पाँचदलीय सत्तागठबन्धनले उम्मेदवारी फिर्तासम्म आउँदा मूलतः तालमेल सफल भएको र केही समस्या रहेका ठाउँमा सहमति कार्यान्वयनका लागि थप रणनीति बनाउने भएको छ । उम्मेदवारी फिर्तापछि समीक्षाका लागि शनिबार बसेको गठबन्धनको बैठकले सैद्धान्तिक रूपमा तालमेल सफल भएको र अव व्यावहारिक परीक्षण सुरु भएको निष्कर्ष निकालेको छ ।
गठबन्धन दलका शीर्ष नेताले उम्मेदवारी फिर्तापछिको समीक्षा गर्दै निर्वाचनको थप तयारीबारे छलफल सुरु गरेका हुन् । सहमतिअनुसार धेरै मात्रामा उम्मेदवारी फिर्ता भएको निष्कर्षसहित केही स्थानमा रहेको जटिलता अन्त्यबारे नेताहरूले तयारी थालेका छन् । केन्द्रबाट सिट बाँडफाँट भएका ६ महानगर र ११ उपमहानगरमध्ये केहीमा बागी उम्मेदवारी परेपछि शीर्ष नेतृत्व दबाबमा छ ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले उम्मेदवारी फिर्तासम्म आइपुग्दा गठबन्धन सफलतातर्फउन्मुख भएको बताए । ‘उम्मेदवारी फिर्तासम्म आइपुग्दा गठबन्धन सफल नै छ । कतिपय स्थानमा समझदारीअनुसार नगर्नुपर्ने स्थानमा मनोनयन परे, धेरै स्थानमा फिर्ता भएका छन्, केही फिर्ता भएनन्,’ उनले भने, ‘उम्मेदवारीको समग्र अवस्थाबारे विवरण संकलन गरिरहेका छौँ । समग्रमा तालमेल राम्रै भएको छ ।’

प्रवक्ता डा. महतले कतिपय स्थानमा कांग्रेसको जनाधार राम्रो भएका स्थानमा पनि गठबन्धनका अन्य दलबाट दाबी रहँदा सुरुमा समस्या भए पनि कांग्रेसले उदारता देखाउँदा सहज भएको बताए । ‘कांग्रेसले ठूलो र नेतृत्व गरिरहेको पार्टी भएको हिसाबले यसमा उदारता देखायो । यसबारे पार्टीमा केही गुनासो रहे,’ उनले भने, ‘तर, बृहत्तर हितका लागि कम्प्रमाइज गर्यौँ ।’
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन सफलतातर्फ अगाडि बढेको र परिणाम दलहरूको नैतिकतामा भर पर्ने बताए । ‘गठबन्धन जे प्रयोजनका लागि भएको थियो, त्यो उद्देश्यका हिसाबमा सफलतातर्फ नै छ,’ उनले भने, ‘तालमेलका क्रममा कतिपय स्थानमा दलहरूबीच आफ्नो स्वार्र्थ मात्रै हेर्ने अवस्था पनि देखियो । परिणाम ल्याउन त दलहरूको नैतिकताले महत्वपूर्ण भूमिका खेल्छ ।’
एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले सैद्धान्तिक रूपमा गठबन्धन सफल भएको र व्यावहारिक जटिलता कायमै रहेको बताए । ‘उम्मेदवारी फिर्तासम्म हेर्दा सैद्धान्तिक रूपमा गठबन्धन सफल भएको छ । तर, व्यावहारिक जटिलता कायमै छ,’ उनले भने, ‘यसले स्थानीय निर्वाचनमा गठबन्धन निकै जटिल रहेछ भन्ने देखाएको छ । आमरूपमा हामी ठिकै ठाउँमा छौँ ।’
उनले तालमेललाई लिएर अझै समीक्षाको खाँचो रहेको बताए । ‘राजनीतिक अहम् र विकल्पमा अर्को आउन नसकोस् भन्ने कारणले गठबन्धनको धेरै काममा बाधा पु¥याएको छ, गम्भीरतम् समीक्षा गर्ने ठाउँमा आइपुगेका छौँ,’ उनले भने ।
गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेलले शनिबारको बैठकमा उम्मेदवारी फिर्तापछि थप तयारीबारे अनौपचारिक छलफल भएको बताए । ‘बैठकमा उम्मेदवारी फिर्तापछि गठबन्धनको अवस्थाबारे छलफल भयो, कुनै ठोस निर्णय भएको छैन,’ पौडेलले भने, ‘आइतबार संयन्त्रको बैठक बस्दै छ, त्यहाँ पनि यसको समीक्षा हुन्छ ।’
सहभागी एक नेताका अनुसार सहमतिअनुसार उम्मेदवारी फिर्ता हुन नसकेका स्थानमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल केन्द्रित थियो । ‘उम्मेदवारी कहाँ–कहाँ फिर्ता भए र कहाँ–कहाँ बाँकी रहे तथा ती स्थानमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको हो,’ ती नेताले भने, ‘समझदारी त भइसकेको छ, तर प्राविधिक कारणले फिर्ता हुन नसकेका विषयमा नेताहरूबीच छलफल भयो ।’
आइतबार पौडेल नेतृत्वको संयन्त्रको बैठकपछि शीर्ष तहमा छलफल छलफल गर्ने तयारी छ । निर्वाचन आयोगले शुक्रबार उम्मेदवारी मनोनयन फिर्ताका लागि समय दिएको थियो । तर, गठबन्धन दलबाट निवेदन ढिला पुग्दा कतिपय स्थानमा उम्मेदवारी फिर्ता हुन सकेको छैन ।
कांग्रेस सचिव केशव रिजालले कांग्रेसका तर्फबाट उम्मेदवारी फिर्ताका लागि दिइएका अधिकांश निवेदन फिर्ता भएको जानकारी दिए । ‘करिब सयभन्दा बढी पत्रमार्फत कांग्रेसले उम्मेदवारी फिर्ताका लागि अनुरोध गरेको थियो । केही स्थानमा बाहेक अधिकांश स्थानमा फिर्ता भइसकेको छ । केही स्थानमा निवेदन ढिला पुग्दा फिर्ता हुन नसकेको भन्ने छ, त्यसमा पनि आयोगले निर्णय गर्न बाँकी नै छ ।’