अभिव्यक्ति स्वतन्त्रता रक्षाको चिन्ता

यदि ट्विटरमा मस्कले भनेझैँ ‘मानवताको भविष्यका लागि महŒवपूर्ण विषयमा बहस गरिन्छ’ भने यी बहसमा कसको उपस्थितिले महत्व राख्छ भन्ने अहिलेको मुख्य प्रश्न हो

बुधबार, २१ बैशाख, २०७९
डिजिटल संस्करण

अरब वसन्तको समयमा ‘ब्रेड, फ्रिडम एन्ड सोसल जस्टिस’ अर्थात ‘रोटी, स्वतन्त्रता, र सामाजिक न्याय’को माग गर्दै सडकमा उत्रिएका लाखौँ इजिप्टवासीमध्ये एक म पनि हुँ । त्यसवेला मैले ट्विटरका सबैभन्दा राम्रा र नराम्रा अवयवको अनुभव गरेकी छु ।जब सरकारले मिडियालाई नियन्त्रणमा लियो, इन्टरनेट बन्द गर्यो र असहमति दर्ज गर्नेमाथि जाइलाग्यो तब हामी आममानिसले विरोधको योजना बनाउन, प्रदर्शनकारीलाई बाटो र सुरक्षित स्थानबारे सूचित गर्न र पक्राउ परेका एवं मारिएका व्यक्तिको अभिलेख राख्न ट्विटरको शरण पर्यौँ । तर, जसरी सरकारले तहरिर स्क्वायरमा हामीमाथि भौतिक हमला गर्न सुरक्षा बल परिचालन गर्यो, त्यसरी नै सरकारले अनलाइनमा पनि पत्रकार र सामाजिक अभियन्ता एवं कार्यकर्तालाई सताउन र चुप लगाउन दुव्र्यवहार एवं मिथ्या सूचनाको संयोजित लहर नै सुरु ग¥यो ।

हामीले ट्विटरलाई अपरिपक्व ढंगले एक सुरक्षित ठाउँका रूपमा लिएका थियौँ, तर ट्विटर संयोजित उत्पीडन र मिथ्या सूचनाको दुःस्वप्नका रूपमा परिणत भयो । तानाशाही शासनमा शासकले आफूलाई विरोध गर्ने जोकोहीलाई पनि निरन्तरको धम्की, चिन्ता र भयपूर्ण वातावरणमा जाक्ने प्रयास गर्छन् । जसले धेरै मानिसलाई सेल्फ–सेन्सर (आत्म–नियमन) गर्न वा पत्रकारिता पेसा नै छोड्न बाध्य बनाउँछ । 

थुप्रै पत्रकार र मानव अधिकार रक्षकझैँ म पनि एलन मस्कको ट्विटरको सम्भावित अधिग्रहणका कारण गम्भीर रूपमा चिन्तित छु । जब मस्कले सामाजिक सञ्जाललाई सार्वजनिक बहसका लागि ‘डिजिटल टाउन स्क्वायर’ अर्थात् ‘डिजिटल वृत्तको चौराहा’का रूपमा वर्णन गर्छन् र ‘स्वतन्त्र अभिव्यक्ति क्रियाशील लोकतन्त्रको आधार हो’ भनेर जोड दिन्छन्, तब कसैले मस्कका भनाइमा असहमति राख्न सक्छ र ? मानव अधिकारको प्रत्याभूति र लोकतन्त्रको वकालत गर्न मैले आफ्नो ज्यान जोखिममा राखेकी छु । आज अमेरिकामा एक निर्वासित व्यक्तिका रूपमा मैले लेखक र पत्रकारलाई अनलाइन र भौतिक वातावरणमा सुरक्षित राख्न वाक् स्वतन्त्रतासम्बन्धी पैरवी गर्ने संगठन पेन अमेरिकाका लागि काम गर्छु ।

मस्कको वाक् स्वतन्त्रताको बुझाइअनुसार स्वतन्त्रताको अभ्यास गर्ने क्षेत्र सबैलाई समान छ अर्थात् हामी सबैलाई समान एवं सुरक्षित रूपमा अनलाइन व्यवहार गरिन्छ भन्नेतर्फ संकेत गर्छ । यसकारण ट्विटरका आवश्यक केही नियामक व्यवस्था हट्नेछ भन्नेमा निश्चित छु, अर्थात् व्यापक अनलाइन दुव्र्यवहारले स्वतन्त्र अभिव्यक्तिलाई कुण्ठित गर्छ भन्ने जान्दाजान्दै अर्थपूर्ण सामग्री मध्यस्थता नीति र प्रक्रिया हटाइनेछन् । 

