हेटौँडा उपमहानगरमा ‘ह्याट्रिक’ गरेको एमालेमाथि गठबन्धनको दबाब

बिहिबार, २२ बैशाख, २०७९
डिजिटल संस्करण

०७४ मा कांग्रेस–माओवादी गठबन्धनलाई हराएको एमाले यसपालि पाँच दलका साझा उम्मेदवारसँग मैदानमा, राप्रपा पनि प्रतिस्पर्धामा

हेटौँडा उपमहानगरको आगामी नेतृत्व कसको हातमा जाला ? पछिल्ला केही सातादेखि हेटौैँडा बजार मात्र होइन, नगरका भित्री चियापसल र चोकहरूमा समेत यही चर्चा हुने गरेको छ । विगत र अहिलेको शक्तिसन्तुलनलाई हेर्दा मुख्यतः एमाले र पाँचदलीय गठबन्धनबीच तीव्र प्रतिस्पर्धा देखिन्छ । तर, राप्रपा पनि बलियो प्रतिस्पर्धीका रूपमा खडा भएको छ । 

हेटौँडा नगरमा एमालेको गर्विलो इतिहास छ । अहिलेसम्म भएका सबै स्थानीय निर्वाचनमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अर्थात्, एमालेले ह्याट्रिक गरिसकेको छ । हेटौँडा नगरपालिका हुँदा दुई र उपमहानगर भएपछि भएको निर्वाचनमा पनि एमालेकै उम्मेदवारले बाजी मारेका छन् । त्यसैले एमाले अहिले पनि बलियो प्रतिस्पर्धी हो ।

प्रमुखमा एमालेका उम्मेदवार अनन्त पौडेललाई उसैबाट टुक्रिएर बनेको एकीकृत समाजवादीकी उम्मेदवार मीनाकुमारी लामाको सबैभन्दा बलियो चुनौती छ । लामा पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी हुन् । गठबन्धनको मुख्य शक्ति कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको उनलाई बलियो साथ देखिन्छ । 

एमालेले उपमेयरमा सुमित्रा काफ्लेलाई उठाएको छ । गठबन्धनबाट उपप्रमुखमा कांग्रेसका राजेश बानियाँ उठेका छन् । यी दुई दललाई चुनौती दिने तयारीसाथ राप्रपाले प्रमुखमा दीपकबहादुर सिंह र उपप्रमुखमा इन्दिरा न्यौपानेलाई अघि सारेको छ । सिंह यहाँका सदाबहार उम्मेदवार हुन् ।

स्थानीय तहका सबै निर्वाचनमा उनी प्रमुखमा उठ्दै र पराजित हुँदै आएका छन् । कमल थापाको गृहजिल्ला भएकाले पहिलेदेखि नै यहाँ राप्रपाको प्रभाव छ । तर, थापाले राप्रपा फुटाएर राप्रपा नेपाल पुनर्गठन गरेपछि त्यो शक्ति एकीकृत छ वा छिन्नभिन्न भयो भन्ने खुलेको छैन । राप्रपा नेपालले यहाँ कसैलाई उम्मेदवार उठाएको छैन । 

०४९, ०५४ र ०७४ मा भएका निर्वाचनमा विजयी हुँदै एमालेले ह्याट्रिक गरेको थियो । यसपटक गठबन्धन त्यसलाई तोड्न चाहन्छ । ०७४ मा कांग्रेस र माओवादीको गठबन्धनबाट कांग्रेसका आनन्दराम पराजुली उम्मेदवार बनेका थिए । पराजुली ६ सय १५ मतले एमालेका हरिबहादुर महतसँग पराजित हुन पुगे । उपमेयरमा माओवादीबाट उठेका बलराम बल एमालेकी उम्मेदवार मीना लामा (अहिले गठबन्धनकी प्रमुख उम्मेदवार)सँग ठूलो अन्तरले पराजित भए ।

यो तथ्यांक हेर्दा एमाले विभाजित रहेको अवस्था र गठबन्धनमा कांग्रेस, माओवादीसँगै विभाजित समाजवादी, जसपा र जनमोर्चासमेत जोडिँदा गठबन्धन केही सहज अवस्थामा देखिन्छ । तर, विभाजित अवस्थामै पनि एमाले कमजोर शक्ति होइन । गठबन्धनभित्र कांग्रेस बलियो र एकीकृत समाजवादी कमजोर छ । माओवादी जिल्लाकै तेस्रो शक्ति र गठबन्धनको दोस्रो शक्ति हो । जसपा र जनमोर्चाका मतदाता न्यून छन् ।

शक्ति परीक्षण नगरिएकै अवस्थामा समाजवादीलाई उपमहानगरको नेतृत्व दिएको भन्दै कांग्रेसभित्र असन्तुष्टि थियो । समाजवादीको नेतृत्व कुनै हालतमा नस्विकार्ने भन्दै यहाँका कांग्रेस नेताले केन्द्रमा बारम्बार दबाब दिएका थिए । तर, केन्द्रबाटै भागबन्डा मिलाउँदा नेतृत्व समाजवादीले नै पायो । 

उपमहानगरको नेतृत्व जित्न यसपटक ३० हजारभन्दा बढी मत ल्याउनुपर्ने आकलन गरिएको छ । यसअघि कांग्रेस, माओवादी गठबन्धनले २२ हजार पाँच सय नौ मत ल्याएको थियो । अहिले पाँचदलीय गठबन्धनका नेता ३५ हजारभन्दा बढी मत ल्याउने दाबी गर्छन् । एक्लै लडेर २३ हजार एक सय २४ मत ल्याएको एमालेका नेता पाँच वर्ष उपमहानगरको नेतृत्वमा रहँदा गरेका कामका कारण मतदाता आफ्नो पक्षमा रहेको बताउँछन् । कांग्रेसकै असन्तुष्टहरूको मत र नयाँ मतदाताको मतसमेत जोड्दा आफूहरू सहजै विजयी हुने उनीहरूको विश्लेषण छ । 

गठबन्धन र एमालेका आ–आफ्नै दाबी
कांग्रेस जिल्ला सभापति बुद्ध लामा हेटौँडामा कांग्रेस बलियो रहेको र माओवादी तथा एकीकृत समाजवादीले आ–आफ्नो मत बढाउन सके सहजै जित्न सकिने बताउँछन् । यसअघि देखिएको मत बदर नदोहोरिए गठबन्धनको जित अझ सहज हुने उनको दाबी छ ।

०७४ मा प्रमुखमा झन्डै सात हजार र उपप्रमुखमा नौ हजार मत बदर भएको थियो । लामाले यसपटक प्रमुख, उपप्रमुखसँगै दुईतिहाइभन्दा बढी वडामा गठबन्धन विजयी हुने दाबी गरे । एमाले जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ भने हेटौँडामासबै विकास एमालेको नेतृत्वमा भएकाले चौथो कार्यकालका लागि पनि नगरवासीले एमाले उम्मेदवारलाई तिजाउने दाबी गर्छन् । 
 

See More On

सुझावित समाचार