आसन्न स्थानीय तह निर्वाचनमा बाग्लुङ नगरपालिकामा एकाघरका दुईजनाले मेयर र उपमेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । नेकपा मालेबाट मेयरमा उम्मेदवारी दर्ता गराएकी मञ्जु क्षेत्री र स्वतन्त्रबाट उपमेयरमा उम्मेदवार दिएकी ताराकुमारी रिजाल नाताले देउरानी–जेठानी हुन् । मञ्जु देउरानी हुन् भने तारा जेठानी हुन् । बाग्लुङ नगरपालिका– १३ पैयुँपाटा घर भएका दुवैजनाले स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयरमा उम्मेदवारी दिएका हुन् ।
क्षेत्री नेकपा मालेकी केन्द्रीय सदस्य हुन् भने रिजाल जनता पार्टीकी केन्द्रीय अध्यक्ष तिलकबहादुर रिजालकी धर्मपत्नी हुन् । रिजालले स्वतन्त्रबाट उपमेयरमा उम्मेदवारी दिएकी हुन् । उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकी रिजाललाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र जनता पार्टीको समर्थन रहेको जनता पार्टीका अध्यक्ष रिजालले जानकारी दिए ।