सुदूरपश्चिम प्रदेशको एक मात्रै उपमहानगरपालिका, अस्थायी राजधानी र प्रदेशकै प्रमुख व्यापारिक केन्द्र भएकाले धनगढीको निर्वाचनलाई लिएर चासो बढेको छ । मनोनयन दर्तासँगै दलीय र स्वतन्त्र उम्मेदवारहरूले चुनावी प्रचारप्रचारलाई तीव्रता दिएका छन् । मतदाता रिझाउन भइरहेका घरदैलो अभियान, सभासम्मेलनले चुनावी सरगर्मी निकै बढेको छ ।
धनगढी उपमहानगरको मेयरका लागि तीनजना स्वतन्त्र उम्मेदवारसहित नौजना प्रतिस्पर्धामा छन् । गठबन्धनबाट कांग्रेसले नृपबहादुर वडलाई मेयरमा दोहो¥याउन खोजेको छ । अघिल्लो निर्वाचनमा वडकै निकटतम प्रतिस्पर्धी भएका गोपाल हमाल आसन्न निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा हमालले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए । एमालेले रणबहादुर चन्दलाई मेयरको उम्मेदवार बनाएको छ ।
अघिल्लो निर्वाचनको मतपरिणाम र अहिलेको चुनावी माहोल हेर्दा धनगढीमा वड, चन्द र हमालबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । मेयर कांग्रेस र उपमेयरको उम्मेदवारी माओवादी केन्द्रले लिने गरी सत्तारूढ दलबीच गठबन्धन बने पनि वडा तहमा तालमेल हुन सकेको छैन । कांग्रेस, माओवादी र एकीकृत समाजवादी वडा तहमा एकल प्रतिस्पर्धामा छन् । मेयर र उपमेयरको संयुक्त चुनावी कार्यक्रममा एकीकृत समाजवादीका नेताहरू देखिएका छैनन् । सत्तागठबन्धनमै रहेको जनता समाजवादी पार्टीले कविन्द्र ऐरलाई मेयरको उम्मेदवार बनाएको छ ।
वडामा तालमेल नभएको प्रभाव मेयर र उपमेयरका उम्मेदवारलाई पर्ने नगरवासीको आकलन छ । वड भने आफ्नो प्रतिस्पर्धी नै कोही नभएको दाबी गर्छन् । गठबन्धन हुनु र धनगढीमा कांग्रेसको आफ्नो संगठन पनि विगतभन्दा सुधार हुनुले सहज जित हुने उनले बताए । ‘अघिल्लो निर्वाचनमा एकल लड्दा पनि हामीले भारी मत पाएका थियौँ, अहिले गठबन्धन छ, हाम्रो संगठनमा सुधार भएको छ,’ वडले भने, ‘त्यसैले मैले प्रतिस्पर्धी नै देखेको छैन ।’
पाँच वर्षको अवधिमा मेयरको रूपमा आफूले गरेका काम पनि जित्ने आधार रहेको उनको भनाइ छ । जनताका हरेक समस्या, अप्ठेरोमा आफू सधैँ साथमा रहेकाले यसपटक पनि जनताले आफूलाई विश्वास गर्नेमा उनी विश्वस्त छन् । ‘विकास निर्माणसँगै सामाजिक कार्यहरू अगाडि बढाएको छु । धनगढी शिक्षा र स्वास्थ्यको हब बनेको छ,’ वडले भने, ‘मैले गरेका कामका आधारमा जनता मेरो साथमा छन् । गठबन्धनको जित सुनिश्चित छ ।’ विगतका निर्वाचनहरूको परिणाम हेर्दा धनगढीमा कांग्रेसको बलियो पकड छ ।
