६४ जिल्लाका लागि एक करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी
स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकामध्ये ३५३ जना निर्विरोध निर्वाचित भएका छन् । ७५३ स्थानीय तहका कुल ३५,२२१ पदमध्ये ३५३ पदमा एकल उम्मेदवारी परेकाले उनीहरू निर्विरोध निर्वाचित भएका आयोग सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
११ र १२ वैशाखमा भएको मनोनयनपत्र दर्ताको जाँचबुझ र फिर्ता लिने समय सकिएपछि आयोगले १७ वैशाखमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो । जसमा ३५३ पदमा एकल उम्मेदवारी छ । निर्विरोध भएकालाई मतगणना सम्पन्न भएपछि निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र दिनेछ ।
सहप्रवक्ता अर्यालले दलित महिला वडा सदस्य पदमा १७० स्थानमा उम्मेदवारी नपरेको जानकारी दिए । कूल ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवार हुनुपर्ने थियो ।यसैबीच, निर्वाचनका लागि हालसम्म ६४ जिल्लाका लागि एक करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरिएको छ । काठमाडौंबाट एकै दिनमा ढुवानी गर्न सकिने मधेस प्रदेश र बागमती प्रदेशका केही जिल्लामा ढुवानी गर्न बाँकी छ । महानगरपालिकाका लागि मतपत्र छपाइ भई सबै मतपत्र २३ वैशाखभित्र ढुवानी गरिसक्ने तयारी रहेको छ ।
स्थापितलाई २४ घन्टे स्पष्टीकरण
आयोगले काठमाडौं महानगरपालिकामा प्रमुख पदका एमालेका उम्मेदवार केशव स्थापितसँग २४ घन्टाभित्र स्पष्टीकरण मागेको छ । १५ वैशाखमा धुम्रबाराहीस्थित नेसनल कलेजमा भएको कार्यक्रममा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिताविपरीत भएको पाइएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । आफूमाथि लागेको आरोपबारे सोधिएको प्रश्नमा स्थापितले विवादित अभिव्यक्ति दिएका थिए ।
स्थापितको उम्मेदवारी खारेजीको माग गर्दै सामूहिक विज्ञप्ति जारी गर्ने महिला पुनर्स्थापना केन्द्र ओरेकलाई विज्ञप्ति हटाई २४ घन्टाभित्र स्पष्ट पार्न आयोगले निर्देशन दिएको छ । आयोगले नेसनल कलेजलाई घटनाबारे विस्तृत खुलाई पठाइदिन पत्र पठाएको छ ।
त्यसैगरी, आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा आयोगले एकीकृत समाजवादी, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, कांग्रेसका प्रतिनिधिसभा सदस्य डा. शशांक कोइराला र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई अब आइन्दा आचारसंहिता उल्लंघन नगर्न/नगराउन सचेत गराएको छ । उनीहरूसँग आयोगले ‘चित्तबुझ्दो जवाफ’ माग गरेको थियो । उनीहरूले पठाएको जवाफका आधारमा आयोगले सचेत गराउने निर्णय गरेको हो ।
पोस्टर, भित्तेलेखन, तुल, ब्यानर प्रयोग नगर्न आग्रह
आयोगले स्थानीय तह सदस्य निर्वाचनका क्रममा पोस्टर, भित्ते लेखन, तुल, ब्यानरलाई प्रयोग नगर्न आग्रह गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आयोगले गत २५ चैतदेखि निर्वाचन आचारसंहिता, २०७८ लागू गरिसकेको छ । आचारसंहिताअनुसार सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुने र कुनै पनि उम्मेदवारले आफ्नो कार्यालयबाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने प्रावधान छ । दल वा उम्मेदवारको चुनाव चिह्न वा दलको झण्डाको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने, कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन नहुने व्यवस्था विपरीत कतिपय स्थानमा कानूनले वर्जित गरेका यस्ता कार्य भइरहेको आयोगको भनाइ छ ।
इन्टरनेट सेवा बन्द नगर्न आग्रह
निर्वाचनको मिति नजिकिएका समयमा इन्टरनेट सेवाप्रदायक संघ, नेपालले आगामी सातादेखि इन्टरनेट सेवा बन्द हुन सक्ने भनी दिएको चेतावनीप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ । ‘मुलुकभर सबै स्थानीय तहमा एकैपटक निर्वाचन सम्पन्न गर्ने तयारी भएको अवस्थामा इन्टरनेट सेवा बन्द हुने अवस्था आएमा निर्वाचनको व्यवस्थापनमा गम्भीर असर पर्ने भएकाले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सम्बद्ध पक्षलाई यो अवस्था नआउने परिस्थिति बनाउन आयोग निर्देशन दिन्छ,’ आयोगले विज्ञप्तिमा भनेको छ ।
निर्वाचन सुरक्षाबारे गृहमन्त्रीले लिए जानकारी
गृहमन्त्री बालकृष्ण खाणले निर्वाचन सुरक्षाबारे छलफल गरेका छन् । सोमबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा उनले ३० वैशाखमा हुन लागेको निर्वाचनको सुरक्षा प्रबन्धका लागि अहिलेसम्म भए गरेका कामको समीक्षा र आगामी योजनाबारे जानकारी लिएका हुन् । बैठकमा निर्वाचनको प्रचारप्रसारका क्रममा हुन सक्ने घटनालाई मध्यनजर गर्दै त्यस्ता घटना हुन नदिन गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिइएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।
गृहमन्त्री खाणले अहिलेसम्म निर्वाचन सुरक्षाका लागि भए गरेका काम प्रशंसायोग्य रहेको भन्दै स्थानीय निर्वाचन शान्तिपूर्ण तरिकाले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मिलाउनुपर्ने सुरक्षा प्रबन्धमा कुनै कसुर बाँकी नराख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए । उनले निर्वाचनमा आकस्मिक रूपमा र योजनाबद्ध झडप पनि हुन सक्ने भन्दै त्यस विषयमा सचेत रहन र झडपबारे सूचना पाउने बित्तिकै सुरक्षा निकायले एक अर्काबीच समन्वयमा अगाडि बढ्न निर्देशन दिए ।
बैठकमा गृह सचिव टेकनारायण पाण्डे, निमित्त रक्षासचिव यज्ञप्रसाद ढुंगेल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलको सहभागिता थियो ।