विराटनगर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का बागी उम्मेदवारले गठबन्धन गरेका छन्। जसपा परित्याग गरी विराटनगर महानगरपालिकाको प्रमख पदमा उम्मेदवारी दिएका उमेश यादव र माओवादी केन्द्र विराटनगर महानगर सचिवसमेत रहेकी नमिता न्यौपानेले गठबन्धन गरेका हुन्।
दुवै स्वतन्त्र उम्मेदवारले एउटै चिह्नबाट चुनावी प्रतिस्पर्धा गर्ने सहमतिअनुसार निर्वाचन कार्यालयबाट लालटिन चिह्न रोजेका छन्। जसपाका बागी उम्मेदवार यादवले पार्टी परित्याग गरी विराटनरको प्रमुख पदमा उम्मेदवारी दिएका थिए। यता, न्यौपानेले गठबन्धनबाट समावेशी सिद्धान्तलाई लागू नगरेको भन्दै पार्टीको कारबाही बेवास्ता गरी स्वतन्त्रबाट उपप्रमुखमा उम्मेदवारी दर्ता गराएकी थिइन्। पार्टीबाट चरम दबाब आए पनि उम्मेदवारी फिर्ता नलिएका उनीहरूले एउटै चुनाव चिह्न लिएका हुन्।
विराटनगर महानगरमा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला प्रमुख पदमा र जसपाबाट उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। यहाँ एमालेबाट सागर थापा प्रमुख र उपमेयरमा शिल्पा कार्की उपप्रमुख पदका उम्मेदवार छन्। तर, उपमेयर पदकी कार्कीको उम्मेदवारी लाभको पदको किर्ते राजीनामाले विवादमा परेको छ।