गठबन्धनप्रति असन्तुष्टि भए पनि उम्मेदवारी फिर्ता लिन कांग्रेस महामन्त्री थापाको आग्रह

बिहिबार, १५ बैशाख, २०७९
डिजिटल संस्करण

कांग्रेस महामन्त्री गगन थापाले गठबन्धनप्रति तीव्र असन्तुष्टि कायम रहे पनि पार्टी निर्णय मानेर जानु अहिलेको आवश्यकता भएको बताएका छन् । उनले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवार बनेका पार्टीका नेता–कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह पनि गरेका छन् ।

कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधबार गरेको कार्यक्रममा महामन्त्री थापाले भविष्यमा अन्यायका विरुद्ध एक–एक हिसाब गर्ने भन्दै बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । ‘चुनावअगाडि पार्टीमा मतभेद हुन्छन्, चुनावपछाडि फेरि ती विषय उठ्छन् । तर, चुनावमा होमिइसकेपछि पार्टी निर्णय सबैले मान्नुपर्छ, सम्मान गर्नुपर्छ । अहिले पार्टी निर्णयभन्दा बाहिर स्वतन्त्र उम्मेदवारी दिनु भएका तमाम साथीहरूलाई अनुरोध गर्न चाहन्छु–तपाईंहरूमाथि भएको अन्याय र विभेदको एउटा–एउटा हिसाबकिताब हुन्छ,’ थापाले भने, ‘म यो निर्वाचनबारे मात्रै चिन्ता गरेर भनिराखेको छैन, निर्वाचन परिणामलाई चिन्ता गरेर मात्रै भनिराखेको होइन । तपाईंहरूका जायज असन्तुष्टि सम्बोधन गर्ने जिम्मेवारी लिएर आएको छु ।’ 

थापाले असन्तुष्टिको विषयमा चुनावपछि पनि पार्टीभित्र छलफल हुने बताए । ‘गठबन्धन बनाएर निर्वाचनमा जाने विषयमा पार्टीभित्र फरक मत मात्रै होइन, ठूलो भिन्न मत पनि छ । यसबारे संघर्ष पनि भयो, संघर्ष छ र भोलि पनि रहन्छ । तर, राजनीतिक दल भनेकै आफ्नो मतलाई दलको मत बनाउन कोसिस गर्ने हो । दलको मत बन्न सकेन भने पनि आफ्नो मतलाई दलको मत बनाउन कोसिस गरिरहन्छु भनेर दलले गरेको निर्णयलाई स्वीकार गर्ने हो । यसै गरेर पार्टी निर्णय गरेर अघि बढिरहेका हुन्छन्,’ थापाले भने, ‘हामी पार्टीलाई जिताउन चाहन्छौँ, पार्ट निर्णय कार्यान्वयन गराउन चाहन्छौँ । तर, चुनावपछाडि फेरि छलफल हुन्छ, बहस हुन्छ । यो विषय ओझेलमा राखिन्न । एउटा–एउटा विषयमा छलफल हुन्छ । तालमेलको विषयमा छलफल हुन्छ । सैद्धान्तिक विषयमा छलफल हुन्छ ।’

ओलीप्रति कांग्रेस नेता आक्रोशित 
एमाले अध्यक्ष ओलीले कांग्रेसको चुनावी घोषणापत्र पागलहरूको प्रलाप भएको टिप्पणी गरेपछि कांग्रेस नेताहरूका लगातार प्रतिवाद आएका छन् । बुधबार पत्रकार सम्मेलन गरेका कांग्रेस महामन्त्री गगन थापाले झुटको पर्दाफास गरेकाले ओलीले सहन नसकेको आरोप लगाएका छन् । 

‘केपी ओलीले मुख छाड्नु नयाँ भएन । जसको मुखमा अँगार छ, उसले ओकल्ने कालै हो । यो कुनै नयाँ कुरा भएन, केपी ओली झुट बोल्नुहुन्छ । कोही आँट भएको मान्छेले तपाईं झुट बोल्दै हुनुहुन्छ भन्यो भने सनक्क सन्केर पागल भन्नुहुन्छ । ओलीलाई आफ्नो प्रशंसाको एकलाप सुन्ने बानी छ । कांग्रेसको घोषणापत्रमा एकपछि अर्को झुटको पर्दाफास गरेकाले ओलीले सहन सक्नुभएन,’ महामन्त्री थापाले भने, ‘ओलीलाई लजिक मन पर्दैन, म्याजिक मन पर्छ । कांग्रेस घोषणापत्रमा म्याजिक छैन, लजिक छ । मैले महाधिवेशनका वेला समुन्नत नेपालको अवधारणा अघि सार्दै गर्दा यो मेरो आइडिया थियो, चोर्‍यो भन्नुभयो । हिजो पनि चोर्‍यो, चोर्‍यो भन्नुभएछ । उहाँलाई पनि र मलाई पनि अहिले दौडधुप छ । अलिकति भ्याएको वेला म बालकोटै गएर उहाँलाई ट्युसन पढाउँछु ।’

त्यसैबीच कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको घोषणापत्रलाई लिएर ओलीले मनगढन्ते टिप्पणी गरेको बताएका छन् । ‘कांग्रेस घोषणापत्रबारे ओलीको मनगढन्ते टिप्पणी जनता झुक्याउन र लाज छोप्न रचिएको निन्जा टेक्निक हो । राजनीतिक मर्यादा र निर्वाचनको संवेदनशीलताको सामान्य हेक्का नराखी खर्चिएका सस्ता शब्द कुण्ठाका पराकाष्ठा हुन्,’ उनले भनेका छन्, ‘आफ्नो सरकारले विगतमा गरेका काण्डहरूलाई जति बचाउ गर्छन् उति नांगिँदै जान्छन् ।’ 

सुझावित समाचार