महोत्तरीको साम्सी गाउँपालिका–५ मा जनता समाजवादी पार्टी (जसपा)ले वडाध्यक्षको टिकट दुईजनालाई वितरण गर्दा विवाद देखिएको छ। जसपाका केन्द्रीय नेता अशोक राईको हस्ताक्षर रहेको दुवै टिकटबाट दुईजनाले छुट्टाछुट्टै उम्मेदवारी दिएपछि विवाद बढेको हो।
निर्वाचन कार्यालय सम्सीले पहिले वडाध्यक्षका लागि श्रीप्रसाद यादवको मनोनयन दर्ता गरेको थियो। पछि पुनः जसपाबाटै वडाध्यक्षको टिकट लिएर मनोनयन दर्ता गराउन कैलाश यादव पुगेपछि जसपाले दुईजनालाई टिकट दिएको खुलेको हो।
कैलाश पार्टीको आधिकारिक उम्मेदवार रहेको पत्र प्राप्त गरेपछि निर्वाचन कार्यालयले उनको उम्मेदवारी दर्ता गरिदिएको थियो। तर, वडा र जिल्लाले आफ्नो आधिकारिक उम्मेदवार श्रीप्रसाद रहेको र पुनः केन्द्रबाट समेत यसबारे बुझ्न आग्रह गरेपछि निर्वाचन कार्यालयले छानबिन सुरु गरेको छ।
वडाको माइन्युटमा मेयरका लागि कैलाश र वडाध्यक्षको लागि श्रीप्रसादको नाम सिफारिस भए पनि मेयरको टिकट नपाएका कैलाशले वडाध्यक्षमा दाबेदारी प्रस्तुत गरेका थिए।
जसपाका नेता तथा पूर्वस्वास्थ्य राज्यमन्त्री क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य डा.सुरेन्द्र यादवले उक्त टिकट वितरण गरेको बताइएको छ। तर, जिल्ला अध्यक्ष रामप्रकाश यादवले वडाध्यक्षको टिकटको लागि श्रीप्रसाद यादवलाई चयन गरेको दाबी गरेका छन्। उनले वडाध्यक्षलगायतको टिकट जिल्लाले बाँँड्नुपर्नेमा आफ्नो हातमा टिकट वितरणको जिम्मा नपरेको बताए।