३७ लाख नयाँ मतदाता, तर प्रमुख दलको प्राथमिकतामा परेनन् युवा

शुक्रबार, १६ बैशाख, २०७९
डिजिटल संस्करण

यसपटक थपिएका ९० प्रतिशत मतदाता १८ देखि २५ वर्ष उमेरसमूहका भए पनि प्रमुख दलको रोजाइमा युवा उम्मेदवार परेनन् 

चिरिबाबु महर्जन ६३ वर्षका भए । दोस्रोपटकका लागि ललितपुर महानगरपालिकाको प्रमुख बन्न उनी चुनावी मैदानमा छन् । उनका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकार ६७ वर्षका भए । एमालेबाट चुनावी मैदानमा उत्रिएका उनी वृद्ध नेता हुन् ।

काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापित ६३ वर्षका भए । उनी एमालेबाट चुनावी मैदानमा उत्रिएका छन् । गठबन्धनबाट काठमाडौं महानगरपालिकाकी अर्की प्रत्याशी कांग्रेस नेतृ सिर्जना सिंह ६० वर्षकी भइन् । 

पोखरा महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका धनराज आचार्य ५७ वर्षका भए । उनी एकीकृत समाजवादीका नेता हुन् । उनका प्रतिस्पर्धी कृष्ण थापा ६३ वर्षका भए । उनी एमालेबाट चुनावी मैदानमा भिडेका छन् । 

वीरगन्ज महानगरपालिकामा एमालेबाट प्रमुखमा उम्मेदवारी दिएका विजय सरावगी ५४ वर्षका भए । उनका प्रतिस्पर्धी जसपाका राजेशमान सिंह ५१ वर्षका भए । उनी गठबन्धनबाट चुनावी मैदानमा छन् । 

प्रा.डा. रामकृष्ण तिवारी, प्रमुख, त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र विभाग 

मुलुकमा स्थानीय निर्वाचन हुँदै छ । मैदानमा उत्रिएका प्रतिस्पर्धी हेर्दा युवाको जमात निकै कम छ । हामीकहाँ हुर्किएको दलीय प्रणाली विचित्रको छ । दलको नेतृत्वमा जो पुग्छ, ऊ बाँचुन्जेल नेतृत्वमै रहिरहन चाहन्छ । दलको विधान सोहीअनुसार बनेका छन् । यो अवस्था नियालिरहेका युवा बरु विदेश पलायन हुन चाहन्छन्, राजनीति प्रवेश गर्न होइन । स्थानीय तहमा युवा नेतृत्व नहुनुको कारण यही हो ।

गठबन्धनबाट प्रमुखमा उम्मेदवारी दिएका कांग्रेसका नागेश कोइराला ४८ वर्षका भए । उनका प्रत्यासी सागर थापा ४६ का हुन् । उनी एमालेबाट चुनावी मैदानमा जुटेका छन् ।माओवादी नेतृ रेनु दाहाल गठबन्धनबाट भरतपुर महानगरपालिका प्रमुखको प्रत्यासी हुन् । उनी ४८ वर्षकी भइन् । उनका प्रतिस्पर्धी एमालेका विजय सुवेदी ५५ वर्षका भए । परिभाषालाई आधार मान्दा दुवै प्रत्यासी युवाभित्र पर्दैनन् ।

देशका ६ महानगरपालिका आ–आफ्नै विशेषताका कारण महत्वपूर्ण छन् । जसले कुनै न कुनै रूपमा समग्र मुलुकको प्रतिनिधित्व गर्छ । आगामी ३० वैशाखमा महानगरपालिकामा कसले बाजी मार्ला भन्ने टुंगो लाग्दै छ । नेतृत्वका लागि मैदानमा उत्रिएका उम्मेदवार ४६ देखि ६७ वर्षसम्मका छन् । कानुनतः उनीहरूमध्ये कोही पनि युवा होइनन् । किनकि, युवा नीति ०६६ ले १६ देखि ४० वर्ष उमेरसमूहकालाई मात्रै युवा मान्छ । यस आधारमा माथि उल्लिखित ६ महानगरपालिकाको मात्रै होइन, अपवादबाहेक बाँकी रहेका सात सय ४७ वटै स्थानीय तहको अवस्था उस्तै छ । अर्थात्, सात सय ५३ स्थानीय तहमा अबको पाँच वर्षका लागि छानिने ३५ हजार दुई सय १७ नेतृत्वमध्ये अधिकांश बुढापाका छन् ।  

राजनीतिप्रति युवामा बढ्दो वितृष्णाले बुढापाकाको हातमा नेतृत्व
राजनीतिक विश्लेषक तथा त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र विभागका प्रमुख प्रा.डा. रामकृष्ण तिवारी राजनीतिप्रति युवामा बढ्दो वितृष्णाले यस्तो अवस्था सिर्जना गरेको बताउँछन् । शैक्षिक पाठ्यक्रम परिमार्जन नगरी समस्या समाधान नहुने उनको तर्क छ । ‘मुलुकमा स्थानीय चुनाव हुँदै छ । मैदानमा उत्रिएका प्रतिस्पर्धी हेर्दा युवाको जमात निकै कम छ । यसमा केही खास कारण छन् । एउटा त युवा शक्तिलाई राजनीतिक दलले विश्वास नगर्न‘ । अर्को युवा जमातमा राजनीतिप्रति बढ्दो वितृष्णा,’ उनी भन्छन्, ‘एउटा योग्य युवा बरु बिदेसिन चाहन्छ, तर राजनीतिमा आउनै चाहँदैन । समस्या हामीमा छ । यहाँको शैक्षिण प्रणालीभित्र छ । यसलाई बदल्न जरुरी छ ।’

