काठमाडौंमा सुशासन कायम गर्नेदेखि सिर्जनशील महानगरसम्मको प्रतिबद्धता
काठमाडौं महानगरपालिकामा सत्तागठबन्धनका तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले सात ‘स’को संकल्प प्रस्तुत गरेकी छिन् । सिंहले आफू मेयर भएपछि गर्ने सात संकल्प सार्वजनिक गरेकी हुन् ।
उनका संकल्पमा सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा, दिगो पर्यावरण, सुरक्षित सहर, संस्कृति, सम्पदा र सभ्यता, सबल र समुन्नत पूर्वाधार, सबल युवा, स्वावलम्बी महिला, सिर्जनशील महानगरवासीलगायतका विषय छन् ।
संकल्प सार्वजनिक गर्दै सिंहले सबैका लागि काम गर्ने बताइन् । ‘पिएल सिंहपछि बनेका मेयरबाट काठमाडौं महानगरपालिकाको स्वरूपमा कुनै परिवर्तन आएको छैन । म त्यसमा परिवर्तन गर्न चाहन्छु । काठमाडौंलाई हिँड्नयोग्य सहर बनाउँछु । सबैलाई सहज रूपमा हिँड्नयोग्य बनाउँछु । सडक जाममुक्त बनाउन पहल गर्छु । खाल्डाखुल्डी हुन दिनेछैन । सुशासनमा जोड दिन्छु,’ उनले भनिन्, ‘महानगरभित्र भ्रष्टाचारमुक्त सेवा दिन्छु । महिलाको आर्थिक–सामाजिक स्थिति बुझेकी छु । विपन्न वर्गका महिला दिदी–बहिनीको श्रमको सम्मान गर्दै विशेष राहत प्याकेज ल्याउनेछु । मलाई गरेको विश्वासलाई खेर जान दिनेछैन ।’
कार्यक्रममा महामन्त्री गगन थापाले सिंहलाई उम्मेदवार बनाउने क्रममा पार्टीमा लामो छलफल भएको बताए । ‘सिंहलाई उम्मेदवार बनाउने क्रममा पार्टीका लामो छलफल भयो । त्यसक्रममा कसैको बुहारी र श्रीमती भएको कारण हक छिन्नुहुन्न भन्ने आवाज मैले उठाएको थिएँ,’ महामन्त्री थापाको भनाइ थियो, ‘अघिल्लोपटक सूर्यमा भोट हालेका महिलाले पनि एकपटक सोच्नुहोला । जनताका सानातिना समस्यालाई महसुस गर्ने मेयर तपाईंहरूले पाउनुहुनेछ ।’
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले पृष्ठभूमिसहितको महिलालाई महानगरको मेयर बनाएको बताए । ‘अहिले महिलालाई अवसर दिँदा नजिताए, अवसर दिँदा पनि किन नजिताएको भन्ने पछुतो लाग्नेछ,’ उनले भने, ‘काठमाडौं महानगरपालिकाको उम्मेदवारको विषयमा कुनै विवाद छैन । अवसर गुम्न नदिऊँ ।’
यस्ता छन् सिंहका सात संकल्प
१. सेवा र सुशासन : महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही चलाउने । भ्रष्टाचारमुक्त, चुस्त सेवा–प्रवाह गर्ने उत्कृष्ट पालिकाको रूपमा काठमाडौं महानगरलाई स्थापित गर्ने । संघीय सरकार, प्रदेश सरकार, अन्य पालिका, निजी क्षेत्र, गैरसरकारी संघसंस्था र समुदायसँग साझेदारी गर्दै महानगरको लक्ष्य प्राप्तिका लागि काम गर्ने ।
२. स्वास्थ्य, शिक्षा, तथा सामाजिक सुरक्षा : शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचयुक्त बनाउने । महानगरीय स्वास्थ्य प्रणालीको विकास गरी सबै वडाहरूमा रोकथाम, परीक्षण, उपचार र पुनर्स्थापनासहितको ‘सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र’को स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पताल सञ्चालन गर्ने । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अतिविपन्नलगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने ।
