम्मा दुई करोड सात लाख चार हजार मतपत्र छापेको जनाएको छ । ४३ पालिकामा पुनः मतपत्र छाप्नुपरेकाले धेरै मतपत्र छापिएको हो । निर्वाचनमा कुल मतदाता एक करोड ७७ लाख ३३ हजार ७२३ छन् । 

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार ४३ पालिकाका लागि १३ लाख चार हजार मतपत्र पुन छापिएको हो । ‘विशेषगरी, मधेस प्रदेशका केही पालिकामा मतपत्रमा स्वतन्त्र उम्मेदवारका लागि छुट्याइएको चिह्नभन्दा स्वतन्त्र उम्मेदवारी धेरै परेपछि आयोगले पुनः मतपत्र छापेको हो,’ अर्यालले भने । 

आयोगले ६ महानगरपालिका र भक्तपुर जिल्लाका लागि आवश्यक मतपत्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मात्र छपाइको काम सुरु गरेको थियो । आयोगका अनुसार बिहीबारसम्ममा मतपत्र ढुवानीका सबै काम सकिनेछ । आयोगले निर्वाचनका लागि खटिएका सम्पूर्ण कर्मचारीलाई अनिवार्य रूपमा आफू खटिएको ठाउँमा जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ ।

आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्दै आयोग 
आयोगले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट आएका उजुरीका आधारमा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने दल तथा व्यक्तिहरूलाई स्पष्टीकरण सोधेको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई आयोगले आचारसंहिताविपरीत कार्य गरेको भन्दै लिखित जवाफ पेस गर्न भनेको छ । कैलालीको कलौरी गाउँपालिकाका अग्निपीडित मुक्त कमैयाका लागि तत्काल प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत दिने प्रक्रिया अगाडि बढेको उनले अभिव्यक्ति दिएका थिए । आयोगले यसैमा उनलाई २४ घन्टाभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो । 

त्यसैगरी, निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेलले निर्वाचन आयोग, आयोगका पदाधिकारी, निर्वाचन आचारसंहिता तथा म्यादी प्रहरीलाई लाञ्छना लगाउने अभिव्यक्ति दिएकोप्रति उनलाई पनि २४ घन्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको आयोगले जनाएको छ । त्यसैगरी, बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तान उम्मेदवारको प्रचारप्रसारमा निरन्तर खटिएकोप्रति आयोगले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

See More On

सुझावित समाचार