निर्वाचन आयोगको तथ्यांकअनुसार देशभरका सात सय ५३ स्थानीय तहका लागि एक लाख ५१ हजार सात सय ५६ उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये महिला उम्मेदवार ५७ हजार चार सय दुई छन् । पुरुषको संख्या ९४ हजार तीन सय ५४ छ । तथ्यांक विश्लेषण गर्दा अधिकांश उम्मेदवार ४० वर्षभन्दा माथि उमेरका छन् । प्रा.डा. तिवारी बुढा नेतालाई नै सर्वोपरी ठान्ने दलीय प्रणाली यसको दोषी रहेको ठान्छन् । ‘हामीकहाँ हुर्किएको दलीय प्रणाली विचित्रको छ । दलको नेतृत्वमा जो पुग्छ, ऊ बाँचुन्जेल नेतृत्वमै रहिरहन चाहन्छ । दलको विधान सोहीअनुसार बनेका छन् ।

यो अवस्था नियालिरहेका युवा बरु विदेश पलायन हुन चाहन्छन्, राजनीति प्रवेश गर्न होइन । स्थानीय तहमा युवा नेतृत्व नहुनुको कारण यही हो,’ उनले भने । स्थानीय सरकारको नेतृत्वका लागि स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् । तथ्यांकअनुसार सबै पालिकामा १२ हजार ६ सय ४६ स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । जसमध्ये पुरुषको संख्या १० हजार सात सय १२ र महिला एक हजार नौ सय ३४ छ । तथ्यांक हेर्दा यो पंक्तिबाट प्रतिस्पर्धामा उत्रिनेहरू पनि अधिकांश युवा उमेरका छैनन् । 

९० प्रतिशत मतदाता १८ देखि २५ वर्ष उमेरसमूहका
निर्वाचन आयोगका अनुसार ०७४ को निर्वाचनमा एक करोड ४० लाख ७२ हजार चार सय २४ मतदाता थिए । अहिले मतदाताको संख्या एक करोड ७७ लाख ३३ हजार सात सय ३२ पुगेको छ । अर्थात्, गएको पाँच वर्षमा नयाँ मतदाता ३६ लाख ६१ हजार तीन सय आठ थपिएका छन् । जसमध्ये ९० प्रतिशत मतदाता १८ देखि २५ वर्ष उमेरसमूहका युवा छन् । अब चुनिने नयाँ नेतृत्वले ती मतदाताका भवना, चाहना, आकांक्षा सम्बोधन गर्न‘पर्नेछ । युवा नेतृत्वले मात्रै उनीहरूको ‘स्प्रिट’ बुझ्न सक्छ । तर, राजनीतिक दलले केही अपवादबाहेक सबै तहमा बुढा नेतृत्व चुनावी मैदानमा उठाएका छन् । 

दलहरू अझै स्विकार्न तयार छैनन् वास्तविकता
राजनीतिक दलका नेता भने माथिको तथ्यलाई स्विकार्न तयार छैनन् । स्थानीय तह निर्वाचनमा युवालाई पर्याप्त स्थान दिएको उनीहरू दाबी गर्छन् । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाल स्थानीय तह निर्वाचनमा एमालेले युवालाई पर्याप्त स्थान दिएको बताउँछन् । काठमाडौं महानगरपालिकाको उपप्रमुखमा एमालेले उम्मेदवार बनाएको सुनिता डंगोलको उदाहरण दिँदै उनी भन्छन्, ‘एमालेले यसपटक स्थानीय तहको निर्वाचनमा उम्मेदवार टुंगो लगाउँदा सबै क्लस्टरलाई विचार गरेको छ । क्लस्टरभित्र युवा पनि पर्छ । त्यसैले एमालेले युवालाई न्याय हुने गरी ठाउँ दिएको छ । सुनिता डंगोललाई हेर्न सक्छौँ । उनी युवा हुन् । उनलाई एमालेले उम्मेदवार बनाएको हो ।’ 

सत्तारूढ दल कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी स्थानीय तहको निर्वाचनमा पार्टीले युवालाई पर्याप्त स्थान दिएको बताउँछन् । पार्टीको विधान नै २० देखि ३० वर्ष उमेरसमूहका युवाको सहभागितालाई अनिवार्य बनाइएको उदाहरण पेस गर्दै उनी भन्छन्, ‘कांग्रेसले युवालाई स्थानीय तहको निर्वाचनमा पर्याप्त स्थान दिएको छ । धेरै ठाउँमा युवापंक्ति चुनावी प्रतिस्पर्धामा छन् । यो मुलुकको आवश्यकता हो । यसलाई कांग्रेसले सम्बोधन गरेको छ ।’

माओवादी केन्द्रका नेता लीलामणि पोखरेल पार्टीले युवाशक्तिलाई बुझेको र आवश्यक स्थान दिएको दाबी गर्छन् । ‘युवाशक्तिलाई माओवादी केन्द्रले बुझेको छ । आवश्यकताअनुसार उनीहरूलाई पार्टीले भूमिका दिएको छ । स्थानीय तहको निर्वाचनमा हामीले धेरै ठाउँमा युवालाई उम्मेदवार बनाएका छौँ,’ उनले भने ।
 

सम्पादकको रोजाइ

सुझावित समाचार