मनास्लुमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

बुधबार, २१ बैशाख, २०७९
डिजिटल संस्करण
मनास्लुमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

मनास्लु पदमार्गअन्तर्गत लार्के पास तर्फ जाँदै विदेशी पर्यटकहरू

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा पर्यटक आगमन बढ्न थालेसँगै पर्यटन व्यवसायीहरू खुसी भएका छन् । कोभिडका कारण लामो समयदेखि पर्यटक आउन छाडेपछि धराशायी बनेका व्यवसायीमा अहिले पर्यटन आगमन बढ्न सुरु गरेसँगै खुसी बढेको हो ।  कोभिडका कारण दुई वर्षसम्म मनास्लु क्षेत्रका होटेल, लज, टि–हाउसहरू सुनसान थिए । अहिले मनास्लु क्षेत्रको चुम उपत्यका र नुब्री उपत्यकाका होटेल, लज तथा टी–हाउस सञ्चालनमा आएसँगै व्यवसायीहरू खुसी भएका मनास्लु क्षेत्र होटेल व्यवसायी उपसमितिका अध्यक्ष गणेश कार्कीले बताए । उनले भने, ‘लामो समयदेखि सबै होटेल बन्द हुँदा लाखाैँ, करोडौँ लगानी खेर जाने आवस्थामा पुगेको थियो । तर, अहिले केही मात्रामा भए पनि पर्यटकहरू आउन थालेका छन् ।’ 

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अजित तुम्बाहाम्फेका अनुसार अहिले मनास्लु क्षेत्रअन्तर्गत चुम र नुब्री उपत्यकामा दैनिक २०–२५ जनाका दरले पर्यटक आउने गरेका छन् । यो सिजनको हालसम्ममा एक सय ६ जना मनास्लु क्षेत्र प्रवेश गरेको उनले बताए । अघिल्लो एक वर्षमा आएका जति पर्यटक यस वर्षको तीन महिनामै आएको उनले जानकारी दिए । उनीहरूमध्ये ३३ जना चुम उपत्यका र ७३ जना मनास्लु उपत्यकातर्फ गएको तुम्बाहाम्फेले बताए ।  

विदेशी पर्यटकहरू आएसँगै अक्टोबर सिजनका लागि पनि धमाधम बुकिङ आएको खबरले व्यवसायीहरू उत्साहित बनेको सामागाउँका व्यवसायी मिङमार लामाले बताए । मनास्लु आरोहणका लागि आरोहीहरू आउन सुरु गरेको उनले जानकारी दिए । चुम उपत्यकाका होटेल व्यवसायी ङवाङ सोनाम लामाले पनि कोभिडबाट निराश भएका व्यवसायीहरू पर्यटक आउन थालेपछि खुसी भएको बताए । लाखाँै, करोडौँ खर्च गरेर होटेल व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरू पर्यटक आउन थालेसँगै धमाधम आफ्नो व्यवसाय सुरु गर्न थालेको उनको भनाइ छ । 

सुझावित समाचार