पोखरा : घरदैलो पुग्न थाले उम्मेदवार
पोखरा देशको सबैभन्दा ठूलो महानगर हो । आगामी पाँच वर्षका लागि यसको नेतृत्व गर्न प्रमुखमा २८ र उपप्रमुखमा ११ जना भिड्दै छन् । प्रमुखका २८ मध्ये १९ जना विभिन्न दलबाट उम्मेदवार बनेका छन् भने नौजना स्वतन्त्र छन् । उपप्रमुखमा पनि एकजना स्वतन्त्र छन् । प्रमुखका नौ स्वतन्त्रमध्ये तीन कांग्रेसका बागी उम्मेदवार हुन् ।
मनोनयन दर्तासँगै दलहरूले प्रचारप्रसार थालिसकेका छन् । उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगिरहेका छन् भने चियापसल, चोक र जमघटहरूमा यसपटक कसले बाजी मार्ला भनेर चर्चा चल्न थालेको छ । प्रमुख र उपप्रमुखमा थुप्रै उम्मेदवारी भए पनि पोखरेलीहरूले मुख्यतः एमाले र सत्तागठबन्धनबीच नै प्रतिस्पर्धा हुने अड्कल काटिरहेको देखिन्छ । सत्तागठबन्धनले एकीकृत समाजवादीका धनराज आचार्यलाई प्रमुख र कांग्रेसका कोपिला रानाभाटलाई उपप्रमुखमा उठाएको छ । एमालेले कृष्ण थापा र मञ्जुदेवी गुरुङलाई प्रमुख र उपप्रमुखको उम्मेदवार बनाएको छ ।
यसपटकको निर्वाचनमा गठबन्धनमा लागेका दलहरू आफ्ना उम्मेदवारलाई जिताउँदै गठबन्धनको औचित्य पुष्टि गर्ने योजनामा छन् भने एमाले आफ्नो पहिलेको साख जोगाउने पक्षमा छ । सत्तागठबन्धनका बिचमा प्रमुख र उपप्रमुखमा मात्र तालमेल भएको छ भने महानगरका ३३ मध्ये एकाध वडामा मात्र तालमेल भएको छ । कांग्रेसले प्रमुख र उपप्रमुखबाहेक अन्य पदमा गठबन्धन नगर्ने र मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेसँगै सबैले उम्मेदवारी दिएका छन् । प्रायः सबै वडामा कांग्रेस र माओवादीले आ–आफ्नो प्यानलसहित मनोनयन दर्ता गरेका छन् । जनमोर्चाले प्रमुखमा पनि मनोनयन दर्ता गरेको छ । जसपाले भने प्रमुख, उपप्रमुखमा उम्मेदवारी दिएको छैन ।
कांग्रेस कार्यकर्तामा असन्तोष
केन्द्रले गठबन्धनलाई बलियो बनाउने प्रयास गरिरहे पनि बागी उम्मेदवारको प्रभाव कहीँ न कहीँ पर्ने देखिन्छ । अन्तिमसम्म नगरप्रमुखको दाबी गरिरहेका कांग्रेसका अधिकांश नेता खुलेर मत माग्न हिँडेका छैनन् । यसबीच भएका तालाबन्दी, नेतालाई कार्यालयमा थुन्ने गतिविधि र कारबाहीको चेतावनीलगायतका कारण कांग्रेस एकढिक्का देखिएको छैन । ०७४ मा संघीय समाजवादी (हालको जसपा)बाट प्रमुखमा उठेका हुमबहादुर गुरुङ एमाले प्रवेश गरिसकेका छन् । कांग्रेसका तीन बागी उम्मेदवार मैदानमा छन् र उनीहरूले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताएका छन् । उनीहरू सबै घरदैलो अभियानमा खटिएका छन् । त्यसैले गठबन्धनमा देखिएको फुटको फाइदा आफूहरूलाई हुने एमालेको विश्लेषण छ ।
एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले पोखरामा आफ्नो १७ हजार हाराहारीमा मत रहेको दाबी गर्दै आएको छ । ०७४ सालको निर्वाचनमा कांग्रेस र माओवादीका संयुक्त उम्मेदवारलाई एमाले उम्मेदवारले प्रमुखमा १३ हजार सात सय मतअन्तरले पराजित गरेका थिए । यसलाई आधार मानेर तीनदेखि चार हजार मतले आफूहरूले जित्ने दाबी समाजवादीका नेताहरू गरिरहेका छन् । तर, दलहरूले गरिरहेको यो तथ्यांक भरपर्दो मान्न सकिँदैन । किनभने, ०७४ यता पोखरामा ३९ हजार ६४५ मतदाता बढेका छन् । यहाँको कुल मतदाता दुई लाख सात हजार ७१२ छ । थपिएका झन्डै ४० हजार मत निर्णायक देखिन्छ ।
