हेटौँडा उपमहानगरसहित केही पालिकामा दलको टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेकाहरू मत्थर देखिएका छन् । गठबन्धनको भागबन्डाअनुसार आकांक्षीले दलको टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, गठबन्धनका उम्मेदवार बलियो देखिएपछि बागीहरू निष्कृय बस्न थालेका छन् ।
सत्तागठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी छन् । मकवानपुरका सबै स्थानीय तहमा यिनै चार दलबीच तालमेल भएको छ । तर, दलको टिकट नपाएको भन्दै कांग्रेसका आकांक्षीहरूले स्वतन्त्र र नेपाली कांग्रेस (बिपी)को तर्फबाट बागी उम्मेदवारी दिएका छन् । बागी उम्मेदवारी दिनेहरूले आफ्नो उम्मेदवारी फिर्ता नलिने दाबी गरिरहेका छन् । तर, उनीहरूले प्रचारप्रसार पनि गरेका छैनन् ।
मनहरी गाउँपालिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि शंकर न्यौपानेले अध्यक्षमा बागी उम्मेदवारी दिएका छन् । उनले नेपाली कांग्रेस (बिपी) पार्टीका तर्फबाट उम्मेदवारी दिएका हुन् । उनीसँगै सोही दलबाट कांग्रेस नेत्री जानुकी लामाले उपाध्यक्षमा उम्मेदवारी दिएकी छन् । करुवा चुनावचिह्न रहेको कांग्रेस (बिपी)बाट उम्मेदवारी दिएका न्यौपाने र लामाले चुनावी प्रचारप्रसार अघि बढाएका छैनन् ।
मनहरीमा कांग्रेसबाट रञ्जन कालाखेती आधिकारिक उम्मेदवार बनेका छन् । न्यौपानेले आफ्नो वडा मनहरी–४ मा कांग्रेसबाट कुनै पनि पदमा उम्मेदवारी नै नदिने अवस्था सिर्जना गरेपछि त्यहाँ कांग्रेसको उम्मेदवार नै छैन । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिका अध्यक्षमा पनि कांग्रेस नेता शंकर पराजुलीले अध्यक्ष र शेरबहादुर लामा भोलन उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । दुवैले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।
बागमती गाउँपालिकामा बागी उम्मेदवार बनेका पराजुली र लामाले आफ्नो उम्मेदवारी फिर्ता नहुने दाबी गरिरहेका छन् । ‘हामी अघि बढिसकेका छौँ, हाम्रो उम्मेदवारी फिर्ता हुँदैन । गठबन्धनको उम्मेदवारभन्दा बढी मत ल्याउँछौँ,’ पराजुलीले भने । हेटौँडा उपमहानगरपालिका–२ मा सुदीप राजबहाक र हेटौँडा–९ अध्यक्षमा सुशील सिग्देलले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । हेटौँडा–२ को वडा अध्यक्षमा बागी उम्मेदवार बनेका राजबहाकले आफ्नो उम्मेदवारी कायम रहने बताए । उनले आफू यसअघि कांग्रेसबाट वडा सदस्यमा जित्ने एक्लो उम्मेदवार भएको कारणले पनि यसपटक अध्यक्षको टिकट पाउनुपर्ने दाबी गरिरहेका थिए । तर, उनले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार दिएका हुन् । उनले सामाजिक सञ्जाल र टोलमा आफ्नो प्रचारप्रसार अघि बढाइसकेका छन् ।
एसका जिल्ला अध्यक्षले पार्टी छाडे

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेका छन् । पोखरेलले बुधबार पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । गठबन्धनबाट हेटौँडा उपमहानगरको प्रमुख एकीकृत समाजवादीको भागमा परे पनि आफू उम्मेदवार बन्न नपाएपछि पोखरेल असन्तुष्ट थिए । प्रमुखमा मीना लामालाई पार्टी केन्द्रले उम्मेदवार बनाएपछि पोखरेल चुनावी गतिविधि, छलफल र बैठकहरूमा सहभागी हुन छाडेका थिए । तर, पत्रकार सम्मेलनमा उनले टिकट नपाएर पार्टी परित्याग गरेको भन्नु निराधार रहेको दाबी गरे ।
एमालेमै रहँदा पनि ०७४ को निर्वाचनमा उनी उपमहानगरको प्रमुखमा टिकटका दाबेदार थिए । तर, उनले टिकट पाएनन् । पत्रकार सम्मेलनमा उनले पार्टी परित्यागपछि आफू कतै नजाने बताए पनि एमालेका उम्मेदवार अनन्त पौडेल आफ्नो बालसखा भएकाले उनी निर्वाचित हुँदा खुसी हुने धारणा व्यक्त गरे । पोखरेलसँगै जिल्ला सचिवालय सदस्य देवेन्द्र कोइराला, उत्तम शर्मा, वीरेन्द्र डिसी र गोपालबहादुर स्याङ्तानले पनि राजीनामा दिएका छन् ।