नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको घोषणापत्रलाई लिएर नेकपा एमाले अध्यक्ष केपी ओलीले गरेको टिप्पणी ओलीको कुण्ठाको पराकाष्ठा भएको प्रतिक्रिया दिएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो धारणा सार्वजनिक गर्दै नेता पौडेलले राजनीतिक मर्यादा र निर्वाचनको संवेदनशीलतालाई सामान्य हेक्कासमेत नराखी ओलीले जनता झुक्याउन र आफ्नो लाज छोप्न मनगढन्ते टिप्पणी गरेको बताएका छन् ।
‘कांग्रेस घोषणापत्रबारे ओलीको मनगढन्ते टिप्पणी जनता झुक्याउन र लाज छोप्न रचिएको निन्जा टेक्निक हो । राजनीतिक मर्यादा र निर्वाचनको संवेदनशीलताको सामान्य हेक्का नराखी खर्चिएका सस्ता शब्द कुण्ठाका पराकाष्ठा हुन्। आफ्नो सरकारले विगतमा गरेका काण्डहरूलाई जति बचाउ गर्छन् उति नांगिँदै जान्छन्,’ पौडेलले भनेका छन् ।
नेता पौडेलले मत लिनका लागि घोषणापत्रमा निराधार र सतही सपना छर्ने तथा जनतमतको कदर गर्न नसक्ने र वाचा गरिएका न्यूनतम कुरा पूरा गर्न नसकेपछि अरूमा आक्रोश पोख्नु लज्जाको विषय भएको बताएका छन् ।
‘पाँच वर्ष सरकार सञ्चालन गर्न जनताले दिएको मतलाई तिरस्कार गरेर संविधान मास्नेसम्मको कुकर्म छोप्न अरूलाई गलीगौलज गरेर रक्षात्मक बन्न खोज्नु दरिद्रता हो । मत लिनका लागि घोषणापत्रमा निराधार र सतही सपना छर्ने, जनमतको कदर गर्न नसक्ने र वाचा गरिएका न्यूनतम कुरा पनि पूरा गर्न नसकेपछि अरूलाई आक्रोश पोख्ने कुरा लज्जाको विषय हो,’ पौडेलले भनेका छन्, ‘यस्तो दरिद्रता देखाएर मत माग्ने जोकोहीलाई जनताले स्वतः अस्वीकार गर्नेछन् ।’
ओलीले मंगलबार नेपाली कांग्रेसको घोषणापत्र राजनीतिक दस्ताबेज नभई ‘पागलहरुको प्रलाप’ भएको टिप्पणी गरेका थिए ।