३. स्वच्छ, सफा, दिगो पर्यावरण : काठमाडौं महानगरलाई फोहोरशून्य (जिरो वेस्ट) नगरपालिका बनाउने । पिउनयोग्य पानी, सास फेर्नयोग्य हावाका लागि आवश्यक कानुनी, संस्थागत र संरचनागत व्यवस्था गर्ने । सार्वजनिक, खुला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, बहाः, फल्चाः आदिको संरक्षण, पुनर्स्थापना तथा विस्तार गर्ने ।
४. सुरक्षित सहर : महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिँडडुल गर्न सक्ने सहरको निर्माण गर्ने, विपत् थेग्न सक्ने क्षमतायुक्त सहरको निर्माणका लागि काम गर्ने ।
५. संस्कृति, सम्पदा र सभ्यता : मौलिक ज्ञान, भाषा, जात्रा, बाजागाजा, चाडपर्व, मेला, ग्रन्थ, पेसालाई समुदायको अपनत्व र संलग्नतामा संवर्द्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसँग जोड्ने, गुठी प्रणालीको प्रवद्र्धन, संरक्षण गर्दै दिगो विकासका लागि प्रतिबद्ध रही कार्य गर्ने ।
६. सबल र समुन्नत पूर्वाधार : सहज रूपमा हिँडडुल गर्ने पूर्वाधारको निर्माण गरी पैदलयात्रीकेन्द्रित सहरका रूपमा महानगरलाई विकास गर्ने, महानगर क्षेत्रभित्र सबैखालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्ने, महानगरको कार्यक्षेत्रभित्र पर्ने सम्पूर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रूपमा समयमै सम्पन्न गर्ने तथा मर्मत–सम्भारका लागि अविलम्ब कार्य गर्न सक्ने गरी संस्थागत क्षमताको विकास गर्ने ।
७. सबल युवा, स्वावलम्बी महिला, सिर्जनशील महानगरवासी : युवाका लागि अवसर, महिलाको सशक्तीकरण र सम्पूर्ण महानगरवासीको सिर्जनशीलता अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी लिने, उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्ने ।
पोखरामा पाँच सेटलाइट टाउन, तीन हजारलाई रोजगारीदेखि मेट्रो रेल सञ्चालनसम्मका प्रतिबद्धता
पाँचदलीय गठबन्धनले पोखरा महानगरपालिकाको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार पोखरामा एक कार्यक्रम गरी गठबन्धनले घोषणा सार्वजनिक गरेको हो । ‘समुन्नत पोखराको आधार : सबल अर्थतन्त्र र पूर्वाधार’ मुख्य नारा रहेको घोषणापत्रमा तीन हजारलाई रोजगारी दिने, फेवा–बेगनास कनेक्टिभिटीका लागि १० किलोमिटर मेट्रो रेल बनाउने उल्लेख छ ।
कार्यक्रममा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्य, उपमेयरकी उम्मेदवार कांग्रेसकी कोपिला रानाभाट, गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दकुमार थापा, कांग्रेस नेताहरू यज्ञबहादुर थापा, बिन्दादेवी रानामगर, सुरेन्द्र बिजुक्छे, गुरु बराल, माओवादी नेताहरू दीपक कोइराला, बखानसिंह तमुलगायतले संयुक्त रूपमा घोषणापत्र सार्वजनिक गरे ।
- पाँच वर्ष पोखरा महानगरको नेतृत्व गर्न पाए गरिबीको रेखामुनिको जनसंख्या नरहने, ५० प्रतिशत नगरवासी मध्यमवर्ग र बाँकी ५० प्रतिशत उच्चमध्यम र धनी वर्गमा पुर्याउने
- शिक्षित, सभ्य र सुरक्षित महानगर, स्वस्थ र सन्तुलित पर्यावरण, सुशासन र जवाफदेही सरकारमा जोड
- ६ महिनासम्म मासिक दुई हजार रुपैयाँका दरले सुत्केरी पोषणभत्ता, प्रत्येक वडामा ज्येष्ठ नागरिक स्याहार केन्द्र, मेट्रो अस्पताल, जडीबुटी प्रशोधन केन्द्र स्थापना
