उपत्यकाका स्थानीय तह : व्यक्ति पुरानै, योजना नयाँ

मंगलबार, २० बैशाख, २०७९
डिजिटल संस्करण

१० नगर र दुई गाउँपालिकामा पुरानैको उम्मेदवारी

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा २१ पालिका छन् । तीमध्ये १२ पालिकाका प्रमुख पुनः प्रतिस्पर्धामा छन् । दश नगरपालिका र दुई गाउँपालिकामा पुरानै अनुहार चुनावी दौडमा छन् । 

काठमाडौंमा एक महानगरसहित १० नगर, ललितपुरमा एक महानगर, दुई नगर र तीन गाउँपालिका तथा भक्तपुरमा चार नगरपालिका छन् । तीमध्ये दश नगरपालिकामा मेयर र दुई गाउँपालिकामा अध्यक्ष दोहोरिन खोज्दै छन् । पाँच नगरपालिका र एक गाउँपालिकाका प्रमुखले टिकट नै पाएनन् । दोहोरिन खोजेका १२ जनाले पाँचवर्षे कार्यकालमा आफ्ना केही अधुरा योजना रहेका र त्यसलाई पूरा गर्न फेरि उम्मेदवारी दिएको बताएका छन् । उनीहरूले केही नयाँ योजना पनि अघि सारेका छन् । 

उपत्यकाका दुई महानगरमध्ये ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले दोस्रो कार्यकालका लागि फेरि उम्मेदवारी दिएका छन् । उनले आफूले योजना अघि सारेकामध्ये शिक्षा, स्वास्थ्य, रोजगारी, सम्पदालगायतका क्षेत्रका केही अधुरा योजना पूरा गर्न उम्मेदवारी दिएको उनको भनाइ छ । ‘कांग्रेसको केन्द्र, जिल्लाका नेता र कार्यकर्ताको अपार साथ पाएर महानगरवासीका लागि प्रशस्त काम गरेको जस्तो लाग्छ । थुप्रै काम गरे पनि केही काम अझै अधुरा रहेकाले पार्टीले पत्याएर टिकट दियो,’ महर्जनले भने, ‘महानगरवासीले अपार माया दिएर जिताउनुहुन्छ भन्ने विश्वास लिएको छु ।’ 

नगरकै विश्वविद्यालय बनाउनेदेखि राजकुलो फर्काउनेसम्म 
महर्जनले लगनखेलको अशोक स्तुपासँगै जोडिएको सप्तपाताल पोखरीलाई ब्युँताएर कमलको फूल फुलाउनेदेखि राजकुलोलाई महानगरसम्म जोडेर मंग हिटी र टंग हिटीमा पानी झार्ने बताए । ‘सप्तपातालको काम सुरु भइसकेको छ । त्यसलाई पुरानै अवस्थामा फर्काएर कमल फुलाउनेछु । हाल चक्रपथबाहिरै रहेको राजकुलोलाई महानगरसम्म ल्याएर केही हिटीमा पानी आउने बनाउनेछु,’ महर्जनले भने, ‘मैले पहिलो कार्यकालमा धेरैलाई रोजगार सिर्जना गर्न तालिम दिएको छु । अब उनीहरूलाई केही सिड मनीको व्यवस्था गर्छु ।’ उनले पाटन दरबार क्षेत्रभित्र पुनर्निर्माणको चरणमा रहेका देगु तलेजु, बालकुमारी, रातो मच्छिन्द्रनाथलगायत मठ, मन्दिरहरूको पुनर्निर्माण सम्पन्न गर्ने बताए । पहिलो कार्यकालमा राम्रा काम गर्ने मेयरको रूपमा चर्चा बटुलेका महर्जनले विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्दै पेट्रोलियम सवारीलाई विस्थापित गर्नेसमेत बताए । 

गोदावरी नगरपालिकामा कांग्रेसका गजेन्द्र महर्जनले पहिलो कार्यकालका अधुरा कामलाई पूरा गर्नेबाहेक शिक्षा र स्वास्थ्यलाई सहज र सुलभ बनाइने योजना अघि सारेका छन् । धार्मिक पर्यटनलाई विकास गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने उनले बताए । ‘पाँच वर्ष जनप्रतिनिधि भएर काम गर्दा कतिपय अधुरा काम बाँकी छन् । फेरि जितेमा त्यसलाई पूरा गर्नेछु,’ महर्जनले भने, ‘शिक्षा र स्वास्थ्यमा सहज, सुलभ पहुँच बनाउनेछु । गोदावरीलाई धार्मिक पर्यटनमा विकास गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन काम गर्नेछु । नगरपालिकालाई पूर्वाधारमा सक्षम बनाउनेछु ।’