एमालेमा गुरुङ र अधिकारी समूह
त्यसो त एमालेमा पनि समस्या देखिन्छ । एमाले पोखरामा स्पष्ट दुई गुट छन् । पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीले नेतृत्व गरिरहेका दुवै गुट हरदम एकअर्कामाथि कसरी हावी हुने भन्ने दाउमा हुन्छन् । टिकट वितरणमा समेत गुटको द्वन्द्व स्पष्ट देखिएको थियो । सुरुमा नगर प्रमुखको टिकट गुरुङनिकट दीपक पौडेलले पाएका थिए । अन्तिममा एमाले अध्यक्ष ओलीले उनको टिकट खोसेर खगराज अधिकारी पक्षका कृष्ण थापालाई दिए । यसबाट गुरुङ पक्षका धेरै रुष्ट देखिन्छन् । मतदानको दिनसम्म आइपुग्दा यी दुई गुट एकढिक्का होलान् या एकअर्कालाई असहयोग गरिरहलान्, त्यसले एमालेको पोजिसन बलियो वा कमजोर हुने देखाउनेछ ।
यसपटक पोखरा महानगरमा राप्रपाको उपस्थिति पनि विगतको भन्दा केही बलियो देखिन्छ । अघिल्लो परिणामभन्दा केही हजार मत बढ्ने अपेक्षा राप्रपाका नेताहरूले गरिरहेका छन् । अटेरी अभियानका संयोजक गनेश पौडेल पनि स्वतन्त्र उम्मेदवार छन् । लेखक पौडेलले युवामत प्रभावित पार्ने अड्कल काट्न थालिएको छ ।
विराटनगर : दलसँगै स्वतन्त्र उम्मेदवार पनि प्रचारमा
सत्तासाझेदार दलबीच महानगरपालिकाको नेतृत्व बाँडफाँट गर्दा विराटनगर कांग्रेसको भागमा पर्यो । केन्द्रको निर्णय सार्वजनिक भएपछि गठबन्धन दलहरूमा खासै असन्तोष देखिएन । तर, उम्मेदवारी दर्ताको दिन असन्तोष लुक्न सकेन । गठबन्धनमै रहेका दलका तीनजनाले बागी उम्मेदवारी दिए ।
नगरप्रमुखमा दाबी गरिरहेका जनता समाजवादीका उमेश यादवले टिकट नपाएपछि सुरुमा पार्टी परित्याग गरेको घोषणा गरे र स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराए । बुधबारसम्म उनले फिर्ता लिएका छैनन् । जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्ना छोरालाई उपप्रमुख बनाउन आफूलाई ‘रिङआउट’ गरेको उनको आरोप छ । केही दिनअघिसम्म जसपाको संघीय परिषद् सदस्य रहेका यादव कुनै हालतमा नछाड्ने बताइरहेका छन् । ‘जसले धम्क्याए पनि वा प्रलोभन दिए पनि म उम्मेदवारी फिर्ता गर्दिनँ,’ यादवले नयाँ पत्रिकासँग भने ।
गठबन्धनको भागबन्डाअनुसार विराटनगरमा जसपाले अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उपमेयरको उम्मेदवार बनाएको छ । जसपा मोरङका अध्यक्ष राजकुमार यादवले भने उमेश यादवले पार्टी परित्याग गरिसकेकाले उनलाई बागी उम्मेदवार भन्न नमिल्ने दाबी गरे ।
माओवादीका दुई नेताले नगरप्रमुखमा बागी उम्मेदवारी दिएका छन् । माओवादीको विराटनगर कमिटीकी सचिव नमिता न्यौपाने र सहसचिव केमुना ओडारी मैनालीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । दुवैजना उम्मेदवारी फिर्ता नलिने अडानमा छन् । ‘मेरो उम्मेदवारी समावेशी अधिकारका लागि हो, यसैले मेरो जित सुनिश्चित छ, बरु पार्टीबाट राजीनामा दिन वा कारबाही भोग्न तयार हुन्छु, तर उम्मेदवारी फिर्ता गर्दिनँ,’ न्यौपानेले नयाँ पत्रिकासँग भनिन् ।
