प्रधानमन्त्री देउवालाई चुनावी कार्यक्रममा जान आयोगको अनुमति

बिहिबार, २२ बैशाख, २०७९
डिजिटल संस्करण

तर, कांग्रेस सभापतिको हैसियतमा निजी स्रोत साधनको प्रयोग गर्नुपर्ने

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेस सभापतिको हैसियतमा चुनावी कार्यक्रममा जान अनुमति दिएको छ । निर्वाचन आचारसंहिता, २०७८ बमोजिम आयोगले प्रधानमन्त्री देउवालाई दलको पदाधिकारीको हैसियतमा चुनावी कार्यक्रममा सहभागी हुन अनुमति दिएको हो । 

आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले संसदीय व्यवस्थामा एउटै व्यक्ति पार्टीको पदाधिकारी र अन्य सार्वजनिक पदमा बहाल रहने भएकाले आफ्नो निजी स्रोत साधनको प्रयोग गरेर आफ्नो दलको चुनावी कार्यक्रममा जानका लागि आयोगले बाटो खोलेको बताए । भट्टराईका अनुसार प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम तथा रोजगारमन्त्री किसानकुमार श्रेष्ठलाई निजी स्रोतको प्रयोग गरी चुनावी कार्यक्रममा सहभागी हुन आयोगले अनुमति दिएको हो । 

निर्वाचन आचारसंहिताको दफा ४(क) ‘सार्वजनिक निकाय वा कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने’ उल्लेख छ ।

केशव स्थापितले दिए ‘स्पष्टीकरण’ 
एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आयोगसमक्ष स्पष्टीकरण दिएका छन् । ‘प्रसंगवश आफ्ना कुरा स्पष्ट गरेको मात्र हो । कसैको चरित्रहत्या गर्ने, मानहानि गर्ने वा निर्वाचनलाई प्रभाव पार्ने खालको क्रियाकलाप गरेको होइन,’ भनी आयोगसमक्ष स्पष्टीकरण दिएको भट्टराईले बताए । 

स्थापितले काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहप्रति गैरराजनीतिक टिप्पणी गरेका थिए । त्यस्तै, १५ वैशाखमा काठमाडौंको धुम्बाराहीस्थित नेसनल कलेजमा भएको सार्वजनिक कार्यक्रममा एक महिलाप्रति आपत्तिजनक अभिव्यक्ति दिएका थिए । सोही विषयमा स्थापितलाई २४ घन्टाभित्र स्पष्ट पार्न आयोगले निर्देशन दिएको थियो ।

See More On

सुझावित समाचार