नेपाल फर्काइदिन साउदी अस्पतालको बेडबाटै देवराजको गुहार

बिहिबार, १५ बैशाख, २०७९
डिजिटल संस्करण
नेपाल फर्काइदिन साउदी अस्पतालको बेडबाटै देवराजको गुहार

चार महिनादेखि साउदीको मौवासत अस्पतालमा उपचाररत सर्लाही लालबन्दीका २५ वर्षीय देवराज पौडेल

चार महिनाको उपचार खर्च ८२ लाख ४१ हजार, भुक्तानी गर्न मौवासत अस्पतालको दबाब

होस आएपछि देवराजले बल्ल थाहा पाए उनको आधा शरीर मरिसकेको रहेछ । अस्पतालको बेडमा आधा शरीर र सास मात्रै बाँकी थियो । साथमा उनको अधुरो सपना । गाडीको स्टेरिङ समातेर साउदीको सहर–सहर डुलेका देवराज अहिले आफ्नै शरीर पनि घुमाउन सक्दैनन् । चल्छ त केबल हात अनि मुख । 

लालबन्दी सर्लाहीका २५ वर्षीय देवराज पौडेल जनवरी २०२१ मा साउदी अरब पुगेका थिए । श्रीमती र चार वर्षकी छोरीलाई आमाको जिम्मा लगाएर राम्रो आम्दानीका लागि भन्दै उनी परदेश भासिए । देवराज नेपालमा पनि ड्राईभिङ काम गर्थे । तर, साउदीमा कमाइ बढी हुने आशाले उनी विदेश हानिएका हुन् । 

दमामस्थित तलाल हमाद अल विनाली जनरल कन्ट्र्याक्टिङ कम्पनीमा उनी सवारीचालकको काम गर्थे । उनले महिनामा करिब ३८ हजार पारिश्रमिक पाउँथे भने खानाका लागि थप नौ हजार ६०० पाउँथे । कलिलै उमेरमा विवाह गरेका देवराजलाई परिवारिक दायित्व पनि थियो । त्यसैले दुई–चार वर्ष काम गरेर नेपालमै फर्किने देवराजको सोच थियो । 

तर, देवराजको सपना आधा हुन नपाउँदै उनी माथि विपत् आइलाग्यो । साउदी पुगेको एक वर्ष पुग्नै लाग्दा गत १३ जनवरीमा उनी ड्युटीमै थिए । उनी मिनी ट्रक चलाउँदै थिए । बाटो जाम भयो, अगाडि हेभी गाडी थियो । उनले ब्रेक लगाउँदा–लगाउँदै टायर चिप्लिएर अगाडिको गाडीमा ठोक्कियो । गाडीमा उनीसँगै अर्का एकजना सहकर्मी पनि थिए । दुर्घटनामा साथीलाई भने केही भएन । उसले नै प्रहरी बोलायो । प्रहरीले देवराजलाई अस्पताल पुर्यायो ।

यो दुर्घटनाले देवराजको सपना मात्रै होइन, शरीर पनि अधकल्चो बनाइछाड्यो । होस आउँदा देवराज अस्पतालको बेडमा थिए । सुरुमा उनलाई अन्दाज नै भएन । ‘म त दुर्घटना भएको ठाउँमा नै बेहोस भएको रहेछु । होसमा आउँदा अस्पतालको बेडमा थिए’ उनले भने । भाग्यवश, अस्पतालमा नेपाली डाक्टर नै थिए । डक्टरले उनलाई मेरुदण्ड भाँचिएकाले आधा शरीर नचल्ने बताए । आफ्नो अवस्थाका बारेमा थाहा पाउँदा देवराज विक्षिप्त भए । 

 बेड नम्बर ३२२
देवराज विगत चार महिनादेखि साउदी दमामस्थित मौवासत अस्पतालको बेड नम्बर ३२२ मा छन् । बेडमा नै बसेर उनले एक सय १३ दिन बिताइसकेका छन् । बेडमा बसेर नेपाल फर्कने कल्पना मात्रै गर्नु उनको दैनिकी बनेको छ । ‘मोबाइल खेलाउँछु, परिवारलाईसँग कुरा गर्छु । कसरी नेपाल फर्कने होला भनेर सोच्छु’ उनले मोबाइलमा कुरा गर्दै नयाँ पत्रिकासँग भने । 

