सप्तरीको बोदे बरसाइन नगरपालिकाकी पुनिताकुमारी साहले २१ वर्षको उमेरमै उपमेयरमा उम्मेदवारी दिएकी छिन् । साहले नेपाली कांग्रेसबाट नगरपालिकाको उपमेयरका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।०५७ मंसिर १० गते जन्मेकी उनको उमेर वैशाख ३० गते २१ वर्ष पाँच महिना २० दिन हुनेछ । सप्तरीका १८ वटा स्थानीय तहमा दुई सय चार प्रमुख, एक सय ४९ उपप्रमुखसहित वडाध्यक्ष र वडासदस्य गरी कुल पाँच हजार पाँच सय ९४ जनाले मनोनयनपत्र दर्ता गराएकोमा उपमेयर पदमा उनी नै सबैभन्दा कान्छी उम्मेदवार हुन् ।
बिबिएस दोस्रो वर्षमा पढ्दै गरेकी पुनिताले आफू उपमेयरमा विजयी भए कृषिको स्तरीकरण, शिक्षाको स्तर वृद्धि, नगरपालिकामा कर्मचारी प्रशासन व्यवस्थित गर्नेजस्ता कार्य प्राथमिकता साथ अघि बढाउने आफ्नो योजना रहेको बताएकी छिन् । नगरमा वारुणयन्त्र, मनोरञ्जनका लागि फनपार्कलगायत व्यवस्था गर्ने योजना रहेको उनले बताइन् । उनले निर्वाचनमा विजयी भएको अवस्थामा नगरवासीका लागि एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने सोच रहेको बताइन् ।
युवा पुस्तालाई नेतृत्व दिनुपर्ने भन्ने विषय पार्टीमा उठ्ने गरेको सन्दर्भमा आफूलाई २१ वर्षमै पार्टीले उम्मेदवार बनाएकोमा गौरव लागेको पुनिताको भनाइ छ ।