- पाँच सेटलाइट टाउन, महानगरीय चक्रपथ, व्यस्त सडक तथा चोकमा आकासे पुल, अन्डरपास र बाइपास तथा अन्तर्राष्ट्रिय सभाहल निर्माण गरिने
- तालहरूलाई जोड्ने साइकल लेन, लामेआहालको निर्माणाधीन क्षेत्रीय बसपार्कदेखि लेकसाइडसम्म इलेक्ट्रिक ट्रेन चलाइने
- कृषि क्षेत्रमा खपत हुने बिजुलीको महसुलमा ५० प्रतिशत छुट, उत्पादनमा आत्मनिर्भरता, सामूहिक खेती प्रणाली तथा चक्लाबन्दीमा अनुदानको व्यवस्था, बिउ बैंक स्थापना र कृषक परिचयपत्र वितरण
गठबन्धनले पोखरा महानगरमा पाँचदलीय गठबन्धन सरकारलाई जोड दिँदै शिक्षित, सभ्य तथा मर्यादित महानगरवासी, सुरक्षित र न्यायपूर्ण समाज, स्वास्थ्य र सन्तुलित पर्यावरण, सुशासन र जवाफदेहिता, स्रोतको समुचित व्यवस्थापन र प्रविधिमैत्री सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखेको छ । गुणस्तरीय र निःशुल्क सार्वजनिक शिक्षाको व्यवस्थापन गर्ने, परिपूरक निजी शिक्षाको अवधारणा अवलम्बन गर्ने, महानगरस्तरको व्यावसायिक शिक्षालय, खेलकुद एकेडेमी र आइसिटी एकेडेमी स्थापना गर्ने गठबन्धनको घोषणापत्रमा उल्लेख छ । सामुदायिक शिक्षालाई प्रभावकारी बनाउन प्रत्येक वडामा तीन महानगर स्वयंसेवी शिक्षक÷शिक्षिकाको व्यवस्था गर्ने पनि उल्लेख छ ।
महानगरवासीको स्वास्थ्यलाई पनि गठबन्धनले प्राथमिकता दिएको देखिन्छ । मातृशिशु स्वास्थ्य प्रवद्र्घन गर्न ६ महिनासम्म मासिक दुई हजार रुपैयाँका दरले सुत्केरी पोषणभत्ता, प्रत्येक वडामा ज्येष्ठ नागरिक स्याहार केन्द्र, बालबालिका पोषण, प्रजनन स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श केन्द्र स्थापना, महानगरीय आरोग्य धाम सञ्चालन प्राथमिकतामा छन् । यस्तै, मेट्रो अस्पताल, पर्यटक स्वास्थ्य सेवा, विद्यालय स्वास्थ्य सेवा कार्यक्रम, जडीबुटी प्रशोधन केन्द्र स्थापना, सहरी स्वास्थ्य प्रवद्र्घन केन्द्रहरूलाई महत्वपूर्ण अस्पतालहरूसँग समन्वय गरी सरुवा रोग नियन्त्रणमा विशेष पहल गर्ने घोषणापत्रमा उल्लेख छ ।
गठबन्धनले मानव संसाधन विकास केन्द्र स्थापना गर्ने, विप्रेषण सदुपयोग कार्यक्रम तथा सक्षम पोखरा परियोजना र महानगर स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखेको छ ।
ग्रेटर पोखराको अवधारणालाई बल पुर्याइने
ग्रेटर पोखराको अवधारणासँग तालमेल मिल्ने गरी पाँच सेटलाइट टाउन निर्माण गर्ने महत्वाकांक्षी योजना पनि घोषणापत्रमा समेटिएको छ । महानगरीय चक्रपथ निर्माण, व्यस्त सडक तथा चोकमा आवश्यकताअनुसार आकासे पुल तथा अन्डरपास र बाइपास निर्माण, अन्तर्राष्ट्रिय सभाहल निर्माण प्राथमिकतामा छन् ।
अटोमेटिक ट्राफिक सिग्नलको व्यवस्था, तालहरूलाई जोड्ने साइकल लेन, महानगरको प्रवेशद्वार मानिने लामेआहालको निर्माणाधीन क्षेत्रीय बसपार्कदेखि पर्यटकीय क्षेत्र लेकसाइडसम्म सडकको दायाँ–बायाँ इलेक्ट्रिक ट्रेन सञ्चालन गर्ने, सिटी बसपार्क, ल्यान्डफिल्ड साइट व्यवस्थापन गर्ने घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रमा गठबन्धनले कृषि क्षेत्रमा खपत हुने बिजुलीको महसुलमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । आफ्ना उम्मेदवार विजयी भए हाम्रो उत्पादन हाम्रो गौरव कार्यक्रम सञ्चालन गर्ने, सामूहिक खेती प्रणाली तथा चक्लाबन्दीमा अनुदान दिने, बिउ बैंक स्थापना गर्ने र कृषक परिचयपत्र वितरण गर्ने घोषणा गरिएको छ ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गराउने