चन्द्रागिरि नगरपालिकामा दोहोरिन खोजेका घनश्याम गिरिले अबदेखि २०–३० हजार कमाउन विदेश जानपुर्ने अवस्थाको अन्त्य हुने बताए । पहिलो कार्यकाललाई आधार मानेरै दोस्रो कार्यकालका लागि टिकट पाएको भन्दै उनले उत्पादन, रोजगार, बजारीकरण र प्रविधियुक्त सुशासन यी चार क्षेत्रलाई आफ्नो नारा बनाएको बताए । ‘अब २०–३० हजार कमाउन युवाहरू विदेश जानुपर्ने अवस्थाको अन्त्य हुन्छ,’ गिरीले भने, ‘पुराना राम्रा कामलाई निरन्तरता दिँदै उत्पादन, रोजगार, बजारीकरण र प्रविधियुक्त सुशासन योपटकको मेरो नारा हो ।’

नेमकिपाका सुनील प्रजापति भक्तपुर नगरपालिकामा दोहोरिन खोजेका छन् । शिक्षा, स्वास्थ्य, सम्पदालगायतका क्षेत्रमा महत्वपूर्ण काम गर्न सफल भएका प्रजापतिले पहिलो कार्यकालको अधुरा कामसँगै उदाहरणीय नगर बनाउन काम गर्ने बताए । ‘पाँच वर्षमा अधुरा रहेका कामलाई निरन्तता दिँदै शिक्षा, स्वास्थ्य, रोजगार, सम्पदालगायतका क्षेत्रका काम गर्नेछु,’ उनले भने, ‘हाम्रो अध्यक्षको एक सय वर्षपछिको भक्तपुरको योजना साकार बनाउन लागिपर्नेछौँ । पाँच वर्षमा बाँकी भएका अधुरा कामलाई सम्पन्न गर्नेछौँ ।’ उनले ख्वपः कलेजलाई विश्वविद्यालयमा रूपान्तरण गर्न, नगरलाई सांस्कृतिक नगर घोषणा गर्ने, पुराना शैलीका घर निर्माणमा प्रेरित गर्नेलगायतका काम गर्ने उनले बताए ।

‘ख्वपः कलेजलाई विश्वविद्यालय बनाउनेछौँ । नगरलाई सांस्कृतिक नगर घोषणा गरेर सोहीअनुसार काम गर्छौं । पुरानै शैलीका घर निर्माण कार्यलाई अगाडि बढाउनेछौँ,’ उनले भने, ‘प्रत्येक घरमा दुई–तीनवटा भाषा बोल्न सक्ने बनाउन भाषाका कक्षाहरू सञ्चालन गर्नेछौँ, जसकारण दरबार क्षेत्रमा पर्यटक भित्र्याउन सजिलो होस् । पुराना शैलीका घर निर्माण गरेर पर्यटक ल्याउनेछौँ । २५ बेडको नगर अस्पताललाई एक सय बेडको बनाउनेछौँ । हाम्रो खोलामा सफा पानी बग्नेछ । सुन्दर, व्यवस्थित र उदाहरणीय नगर बनाउन काम गर्छौं ।’ 

यी हुन् दोहोरिन खोजेका प्रमुख
काठमाडौंमा काठमाडौं महानगरसहित दक्षिणकाली, चन्द्रागिरि, कीर्तिपुर, चाँगुनारायण, कागेश्वरी मनहरा, तारकेश्वर, टोखा, बुढानीलकण्ठ, गोकर्णेश्वर र शंखरापुर नगरपालिका गरी ११ स्थानीय तह छन् । ललितपुरमा ललितपुर महानगर, गोदावरी र महालक्ष्मी नगरपालिका तथा कोन्ज्योसोम, बागमती र महांकाल गाउँपालिका छन् । भक्तपुरमा भक्तपुर, चाँगुनारायण, सूर्यविनायक र मध्यपुरथिमी नगरपालिका गरी चार स्थानीय तह छन् । 

ललितपुर महानगरपालिकामा कांग्रेसका चिरिबाबु महर्जन, गोदावरी नगरपालिकामा कांग्रेसकै गजेन्द्र महर्जन, दक्षिणकाली नगरपालिका प्रमुखमा मोहन बस्नेत, चन्द्रागिरि नगरपालिका प्रमुखमा घनश्याम गिरी र नागार्जुन नगरपालिका प्रमुखमा मोहनबहादुर बस्नेत दोहोरिन खोजेका छन् । तीनैजना कांग्रेसकै नेता हुन् । टोखामा एमालेका प्रकाश अधिकारी र तारकेश्वर नगरपालिकामा एमालेकै रामेश्वर बोहरा दोहोरिन खोजेका छन् । 

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा एमालेका मदनसुन्दर श्रेष्ठ र सूर्यविनायक नगरपालिका प्रमुखमा सोही पार्टीका वासुदेव थापा, भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका सुनील प्रजापति दोहोरिन खोजेका छन् । ललितपुरको बागमती गाउँपालिकामा कांग्रेसका वीरबहादुर लोप्चन र कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्रका गोपीलाल सिंतानले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका छन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार