निर्यात खोल्ने चिनियाँ प्रतिबद्धता डेढ महिना बित्दा पनि कार्यान्वयन भएन

चैतमा नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्रीले उत्तरी नाकाबाट हुने नेपालको निर्यात खुलाउने प्रतिबद्धता गरे, साढे दुई वर्षदेखि रोकिएको निर्यात अझै खुलेन

सोमबार, १९ बैशाख, २०७९
डिजिटल संस्करण

गएको चैतमा तीनदिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले उत्तरतर्फका दुवै नाकाबाट आयात–निर्यात सहज रूपमा गर्न सकिने प्रबन्ध छिट्टै मिलाउने आश्वासन दिए । विदेशमन्त्रीको भ्रमणका क्रममा भएका मुख्य वार्ता र साइडलाइनर छलफलमा चिनियाँ पक्षले रसुवा र तातोपानी नाकाबाट लामो समयदेखि रोकिएको नेपालको निर्यात खुलाउने प्रतिबद्धता गरे । तर, विदेशमन्त्रीको भ्रमण सकिएको डेढ महिना हुँदा पनि निर्यात खुल्न सकेको छैन । 

सन् २०१९ को डिसेम्बरमा चीनमा कोभिड–१९ देखिएदेखि नै उत्तरी नाकाबाट हुने नेपालको व्यापार प्रभावित भएको छ । त्यसयता चिनियाँ नाका हुँदै आयात आंशिक रूपमा भए पनि निर्यात भने ठप्प नै छ । गएको चैत ११ देखि १३ गतेसम्म भएको चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपालले दुई मुलुकबीचका नाकाबाट हुने व्यापार सहजीकरण गरिनुपर्ने विषयलाई प्राथमिकताका साथ उठाएको थियो । नेपालको निकासीमा चीनले लगाएको अवरोध हटाउन नेपाली पक्षले विशेष जोड दियो । मुख्य वार्ता र साइडलाइनर छलफलमा चिनियाँ पक्षले दुवै नाकाबाट छिट्टै सहज आयात–निर्यात गर्न सकिने प्रबन्ध मिलाउने आश्वासन पनि दिएको थियो । तर, अझै निर्यात सहजीकरणको काम भने हुन सकेको छैन । चिनियाँ नाका हुँदै चैत महिनामा मात्रै तीन अर्ब ७७ करोड रुपैयाँबराबरका सामग्री नेपाल भित्रिएका छन् । तर, नेपालबाट भने निर्यात भएको छैन । 

चिनियाँ विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीबीचको वार्तामा तातोपानी र रसुवागढी नाकामा दोहोरो कार्गो आवागमन सुरु हुनुपर्ने नेपालले जोड दिएको थियो भने चीनले कोभिड प्रोटोकलका आधारमा नाका नियमित गर्न सहजीकरण गर्ने आश्वासन दिएको थियो । यसका लागि थप गृहकार्य गर्न दुवै परराष्ट्रमन्त्रीले सम्बद्ध अधिकारीलाई निर्देशन दिएका थिए । सोही भ्रमणका अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र चीनका सहायक वाणिज्यमन्त्री (सचिवस्तर) सेङ क्युपिङबीच भएको औपचारिक भेटमा पनि चिनियाँ पक्षले उत्तरी नाका सहज र पूर्ण रूपमा सञ्चालनमा आउने आश्वासन दिएका थिए । सहायकमन्त्री क्युपिङले कोभिड–१९ का कारण प्रभावित बनेका रसुवा र तातोपानी सीमानाका छिट्टै सहज बन्ने बताएका थिए ।  ‘विश्वव्यापी महामारी कोभिड–१९ को प्रभावप्रति चीन सरकार अत्यन्त संवेदनशील भएको हुँदा स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गरेका कारण रसुवा र तातोपानी नाका प्रभावित भएका हुन्,’ क्युपिङले भनेका थिए, ‘तर, हाल चीनमा समेत कोभिड–१९ को प्रभाव न्यून हुँदै गएको परिप्रेक्ष्यमा छिट्टै नै उक्त रसुवा र तातोपानी सीमानाका सहज आयात–निर्यातका लागि आवश्यक प्रबन्ध मिलाउनेछौँ ।’

 भ्रमणपछि पनि किन खुलेन निर्यात ?
उच्च तहको भ्रमणमा उठाइएको र समझदारी भएको विषय कार्यान्वयन हुने सम्भावना अधिक हुने बुझिन्छ । तर, विदेशमन्त्री तहबाट भएको प्रतिबद्धताअनुसार उत्तरी नाकाबाट निर्यात खुल्न नसक्नु दुःखद भएको सरोकारवाला बताउँछन् । ‘हामीले चिनियाँ विदेशमन्त्रीको भ्रमणको एक–डेढ सातापछि नेपालको निर्यात खुल्ने अपेक्षा गरेका थियौँ, सोहीअनुसार निर्यातको पहलका लागि मन्त्रालयमा समेत कुरा गरेका थियौँ,’ एक व्यापारीले भने, ‘तर, डेढ महिना पुग्नै लाग्दासमेत उत्तरी नाकाबाट हुने व्यापार सहज भएको छैन, आयात सुस्त छ, निर्यात ठप्प छ ।’ नेपाल सरकारले प्रभावकारी रूपमा चीनसँग कूटनीतिक तथा राजनीतिक संवाद नगर्दा निर्यात नखुलेको व्यवसायीहरू बताउँछन् । ‘निर्यात खुलाउने मामिलामा चीनले छिमेकीको व्यवहार देखाएको छैन,’ अर्का एक व्यापारीले भने, ‘सरकारले पनि जुट स्ट्रेस दिएर नाका सहजीकरण गर्नुपर्ने हो, त्यसो गर्न सकेको छैन ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणपछि पनि निकासी खुलाउने सम्बन्धमा औपचारिक एवं अनौपचारिक छलफलहरू भएको बताए । यद्यपि, निर्यात भने अझै खुल्न नसकेको उनले स्विकारे । ‘हालै चीनका विदेशमन्त्रीले नेपाल भ्रमणका क्रममा नाकाबाट हुने निर्यात खुलाउन पहल गर्ने प्रतिबद्धता गर्नुभएको थियो । त्यसपछि पनि हामीले निरन्तर औपचारिक एवं अनौपचारिक पहल गरिरहेका छौँ, तर सफलता हात पार्न सकेका छैनौँ,’ उनले भने, ‘निर्यात खुलाउन कूटनीतिक, राजनीतिक एवं व्यावसायिक रूपमा पहल गरिरहेका छौँ । उहाँहरूले कोभिडकै कारण देखाएर निर्यात रोक्नुभएको छ, तर छिट्टै खुलाउने प्रतिबद्धता भने दिई नै रहनुभएको छ ।’ मन्त्रालयले आफ्नो तहबाट गर्न सक्ने पहल गरिरहेको भए पनि अहिलेसम्म निर्यात खुल्न नसकेको उनले बताए । 

 ३१ अर्बको आयात, निर्यात शून्य
चालू आर्थिक वर्षको नौ महिनामा नेपालले चिनियाँ नाका रसुवा र तातोपानी हुँदै ३१ अर्ब ३० करोड रुपैयाँबराबरका वस्तु आयात गरेको छ । तर, यस अवधिमा चिनियाँ नाका हुँदै चीन र विश्व बजारमा नेपालले एक रुपैयाँको पनि निर्यात गर्न सकेको छैन । चैत मसान्तसम्ममा रसुवा नाका हुँदै नेपालमा २१ अर्ब एक करोड रुपैयाँबराबरका सामग्री भित्रिएका छन् । त्यस्तै, तातोपानी नाका हुँदै १० अर्ब २९ करोड रुपैयाँबराबरका सामग्री भित्रिएका छन् । तर, दुवै नाकाबाट निर्यात भने भएको छैन । नेपालले चीनसँग नौ महिनामै सवा दुई खर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । चालू आर्थिक वर्षको नौ महिना (चैत मसान्त)सम्ममा नेपालले चीनबाट दुई खर्ब १० अर्ब ४८ करोड रुपैयाँबराबरका सामग्री आयात गरेको छ । तर, निर्यात भने ६२ करोड २८ लाख रुपैयाँबराबरको मात्रै गर्न सकेको छ । नेपालले हवाईमार्ग र भारत हुँदै सामुद्रिक मार्गबाट मात्रै निर्यात गर्न पाएको छ । 

उत्तरी नाकाबाट निर्यात खुलाउन सफल भएनौँ

डा. गणेशप्रसाद पाण्डेय, सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

उत्तरी नाकाबाट निर्यात नभएको निकै लामो समय भइसकेको छ । यसबीचमा निर्यात खुलाउन निरन्तर छलफल, वार्तालगायत प्रयास भइरहेका छन् । हालै चीनका विदेशमन्त्रीले नेपाल भ्रमणका क्रममा नाकाबाट हुने निर्यात खुलाउन पहल गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।

त्यसपछि पनि हामीले निरन्तर औपचारिक एवं अनौपचारिक पहल गरिरहेका छौँ, तर सफलता हात पार्न सकेका छैनौँ । निर्यात खुलाउन कूटनीतिक, राजनीतिक एवं व्यावसायिक रूपमा पहल गरिरहेका छौँ ।

उहाँहरूले कोभिडकै कारण देखाएर निर्यात रोक्नुभएको छ, तर छिट्टै खुलाउने प्रतिबद्धता भने दिई नै रहनुभएको छ । हामीले छिटो निर्यात खुलाउन पत्राचार गरेका छौँ, एम्बेसीमार्फत समेत आग्रह गरिरहेकै छौँ । हामीले गर्न सक्ने पहल गरिरहेका छौँ, तर निर्यात खुल्न सकेको छैन ।

सुझावित समाचार