मतदाताका समस्या सुन्ने ‘फुर्सद’ छैन उम्मेदवारलाई

बिहिबार, २२ बैशाख, २०७९
डिजिटल संस्करण
मतदाताका समस्या सुन्ने ‘फुर्सद’ छैन उम्मेदवारलाई

दमक– ९ का जेनियर उराँव (बायाँ) र गणेशबहादुर कार्की आफ्ना समस्या सुनाउन उम्मेदवार पर्खिँदै

मतदाता आफ्ना समस्या राख्न चाहन्छन्, उम्मेदवार नमस्ते गरेर ‘भोट दिनु है’ भन्दै फटाफट हिँड्छन्

मंगलबार करिब साढे २ बजे दमक–९ का जेनियर उराँव घरमै थिए । पूर्वराजा ज्ञानेन्द्र शाहको चिया बगानमा मजदुरी गर्ने जेनियरको गाउँमा कांग्रेस, माओवादी र राप्रपासहितको गठबन्धनबाट दमक नगरपालिकाको प्रमुख पदका उम्मेदवार राम थापासहितको टोली भोट माग्दै आइपुग्यो । कतिको घरमै पसेर नमस्ते गर्दै भोट मागे । कतिपयलाई बाटोबाटै नमस्ते गर्दै ‘भोट दिनु है’ भने ।

थापाले उराँवसँग पनि बाटैबाट भोट मागे । उराँवले नमस्ते फर्काउँदै ‘हुन्छ’ भने । उनको कटेरो बाटोमै छ । जस्तालाई बाँसको भाटाले च्यापेर वरिपरि झिक्राले बारेको कटेरो उनी र उनको परिवारको ओत लाग्ने विकल्प हो । उराँवलाई आफ्ना समस्या उम्मेदवारसँग राख्ने मन थियो । तर, उम्मेदवारसँग उनका गुनासा सुन्ने फुर्सद थिएन । ‘गुनासा त कति थिए, कति ! घरले बर्खाको पानी छेक्दैन । अस्ति असिना आउँदा भित्रै पस्यो । चिया बगानमा मजदुरी गरेर खानेले कसरी घर बनाउने ? गाउँमा केही–केहीलाई टिन दियो । हामीलाई पनि यसो गुनासो राख्न पाए दिन्थे कि भन्ने नि !’ उनले भने, ‘मेरो बुबाआमा यही बगानमा काम गरेर बित्नुभयो । म पनि यही बगानमा काम गरेर बुढो भइसकेँ । तर, जग्गा आफ्नो नाममा छैन । यो कुरा भोट माग्न आउनेलाई सुनाउँछु भन्ने थियो । तर, परैबाट भोट मागेर गए ।’

राम थापा मात्र हैन, चुनावी अभियानमा आएका कुनै पनि दलका नेता–कार्यकर्ता उनको घर पुगेका छैनन् । बाटोबाटै भोट माग्छन् । उनलाई घर देखाएर आफ्नो दुःखको भारी ‘नेता’लाई देखाउनुछ । गाउँमा केही पक्की घरमा उम्मेदवार छिर्छन् । आफ्नो सानो घर भएकैले उम्मेदवार आएनन् कि भन्ने आशंका छ, उराँवलाई । ‘पक्की घरमा त छिर्छन् । तर, हाम्रोमा आउँदैनन् । कटेरोजस्तो घर देखेर पो हो कि ?’ उनले आशंका व्यक्त गरे । 