मानिसलाई उनीहरूले अनलाइनमा अभिव्यक्त गरेका विषयका लागि मात्र नभई समूहविशेषको मुखर सदस्य भएका कारण अर्थात नश्ल, आस्था, लैंगिक पहिचान, यौन झुकाब, र अपांगताका कारण ट्विटरमा सिकार हुन सक्छन् । यदि महिला, अल्पसंख्यक, पत्रकार र मानव अधिकार रक्षकलाई गम्भीर एवं निरन्तरको दुव्र्यवहारका कारण डिजिटल मञ्चबाट धकेलिन्छ भने सार्वजनिक बहस शक्तिशाली आवाज भएका सबैभन्दा बढी विशेषाधिकार प्राप्त केही मानिस मात्रको पोल्टामा आइपुग्छ । यदि ट्विटरमा मस्कले भनेझैँ ‘मानवताको भविष्यका लागि महत्वपूर्ण विषयमा बहस गरिन्छ’ भने यी बहसमा कसको उपस्थितिले महत्व राख्छ भन्ने अहिलेको मुख्य प्रश्न हो ।

यदि ट्विटरमा मस्कले भनेझैँ ‘मानवताको भविष्यका लागि महत्वपूर्ण विषयमा बहस गरिन्छ’ भने यी बहसमा कसको उपस्थितिले महत्व राख्छ भन्ने अहिलेको मुख्य प्रश्न हो

यदि एलन मस्क ट्विटरलाई सबैका लागि वाक् स्वतन्त्रताको सुरक्षित आश्रयस्थल बनाउन गम्भीर छन् भने सामाजिक सञ्जाल विश्वभरका पत्रकार, असन्तुष्ट र अभियन्ताले सत्तासँग सत्य बोल्न प्रयोग गर्ने एक महत्वपूर्ण उपकरण हो भन्ने सम्झिनुपर्छ । तर, सत्तामा रहेकाहरूले स्वतन्त्र प्रेस र मञ्चविहीन असहमतिलाई कमजोर पार्न संयोजित उत्पीडन र मिथ्या समाचार अभियान जोडतोडका साथ लागू गर्छन् । इतिहास हेर्दा ट्विटरले काला र खैरो वर्णका मानिस एवं विश्वव्यापी रूपमा सीमान्तकृत अन्य समुदायका मानिसका सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै त्यसका ठाउँमा अमेरिकी र अंग्रेजी बोल्ने प्रयोगकर्तालाई प्राथमिकता दिएको छ । यस मञ्चले आफ्ना सबैभन्दा कमजोर एवं जोखिम अवस्थामा रहेका प्रयोगकर्तालाई राम्रोसँग सुरक्षित गर्न अर्थपूर्ण नीति र सुविधाको व्यवस्था गर्न एकदमै ढिलाइ गरिसकेको छ ।

नागरिक समाज र सामाजिक अभियन्ताको एक दशकको अथक वकालतपछि ट्विटरले अन्ततः हालैका वर्षमा दुरुपयोग एवं गलत जानकारीलाई सम्बोधन गर्ने मामिलामा थोरबहुत प्रगति गर्न थालेको छ । तर, ट्विटरमा अझ धेरै काम गर्न बाँकी छ जसमा मानिसलाई उनीहरूले पाउने अपमानजनक सामग्री फिल्टर गर्ने (छान्ने) विकल्प दिइनुपर्छ, ताकि उनीहरूले आफ्ना विश्वसनीय सहयोगी व्यक्तिको सहयोगमा पछि यी सामग्रीको समीक्षा गर्न र सम्बोधन गर्न सकून् । जसले अनलाइन दुरुपयोगलाई अभिलेख गर्न सजिलो बनाओस् र मानिसलाई आफ्नो व्यक्तिगत र व्यावसायिक पहिचानलाई अनलाइनबाट पृथक् बनाउन सजिलो गर्दै र अनुकूलताअनुसार प्रयोगकर्तालाई गोपनीयता समायोजनलाई नियन्त्रण गर्न अनुमति दिइयोस् ।

जब आवाज मौन बनाइन्छ र बोली चिसो हुन पुग्छ । सार्वजनिक संकथन पीडा झेल्न पुग्छ । अभिव्यक्ति स्वतन्त्रता र प्रयोगकर्ताको स्वत्व अनलाइन सुरक्षा र संरक्षणबिना अस्तित्वमा रहन सक्दैन । अनलाइन उत्पीडनको हानिकारक प्रभावलाई कम गरेर, ट्विटर, फेसबुक र इन्स्टाग्रामजस्ता मञ्चलगायतका सामाजिक सञ्जालले सबै प्रयोगकर्ताका लागि थप खुला र समान भएको प्रत्याभूति दिन सक्छन् ।
अलजजिराबाट

सुझावित समाचार