एमालेले पाँच वर्षसम्म धनगढीले विकासको मुहार फेर्न नसकेको, बरु भ्रष्टाचार बढेकाले अब विकल्प खोज्नुपर्ने विषयलाई आफ्ना चुनावी कार्यक्रममा प्रमुखताका साथ उठाइरहेको छ । मेयरका रूपमा वडले पाँच वर्षसम्म काम गर्न नसकेकाले जनताले विकल्प खोजिरहेको र त्यो विकल्प एमाले भएको मेयरका उम्मेदवार चन्द बताउँछन् । ‘पाँच वर्षमा करोडौँ खर्च भयो, तर जनताले महसुस गर्ने खालका दीर्घकालीन महत्वका एउटै योजना अघि बढेनन् । मेयरमा त्यो सोच नै देखिएन,’ उनले भने, ‘बरु अनियमितताका कैयौँ काण्ड बाहिर आए । कोरोनाको नाममा लाखौँ भ्रष्टाचार भयो । त्यसैले जनताले अब विकल्प चाहेका छन् ।’

एमालेको संगठन बलियो र एकताबद्ध
हुनु पनि आफ्नो जित्ने आधार भएको उनले बताए । गठबन्धनभित्रै विवाद रहेकाले गठबन्धनले आफ्नो जितलाई रोक्न नसक्ने उनले दाबी गरे । ‘फेलियर मेयर उम्मेदवार छन् । उनले पाँच वर्षसम्म नयाँ काम र नयाँ सोच दिन सकेनन्,’ चन्दले भने, ‘गठबन्धन स्वार्थका लागि बनेको हो । जनताले गठबन्धनलाई स्वीकार गर्दैनन् । त्यसैले धनगढीमा हाम्रो जितलाई कसैले रोक्न सक्दैन ।’
स्वतन्त्र उम्मेदवारको कडा टक्कर
धनगढीमा प्रमुख दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार हमालले कडा टक्कर दिने आकलन यहाँका स्थानीयको छ । ०७४ को निर्वाचनमा कांग्रेसका उम्मेदवार वड १४ हजार ३२४ मत ल्याएर विजयी भएका थिए । निकटतम प्रतिस्पर्धी हमालले ११ हजार ५२७ मत ल्याएका थिए । त्यतिवेला धनगढीमा माओवादीका उम्मेदवार तेस्रो र एमाले उम्मेदवार चौथो भएका थिए । विगतको परिणामका आधारमा वड र हमालबीच नै मुख्य प्रतिस्पर्धा हुने धेरैको आकलन छ ।
विकासमा धनगढी मोडेल बनाउने र भ्रष्टाचार हुन नदिने मुद्दा लिएर हमाल करिब एक महिनाअघिदेखि चुनावी अभियानमा छन् । उनले धनगढीका नागरिकको चाहनाअनुसार आफू मेयरको प्रतिस्पर्धामा उत्रिएको बताए । ‘म आफू चुनाव लडेको होइन, धनगढीका जनताको चाहनाको प्रतिनिधिका रूपमा अघि सरेको हुँ,’ उनले भने, ‘जनताको विश्वास नै मेरो जित्ने आधार हो ।’ आफू भ्रष्टाचार नगर्ने र नगरमा हुन नदिने उनको संकल्प छ ।
धनगढीको विकास आफ्नो प्रमुख एजेन्डा भएको र आफू निर्वाचित भएपछि ‘मेरो धनगढी म बनाउँछु’ अभियान सञ्चालन गर्ने हमालले बताए । ‘मतदाता सचेत भइसकेका छन् । धनगढीको विकासका लागि कसको नेतृत्वको खाँचो छ भन्ने जनताले बुझेका छन्,’ उनले भने, ‘गठबन्धन भए पनि मलाई केही फरक पर्दैन, किनकि यहाँका नागरिकले सुन्दर नगर चाहेका छन् र त्यसको प्रतिनिधिका रूपमा मलाई लिएका छन् ।’
धनगढीको मेयरमा स्वतन्त्रबाटै मदनकृष्ण भट्ट र उद्धवराज पन्तले उम्मेदवारी दिएका छन् । त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीबाट वसन्तबहादुर विश्वकर्मा, सचेत नेपाली पार्टीबाट भारती थापा र नागरिक उन्मुक्ति पार्टीबाट मीनकुमार चौधरी उम्मेदवार बनेका छन् । उपमेयरमा ६ जनाबीच प्रतिस्पर्धा हुनेछ । गठबन्धनबाट माओवादीकी शान्ति अधिकारी र एमालेबाट कन्दकुमारी राना मुख्य प्रतिस्पर्धी छन् । कांग्रेस कैलालीका पूर्वकोषाध्यक्ष प्रभाकर भण्डारीले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।