मंगलबार दिनको करिब साढे ३ बजे नेकपा एमालेका तर्फबाट दमक नगरपालिकाको प्रमुखकी उम्मेदवार गीता अधिकारी दमक–१ स्थित मनकामना टोल पुगिन् । त्यहाँ सुकुमबासीको पनि बसोवास छ । त्यहाँ पुगेकी अधिकारीले अधिकांशसँग ‘नमस्ते’ गरिन्, एमालेको चुनावचिह्नमा मतदान गर्न आग्रह गरिन् । अधिकांश मतदातासँग दोहोरो कुरा भएन । मतदाताले ‘हुन्छ’ बाहेक केही भनेनन् । त्यही सुकुमबासी बस्तीमा थिए, सुकुमबासी इन्द्रबहादुर थापा । उनले भने अधिकारीमाथि गुनासो पोखे । अधिकारी दमक नगरपालिकाकी निवर्तमान उपप्रमुख हुन् । उनले जितेर गएदेखि किन भोट माग्न मात्र आएको ? भन्दै सोधे । सुकुमबासीलाई धनीपुर्जा किन नदिएको भन्ने जिज्ञासा पनि राखे । कार्यकर्ताले अधिकारीलाई अघि बढ्न भने । मतदाताका गुनासासमेत पूरा नसुनी अधिकारी पछि फेरि आउँछु है भन्दै अघि बढिन् । 

‘बस्ती अस्तव्यस्त छ । बाटो छैन । बर्खामा घर डुब्छ । ०७४ मा सुकुमबासीलाई धनीपुर्जा दिन्छौँ भनेर भोट मागेका थिए । अहिलेसम्म दिएनन्, फेरि भोट माग्न मात्र आए,’ उनले भने, ‘कोरोनाको महामारीका वेला कोही आएन । गुनासो सुनाउँदै थिएँ, पूरा नहुँदै उम्मेदवार हिँडे ।’ यहाँ यो क्रम निरन्तर चलिरहेको छ । उम्मेदवारले जनताका कुरा सुन्नेभन्दा नमस्कार गर्दै हतारहतार भोट मागेर हिँड्ने गरिरहेका छन् । न उनीहरूले आफ्ना एजेन्डा जनतासमक्ष राखेका छन्, न मतदाताको कुरा सुनेर अन्तरक्रिया गरेका छन् । 

दमक–१ को मनकामना टोलमा एमालेले भोट माग्दै गर्दा ८० वर्षीय गणेशबहादुर कार्की बाटोछेउको झुप्रोमै थिए । उनी हिँडडुल गर्न सक्दैनन् । अर्काको जग्गामा भाडा तिरेर झुप्रो बनाएर बसेका छन् । यी समस्या सुनिदिन्छन् कि भन्ने थियो, कार्कीलाई । तर, उम्मेदवार घरसम्म पुगेनन् । ‘यस्तो घर छ । त्यो पनि अर्काकोमा । म आफू बिरामी भएर केही गर्न सक्दिनँ । हिँड्न पनि सक्दिनँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘छोरीले अर्काकोमा जुठा भाँडा माझेर पालेकी छे ! यी कुरा चुनावका वेला त कतै राख्न पाउँछु कि भन्ने थियो, राख्न पाइनँ ।’ 

एजेन्डाविहीन छन् घरदैलो अभियान
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा चुनावी राप निकै बढेको छ । यहाँ एमालेविरुद्ध कांग्रेस, माओवादीले राप्रपासँग चुनावी तालमेल गरेका छन् । गठबन्धनबाट राम थापा प्रमुखको उम्मेदवार छन् । एमालेले अध्यक्ष ओलीको गृहनगर भएकाले नगरको निर्वाचनलाई प्रतिष्ठा बनाएको छ । एमालेलाई पुरानो विरासत जोगाउनु छ । गठबन्धन यो विरासत भत्काउन चाहन्छ । यही कारण एमाले र गठबन्धनका उम्मेदवार जनताको घर–घरमा पुगेका छन् । तर, जनताले भने उम्मेदवारसँग आफ्ना समस्या÷गुनासा राख्नै पाएका छैनन् । उम्मेदवारहरू आएर नमस्ते गरेर जान्छन् । घरमा वृद्धवृद्धा छन् भने हात ढोग्दै ‘आशीर्वाद’ लिन्छन् । उम्मेदवार मतदातालाई आफ्ना एजेन्डा सुनाउँदैनन् । प्रचार सामग्री दिएर यही पढ्न भन्छन् । ‘हाम्रा कुरा त कहाँ सुन्छन् र ! उनीहरूले पनि यसो गर्छौं, उसो गर्छौं भन्दैनन्, भोट दिनु मात्र भन्छन्,’ दमक–९ की अनिता भुजेलले भनिन्, ‘एउटा पार्टीका कार्यकर्ता पर्चा बाँड्दै आएका थिए, तल नम्बर छ, केही परेमा फोन गर्नु पो भन्दै गए !’