ओडारीले पनि समावेशी सिद्धान्तको अधिकारका लागि स्वेच्छाले उम्मेदवारी दिएकाले पार्टीको निर्णय मान्न आफू बाध्य नहुने तर्क गरेकी छन् । उनले विराटनगर महानगरको उपप्रमुखको उम्मेदवार बन्ने आकांक्षा राख्दै आएकी थिइन् । ‘हाम्रो पनि स्वतन्त्रता हुन्छ, पार्टीले भन्दैमा उम्मेदवारी फिर्ता गर्न बाध्य हुन्नँ । बरु कारबाही भोग्न तयार हुन्छु ।’ विराटनगर महानगरमा एमालेले शिल्पा कार्कीलाई उपमेयरको उम्मेदवार बनाएको छ । कोसी अस्पताल विकास समिति सदस्यमा बहाल रहेकी उनले राजीनामा नगरी उम्मेदवारी दर्ता गराएको भन्दै आयोगमा उजुरी परेको छ । कार्कीको उम्मेदवारी खारेज भएको अवस्थामा आफू सहज रूपमा विजयी हुने न्यौपानेको दाबी छ ।
माओवादी केन्द्रका विराटनगर महानगर इन्चार्ज शिवकुमार मण्डलले पार्टी र गठबन्धनको निर्णयलाई कुनै पनि हालतमा असर पर्न नदिन दुवैको उम्मेदवारी फिर्ता गराउने प्रयास भइरहेको बताए । मण्डलका अनुसार गठबन्धन दलभित्रका बागी उम्मेदवारी फिर्ता लिनका लागि कांग्रेस र जसपाले बेवास्ता गरेको बताए ।
स्रोतका अनुसार विराटनगर महानगरमा माओवादी केन्द्रले गठबन्धनको भागबन्डाअनुसार मेयर कांग्रेसलाई र उपमेयर जसपालाई सहज रूपमा छाडिदिएको थियो । तर, कांग्रेस र जसपाले आफूहरूले मुख्य पद प्राप्त गरेर पनि माओवादी केन्द्रलाई वडा तहमा कुनै भागबन्डा दिन चाहेका छैनन् । यसैले माओवादी कार्यकर्ताहरूले वडामा भागबन्डा नमिलेमा कुनै पनि हालतमा बागी उम्मेदवारी फिर्ता नगराउन नेताहरूलाई दबाब दिइरहेका छन् । माओवादीले आफ्नो जित सुनिश्चित हुने पाँचवटा वडाको अध्यक्ष आफूहरूले पाउनुपर्ने माग गरिरहेको छ । तर, कांग्रेसले महानगरका १९ वटै वडामा र जसपाले १७ वटा वडामा एक्लाएक्लै उम्मेदवारी दिएका छन् ।
विराटनगर महानगरमा गठबन्धनबाट कांग्रेसका नागेश कोइरालासहित जम्मा १६ जनाले मेयर पदका लागि उम्मेदवारी दिएका छन् । यस्तै, उपमेयरमा जसपाका अमरेन्द्र यादव, एमालेकी शिल्पा कार्की र गठबन्धनकी बागी उम्मेदवार माओवादीकी नमिता न्यौपानेसहित १५ जनाले उम्मेदवारी दिएका छन् ।
वीरगन्ज : प्रचारसँगै चुनावी रणनीति बनाउँदै सत्ता र प्रतिपक्ष
सत्तागठबन्धनका तर्फबाट प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका राजेशमान सिंह र इम्तियान आलम घरदैलोमा व्यस्त छन् । सत्तागठबन्धन पनि उनीहरूलाई जिताउन विभिन्न समिति निर्माणमा अघि बढेको छ । एमाले उम्मेदवार पनि मतदातासँग भेटघाट गरिरहेका छन् ।
सुरुमा विवाद देखिए पनि वीरगन्ज महानगरपालिकामा सत्तागठबन्धनका तर्फबाट उम्मेदवारी दिएका दुवैलाई जिताउन सबै दल कम्मर कसेर लागेका छन् । बुधबार बिहान सत्तागठबन्धनका पाँच दलको जिल्लास्तरीय संयन्त्रको बैठक बसेको थियो । बैठकले अभियानलाई प्रभावकारी बनाउन विभिन्न निर्णय गरेको जसपा नेता एवं सांसद प्रदीप यादवले जानकारी दिए ।
