निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने वैशाख ३० गतेका दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष अनुरोध गरेको छ। आयोगले स्थानीय तह निर्वाचन हुने वैशाख ३० गते शुक्रबारका दिन नेपालभर सार्वजनिक बिदा दिन सरकारलाई अनुरोध गरेको हो।
बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनको दिन नेपालभर सार्वजनिक बिदा दिन मुख्यसचिवमार्फत सरकारलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिए।
त्यसैगरी, मतदान केन्द्र रहेका विद्यालयहरूमा वैशाख २८ गतेदेखि ३० गतेसम्म भौतिक रूपमा पठनपाठन बन्द गर्न पनि आयोगले सरकारलाई अनुरोध गरेको छ। मतदानस्थल तथा मतदान केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवं भौतिक संरचनालाई वैशाख २८ गतेदेखि ३० गतेसम्म प्रयोग गर्न दिन पनि आयोगले संघीय मामिला मन्त्रालयमार्फत सबै स्थानीय तहसँग माग गरेको छ।