मंगलबार राप्रपासहितको गठबन्धनका दमक–९ र एमालेको दमक–१ र २ मा घरदैलो कार्यक्रम थियो । दुवैको घरदैलो कार्यक्रममा नयाँ पत्रिकाकर्मी पुग्दा दलहरू एजेन्डाविहीन देखिन्थे । भोट माग्नबाहेक जनतालाई कुनै आफ्ना एजेन्डा राख्दैन थिए, उनीहरू । आफ्ना एजेन्डा मात्र नराख्ने हैन, जनताका समस्या सुन्ने फुर्सद पनि थिएन, उम्मेदवारलाई । ‘भोट माग्नुहुन्छ । न हाम्रा कुरा सुन्नुहुन्छ, न उहाँहरूका योजना नै सुनाउनुहुन्छ,’ दमक–९ की शान्ति सेन्च्युरीले भनिन्, ‘अहिले जिउ–जिउ गर्दै आउँछन् । पछि काम पर्दा फोन पनि उठाउँदैनन् । यही चुनावको वेला त हो, समस्या राख्ने । यो वेलामा त कुरा सुन्दैनन्, पछि त के गर्लान् र !’ 

दमक–९ की विमला विश्वकर्माको जग्गा इनरुवा–काँकडभिट्टा रेलमार्गमा परेको छ । मुआब्जाको टुंगो नलागेकाले उठिवास लाग्ने हो कि भन्ने चिन्ता छ, विमलालाई । उनी चुनावमा उठेका उम्मेदवारलाई यही समस्या राख्न चाहन्छिन् । तर, उम्मेदवारसँग उनको समस्या सुन्ने फुर्सद छैन । ‘रेलमार्गले के हुने हो भन्ने चिन्ता छ । यो कुरा नेतालाई राख्न पाए केही समाधान हुन्थ्यो कि ! तर, नेता हतारमा छन् । कुरा राख्ने वातावरण नै छैन,’ उनी भन्छिन्, ‘अस्ति एमालेका आए, यसरी नै भोट हाल्नु है भनेर हिँडे । अहिले गठबन्धनकाले पनि यस्तै गरे । कम्तीमा हाम्रा कुरा त सुन्नुपर्छ !’

नेकपा एमालेबाट नगर प्रमुखको उम्मेदवार बनेकी गीता अधिकारीले समय छोटो भएकाले उम्मेदवारले नै एजेन्डा घरघरमा लैजान समस्या भएको बताइन् । उनले पार्टी कार्यकर्ताले एजेन्डा घरसम्म पु¥याउने बताइन् । ‘छोटो समय छ । घरघरमा एजेन्डा प्रस्तुत गर्न सक्दैनौँ, अहिले चिनजान गर्न गयौँ,’ उनले भनिन्, ‘अब हाम्रा पार्टीका कार्यकर्ताले घरघरमा पुगेर एजेन्डा दिनुहुन्छ र प्रतिज्ञापत्र पनि दिनुहुन्छ । कोणसभा पनि गर्दै छौँ । गुनासाहरू पनि टिपोट गरिरहेका छौँ ।’

गठबन्धनबाट नगरप्रमुखका उम्मेदवार राम थापाले भने जनताको गुनासो र समस्या सुनिरहेको दाबी गरे । ‘हामीले जनताका गुनासा र समस्या सुनिरहेका छौँ । सामान्यतः हामीले व्यक्तिगत रूपमा भेटिरहेका छौँ,’ उनले भने, ‘सम्भव भएसम्म अन्तक्र्रिया गरिरहेका छौँ । पैदल हिँडेर सबै घर पुगेका छौँ । लामो गुनासो राख्ने प्रयास कसैले गर्नुभएन । जितेर आउनुहुन्न भन्ने गुनासो धेरैले गर्नुभयो । जीवनभरि हारेको मान्छेसँग गुनासो त के हुन्छ र !’

सम्पादकको रोजाइ

सुझावित समाचार