सत्तागठबन्धनले बुधबार वीरगन्ज महानगर निर्वाचन परिचालन समिति गठन गरेको छ । महानगरको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवारलाई कांग्रेस नेता श्याम पोखरेलको संयोजकत्वमा गठित ६ सदस्यीय समितिको सदस्यमा कांग्रेसका पूर्व जिल्ला उपसभापति प्रकाश उपाध्याय, जसपाका तर्फबाट प्रदेश सभा सदस्य जन्नत अन्सारी, नेता मुकेश द्विवेदी, माओवादी केन्द्रका सुरेन्द्र गुप्ता र एकीकृत समाजवादीका महानगर अध्यक्ष मनोज चौधरी छन् ।
यस्तै, कांग्रेसका उपसभापति रामनारायण कुर्मीको संयोजकत्वमा गठित जिल्ला कार्यदल समितिको सदस्यमा जसपाका केन्द्रीय सदस्य जनार्दन यादव र जिल्ला सचिव तबरेज अहमद, कांग्रेसका जिल्ला उपसभापति अशोककुमार गुप्ता, एकीकृत समाजवादीका गंगाबहादुर खड्का तथा माओवादी केन्द्रका शेख चाँद तारा र छोटेलाल साह छन् ।
वीरगन्ज महानगरका वडा र पर्साका बाँकी १३ पालिकामा गठबन्धन नगरिएपछि गठबन्धनमा आबद्ध दलहरूको मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको छ । बैठकमा कांग्रेस पर्साका सभापति जनार्दनसिंह क्षेत्री, जसपाका केन्द्रीय नेता एवं सांसद यादव, नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज चिरञ्जीवी आचार्य, जसपाका जिल्ला अध्यक्ष रामनरेशप्रसाद यादवलगायत सहभागी थिए ।
विपक्षी गठबन्धन भेटघाटमा सक्रिय
सत्तागठबन्धनले शीर्ष नेताहरूको पहलमा वीरगन्ज महानगरपालिकामा तालमेल गरेपछि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले विपक्षी गठबन्धन बनाएर तालमेल गरेका छन् । तत्कालीन संघीय समाजवादी पार्टीबाट ०७४ सालमा निर्वाचित नगरप्रमुख विजय सरावगी फेरि चुनाव लडिरहेका छन् । उनले अहिले एमालेबाट नगरप्रमुख पदमा उम्मेदवारी दिएका छन् ।
यस्तै, सत्तागठबन्धनलाई असर पार्न लोसपाले उपप्रमुखमा उम्मेदवारी दिएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष पुरुषोत्तम झा उपप्रमुखको उम्मेदवार बनेका छन् । उम्मेदवारी दर्ता गराएपछि बुधबारदेखि उनीहरू घरदैलोमा छन् । तालमेल हुनुअगाडि एक्काएक्लै चुनावी सभा गरेका यी दल उम्मेदवारी दर्ता भएपछि संयुक्त रूपमा अगाडि बढेका छन् ।
वीरगन्ज नगरप्रमुखमा पत्रकार तथा लेखक गिरीश गिरी पनि उम्मेदवार छन् । उनी राप्रपाबाट उम्मेदवार बनेका हुन् । तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा ०६० मा उनका पिता गोपाल गिरी वीरगन्जको नगरप्रमुख बनेका थिए । त्यसको ६ महिनापछि माओवादीले उनको हत्या गरेको थियो । गिरीश आफूसँग वीरगन्जलाई कसरी समृद्ध बनाउने भन्ने योजना रहेको बताउँछन् । गिरी राजनीतिमा नयाँ खेलाडी भए पनि वीरगन्जलाई बदल्ने सपना पुरानै रहेको उनको दाबी छ ।
बागी उपमेयर सक्रिय
०७४ सालको स्थानीय चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट उपप्रमुखको उम्मेदवार बनेकी रम्भा मिश्रा यसपटक स्वतन्त्र उम्मेदवार बनेकी छन् । लोसपाले उपमेयरमा टिकट नदिएपछि असन्तुष्ट बनेकी उनी स्वतन्त्र उम्मेदवार बनेकी हुन् । लोसपाले एमालेसँग चुनावी तालमेल गरेर उपमेयरमा पुरुषोत्तम झालाई उम्मेदवार बनाएको छ । विगतको चुनावमा पराजित भए पनि पाँच वर्षदेखि जनताको बीचमा रहेर काम गरेको उनको दाबी छ । उनी गाउँ–गाउँमा पुगेर मतदान गर्न आग्रह गरिरहेकी छन् ।