आउँदै छन् यी उपकरण जसले मान्छेको दैनिकी अझै सहज बनाउनेछन्

आइतबार, १८ बैशाख, २०७९
डिजिटल संस्करण

प्रविधि क्षेत्रमा हुने परिष्कारले पूर्ववर्ती उपकरणलाई विस्थापित गराइदिन्छ । मोबाइल फोन पहिलो किप्याडयुक्त हुन्थे । टचस्क्रिनको आगमनपछि किप्याडयुक्त मोबाइल लगभग विस्थापित भयो । आज जन्मिएका पुस्ताले अब किप्याडयुक्त मोबाइलबारे खोजेर मात्र थाहा पाउनेछन् । आज हामीले दैनिक रूपमा प्रयोग गर्ने धेरै उपकरणको परिष्कार संस्करणबारे अनुसन्धान भइरहेको छ । भोलिका दिनमा ती परिष्कार संस्करण सार्वजनिक भएपछि सुरुमा केही अनौठो लाग्छ, तर प्रभावकारी ठहरिए हाम्रो जीवनको अंश बन्छ ।

बिस्तारै हामी यी नयाँ उपकरणलाई पहिलेको भन्दा सहज पाउन थाल्छौँ । जस्तो भोलिका दिनमा आफैँ सफा हुने कपडा र हरेक क्षेत्रमा प्रयोग हुने रोबोटबारे कल्पना गर्न अलि गाह्रै हुन्छ । तर, मानिसको स्वभाव सधैँ परिष्कार गर्दै अगाडि बढ्ने हुन्छ । आज असम्भव लाग्ने वा सोचमै नआएका प्रविधि भोलि जीवनको हिस्सा हुने निश्चित छ । यहाँ निकट भविष्यमा हाम्रो जीवनको हिस्सा हुन सक्ने र आज प्रयोग गरिरहेका धेरै सामानलाई विस्थापित गर्ने सात प्रविधिको चर्चा गरिएको छ ः

आफैँ सफा हुने कपडा
भविष्यमा धुन भुइँमा राखिएको कपडाको थुप्रो नदेखिन सक्छ । अस्ट्रेलियाका वैज्ञानिकहरूले आफैँ सफा हुने धागो आविष्कार गरेका छन् । ती धागोमा न्यानोस्ट्रक्चर (अति सूक्ष्म संरचना) प्रयोग भएका छन् । जसमा प्रकाश पर्दा फोहोर र दागहरू हट्छन् । यी धागोबाट बनेका कपडामा अब कुनै दाग लाग्ला भन्ने डर हुँदैन । कपडामा कफी परोस् वा मसी, बस घरको बिजुली बल्बअगाडि दाग लागेको भागलाई सेकायो, दाग गायब !

आफैँ बिजुली उत्पादन गर्ने झ्याल 
वैज्ञानिकहरूले इन्फ्रारेड विकिरणलाई नियन्त्रण गर्न सक्ने सामग्री निर्माण गरेका छन् । यो सामग्री राखिएको झ्याल भएको घरमा एयर कन्डिसनरको आवश्यकता नै पर्दैन । साथमा यसले सूर्यको तापलाई बिजुलीमा बदलेर घरको केही ऊर्जा आवश्यकतालाई पूरा गर्न सघाउँछ । यो सामग्रीको प्रयोगपछि झ्यालसमेत बहुउपयोगमा आउनेछ । 

दृष्टिविहीनलाई गाइड गर्ने रोबोटिक कुकुर
रोबोटिक कुकुरमा अनुसन्धान गरिरहेका अन्वेषकहरूले एक भिडियो सार्वजनिक गर्दै  रोबोटले दृष्टिविहीनलाई कसरी मद्दत गर्न सक्छ भन्ने देखाएका छन् । यसको घाँटीमा एउटा डोरीजस्तो सामग्री बाँधिनेछ, जसले कन्ट्रोलर(नियन्त्रक)को काम गर्छ । यसमा हिँड्डुल गर्दा अगाडि आउने अवरोध चिन्न सक्छ । अगाडि कुनै अवरोध आए सेन्सर जोडिएको डोरीजस्तो सामग्रीमार्फत दृष्टिविहीन मालिकलाई सचेत गराउँछ । रोबोटलाई मार्गदर्शन गर्ने प्रविधि अझै पनि विकासको प्रारम्भिक चरण अर्थात् प्रोटोटाइप चरणमा छ । जब यो परिपक्व हुनेछ, तब रोबोटिक कुकुरहरू थप उन्नत र सहज हुनेछन् । 

नर्सलाई काममा सघाउने रोबोट
अहिले अस्पतालहरूमा उपयोग हुने एआई रोबोटमाथि थप अनुसन्धान भइरहेको छ । यी रोबटले नर्सहरूको काममा सघाउने विज्ञहरूले बताएका छन् । यी रोबटको प्रयोगपछि नर्सले शिक्षण तथा कुलतमा परेका बिरामीको उपचारमा समय छुट्याउन सक्छन् । यसले गर्दा अस्पतालको सेवा थप प्रभावकारी हुनेछ । 

नेलपोलिस गरिदिने रोबोट
नङ पोलिस गर्ने काम त्यति गाह्रो काम होइन । विशेषतः तब, जब तपाईंको काममा सक्रिय हुने हातमा लागाउनुपर्ने हुन्छ, त्यस अवस्थाका लागि रोबोटिक नेल पेन्टिङ उपकरण काम आउँछन् । यस्ता खालका उपकरण बजारमै आइसकेका छन् । यसको एउटा राम्रो उदाहरण निम्बल हो । निम्बललाई नङ पोलिस गर्ने प्रक्रिया सरल बनाउने गरी निर्माण गरिएको छ । तथापि, निम्बलले नङ पोलिसलाई सजिलो मात्र बनाइदिन्छ, मानव हातमा सही र सटिक रूपमा पोलिस गर्न सक्ने कुनै व्यावसायिक उपकरण अहिलेसम्म निर्माण भएको छैन ।

बारकोड स्क्यान गरिदिने ढोका
भविष्यमा किराना पसल वा डिपार्टमेन्ट स्टोरमा हुने स्वचालित प्रणाली ग्राहकको कुन सामग्री कहिले सकिएको छ भनेर बताउन सक्षम हुन सक्छ । त्यस अवस्थामा मानिसहरू सामान्य किराना पसलको लाइनमा उभिरहनुपर्ने झन्झट अन्त्य हुनेछ । अझ रमाइलो, ग्राहकले पसलबाट सामान उठाएर बाहिरिँदा ढोकामा रहेका बारकोड रिडरले सामानको मूल्य पढेर ग्राहकको बैंक खाताबाट अनलाइन नै पैसा काट्नेछन् ।

ओगुमेन्टेड रियालिटबाट दिशा देखिनेछ
आजकल कतै नयाँ ठाउँमा बाटो पहिल्याउन होस् वा बाटो भुलिएको अवस्थामा, बाटो पहिल्याउन गुगल म्यापको प्रयोग सामान्य भइसक्यो । भविष्यमा यो अनलाइन नक्सा खोज्ने प्रविधिमा थप परिष्कार हुन सक्छ । यसलाई ओगुमेन्टेड रियालिट(एआर)ले सघाउनेछ । ओगुमेन्टेड रियालिट र कम्प्युटर भिजनको प्रयोगमार्फत एआर भोलिका दिनमा कारको आगाडिको सिसामा चोकको नाम, टोलको नाम साँच्चै बाटोमै लेखिएजसरी देखिनेछ । – एजेन्सी

See More On

सुझावित समाचार