देवराज एकछिन पनि नबोली बस्न सक्दैनथे । तर, आजकाल उनी बोल्न नै चाहँदैनन् । अस्पतालको बेडमा न त उनलाई बोलाउने नै कोही छ न त उनको कुरा सुन्ने नै कोही छ । कहिलेकाहीँ घरमा फोन गर्छन् । फोन गर्नेबित्तिकै दोहोरो रुवावासी सुरु हुन्छ । त्यसैले उनी घरमा उतिसारो फोन गर्दैनन् । उनलाई बिहान–बेलुका खाना दिन दुईपटक नर्स उनका रूपमा छिर्छन् । प्रत्येक दुई–दुई दिनमा उनको दिसा–पिसाब फेर्न सफाइकर्मी छिर्छन् । “अरू वेलामा कोही पनि आउँदैनन् । मलाई अरू के नै चाहिन्छ र ? न उठ्न सक्छु न कोल्टे फेर्न । लाससरह छ मेरो शरीर,” उनले पीडा पोखे । 

देवराजको घाँटी र मेरुदण्डको हड्डी पनि भाँचिएको छ । हड्डीको अप्रेसन गर्ने समयमा उनले काम गर्ने कम्पनीका प्रतिनिधि आएका थिए । त्यसपछि भने कम्पनीले कुनै प्रतिक्रिया नदिएको देवराजले पीडा पोखे । साउदी सरकारको नियमअनुसार श्रमिकको दुर्घटना भएमा सम्बन्धित रोजगारदाताले नै उपचार गर्नुपर्ने व्यवस्था छ । तर, उनले पाएनन् । कम्पनी नयाँ भएकै कारण आर्थिक सहयोग गर्न पन्छिएको उनको अनुमान छ । 

साउदी गएको एक वर्ष बित्न नपाउँदै देवराज दुर्घटनामा परे । त्यसैले साउदी जाँदा लिएको ऋणसमेत चुक्ता गर्न नपाइएको उनले सुनाए । ‘यस्तो अवस्थामा अस्पतालको बिल कसरी चुकाऊँ । कम्पनीलाई फोन गर्योे, प्रतिक्रिया नै दिँदैन,” उनले भने । अस्पतालले भने बिल भुक्तानी गरेर डिस्चार्ज हुन दबाब दिएको उनले बताए । 

 सहयोगको प्रतीक्षामा
आधा शरीर लिएर अस्पतालको बेडमा बसेका देवराज नेपाल फर्कन चाहन्छन् । तर, अस्पतालले उनको उपचारमा खर्च भएको ८२ लाख ४१ हजार रुपैयाँको बिल थमाएको छ । बिल भुक्तानी गरेर डिस्चार्ज हुन उनलाई अस्पतालले दबाब दिइरहेको छ । तर, न त उनी त्यो रकम भुक्तानी गर्न सक्छन् न त आफू अस्पतालबाट भाग्न सक्छन् ।  

अस्पतालको बिल मात्रै होइन, उनीसँग नेपाल फर्कन सक्ने कुनै बाटो पनि छैन । त्यसैले सहयोग गरिदिन उनले अस्पतालको बेडबाट नै गुहार मागेका छन् । दुर्घटना भएपछि उनले साउदीस्थित नेपाली दूतावासमा समेत इमेल गरेका थिए । दूतावासका कर्मचारी आएर देवराजलाई भेटे र कम्पनीसँग पनि कुरा गरे । देवराजका अनुसार दूतावासले नेपाल फर्काइदिने आश्वासन दिएको छ । त्यसका लागि भने कम्पनीबाट एक्जिट लेटर लिएर आऊँ भनेको छ । तर, कम्पनी भने एक्जिट लेटर दिन तयार छैन । कम्पनीसँग कुनै पनि रकम लिन छैन भन्ने पत्रमा हस्ताक्षर गरे मात्रै लेटर दिने भन्दै कम्पनीले धम्क्याएको उनले बताए । अन्यथा अस्पतालको बिल चुकाउनुपर्ने भन्दै कम्पनी तर्किएको छ । 

दूतावासले पनि अस्पतालको रकम भुक्तानी गर्ने बजेट नभएको बताएको उनले गुनासो गरे । दुर्घटनापछि देवराजका परिवारले वैदेशिक रोजगार बोर्डमा निवेदन दिएका थिए । तर, एक महिना बितिसक्दा पनि बोर्डले कुनै प्रतिक्रिया नदिएको उनकी श्रीमती सविना पौडेलले बताइन् । ‘परारष्ट्र मन्त्रालय र बोर्डमा गएर निवेदन दिएको हो । खै फोन पनि आएको छैन,’ उनले भनिन् । देवराज परिवारले उनलाई नेपाल झिकाउन हरप्रयास गरिरहेका छन् । 

तर, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले भने बिरामी झिकाउन केही समय लाग्ने बताए । ‘साउदीबाट कामदार झिकाउँदा अलि झन्झटिलो प्रक्रिया छ । परिवारले निवेदन दिएपछि हामी कामदारका विषयमा सबै छानबिन गर्छौँ । यदि श्रम स्वीकृति लिएको गएको र करार अवधिभित्रमा नै बिरामी परेको हो, हामी थप प्रक्रिया अगाडि बढाउँछौँ’ उनले भने । 
 

See More On

सुझावित समाचार