गठबन्धनले नेपाल सरकारबाट औपचारिक रूपमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ । आर्थिक वर्ष ०८४/८५ सम्ममा महानगरमा वार्षिक १० लाख विदेशी पर्यटक भिœयाउने, ताल संरक्षण तथा जैविक विविधता प्रवद्र्घन परियोजना सञ्चालन गर्ने, ‘पोखराको सम्झना’ उद्योगको स्थापना र सञ्चालन गर्ने पनि घोषणापत्रमा भनिएको छ । यस्तै, पर्यटकीय गतिविधिलाई २४ घन्टा खुला राख्न पहल गर्ने, महानगरीय पर्यटन बोर्डको स्थापना र सञ्चालन गर्ने, पोखराका प्रसिद्घ तालहरूबाट नेपालका रारालगायतका प्रमुख तालहरूमा इन्टरलेक एअर कनेक्सन गर्ने घोषणापत्रमा उल्लेख छ ।
विश्वशान्ति स्तुपा, बेगनासकोट, ठूलाकोट, पुम्दीकोट र काँहुडाँडालगायतका अन्य पर्यटकीय स्थानमा केबुलकार निर्माणमा जोड दिने, ड्यामसाइड, रानीवन हुँदै अनदुडाँडासम्म प्रिमियम पोनी ट्रेक प्याकेज सञ्चालन गर्ने पनि उल्लेख छ । पोखरालाई खेलकुदको राजधानी सहरको रूपमा विकसित गर्ने भन्दै विभिन्न कार्यक्रम घोषणापत्रमा समेटिएको छ । रंगशाला स्तरोन्नति, टेनिस, क्रिकेटजस्ता नयाँ खेलकुदका लागि मिनी कभर्ड हल निर्माण गर्ने वाचा गठबन्धनले गरेको छ ।
यसैगरी, घोषणापत्रमा प्राथमिकताका अन्य क्षेत्रगत योजना र प्रतिबद्घता पनि समेटिएका छन् । सहरी स्वच्छता, फोहोरबाट मोहोर कार्यक्रम, नगरीय सुशासन, हेलो मेयर कार्यक्रम, मानवीय सुरक्षा तथा विपद् व्यवस्थापन, सूचना, सञ्चार तथा विज्ञान प्रविधि, प्राकृतिक स्रोतसाधनको उपयोग, फेवातालको संरक्षण र सौन्दर्यीकरण परियोजना, उद्योग, व्यापार तथा वित्तीय योजना, सामाजिक सुरक्षा, कला, संस्कृति तथा सम्पदा संरक्षणमा काम गर्ने योजना गठबन्धनले अघि सारेको छ । यस्तै, अन्तरपालिका समन्वय, अन्य पालिकाहरूसँग पारस्परिक विकासका लागि समन्वय, स्वदेशी तथा विदेशी महानगरहरूसँग भगिनी सम्बन्ध स्थापना गरी अन्तरपालिका विकास मोडेल अपनाइने प्रतिबद्धता घोषणापत्रमा छ ।
पाँच वर्षपछिको पोखराको परिकल्पना
घोषणापत्रमा पाँच पर्षपछिको पोखरा कस्तो हुन्छ भनेर परिकल्पना गरिएको छ । गठबन्धन नेतृत्व निर्वाचित भए त्यसपछिको पाँच वर्ष सकिन लाग्दा गरिबीको रेखामुनिको जनसंख्या नरहने दाबी गरिएको छ । मध्यमवर्ग ५० प्रतिशत रहने, उच्चमध्यम र धनी वर्ग ५० प्रतिशत पुग्ने दाबी छ ।
घोषणपत्रमा भनिएको छ, ‘महानगरवासीका आधारभूत आवश्यकता पूरा हुनेछ । योजनाबद्ध विकास भइरहेको हुनेछ । सुन्दर र सफा पोखरा सबैले महसुस गर्नेछन् । सहयोगी, खुसी र सम्पन्न पोख्रेली नागरिक बन्नेछन् । फेवाताललगायतका सबै ताल र पोखरीहरूको सौन्दर्यीकरण गरिनेछ । ट्राफिक व्यवस्थापनसहितको सफा सहर बन्नेछ । हरियो सहर, पहिचानसहितको पोखरा बन्नेछ । सडकमा कोही माग्ने हुनेछैनन्, पशुपालन र चौपायाको व्यवस्थापन भइसकेको हुनेछ ।’