पूर्व एसएसपीको घरबाट १६ तोला सुन चोरी

शनिबार, १७ बैशाख, २०७९
डिजिटल संस्करण

अवकाशप्राप्त उच्च प्रहरी अधिकारीको घरमा चोरी भएको छ । सशस्त्र प्रहरी बलका पूर्व एसएसपी दीपक थापाको कागेश्वरी मनहरा– ६ मुलपानी, राधाकृष्ण मार्गस्थित घरमा बिहीबार दिउँसो चोरी भएको हो । 

थापाकाे घरबाट १६ तोला सुनका गहना तथा ६० हजार रुपैयाँ नगद चोरी भएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको अवस्थामा मुल ढोकाको ताल्चा फुटाएर  सुनका गरगहना र नगद चोरी भएको हो । थापाले सो घर बिक्रिको विज्ञापन राखेका थिए । जसअनुसार घर हेर्न भनेर विभिन्न समूह पुग्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । केही दिनदेखि निगरानी गरेर योजनाबद्ध रुपमा चोरी भएको प्रहरी आशंका छ ।

स्थानीय प्रहरीसहित काठमाडौं उपत्यका अनुसन्धान कार्यालयलेसमेत घटनाको अनुसन्धान थालेको छ । केही दिनयता उपत्यकामा चोरीका घटना बढेका छन् । चक्रपथको बाहिरी क्षेत्रका बस्तीहरुमा दिउँसोको चोरी बढेको प्रहरी अधिकारीहरु बताउँछन् । गत फागुनमा कैद माफी पाएर जेलबाट छुटेका कैदीहरुसमेत यसमा सक्रिय भएको प्रहरी आशंका छ । विगतमा पक्राउ परी छुटेकाहरु हालैका केही घटनामा संलग्न भएको पुष्टि भइसकेको छ ।
 

सुझावित समाचार