सत्तासाझेदार पाँचदलीय गठबन्धनले सहमतिविपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारी तत्काल फिर्ता लिने निर्णय गरेको छ। आज शुक्रबार बसेको गठबन्धनको बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा सहमतिविपरीत परेका उम्मेदवारी फिर्ता लिने निर्णय गरेको हो।
बैठकले पाँचदलीय गठबन्धनबाहिरका दलसँग भएका तालमेल तत्काल खारेज गर्ने र खारेज नगरे सम्बन्धित दलले ती उम्मेदवारलाई तत्काल कारबाही गर्ने निर्णय गरेको गठबन्धन दलद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा उल्लेख छ। निर्वाचन आयोगको निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ ।
