रसुवाको आमाछोदिङमाे गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष पदमा उम्मेदवारी दिई रद्द गरिएका दुईजनाको नाम पुनः उम्मेदवारको सूचीमा राखिएको छ । निर्वाचन आयोगको निर्देशनपश्चात् उम्मेदवारी रद्द गरिएका दुवैजनाको नाम पुनः उम्मेदवारको सूचीमा राखिएको हो । सोमबार भएको मनोनयन दर्तामा गाउँपालिका अध्यक्षमा एमालेबाट दुईजनाको उम्मेदवारी परेको थियो । सुरुमा गाउँपालिका अध्यक्षमा तेम्ब्रेल तामाङले मनोनयन दर्ता गरेका थिए । तामाङ तत्कालीन नयाँ शक्ति पार्टीबाट समानुपातिकको बन्दसूचीमा रहेको पाइएपछि तत्कालै फुर्पुसिंगी तामाङले मनोनयन दर्ता गराएका थिए ।
आमाछोदिङमाे गाउँपालिकाका निर्वाचन अधिकृत शान्तिप्रसाद लुइँटेलले नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदमा दुईवटा उम्मेदवार पेस भएको र राजस्व रसिदबाट उम्मेदवार मनोनयन भएको गाउँपालिका प्रमुखका उम्मेदवार फुर्पुसिंगी तामाङको उम्मेदवारी रद्द भएको सूचना प्रकाशित गरेका थिए । मंगलबार आयोगले मनोनयन दर्ता दिने, उजुरी जाँचबुझ गरी निर्णय गर्नुपर्ने समयभित्र जाँचबुझ गरेपछि मात्र मनोनयन पत्र स्वीकृत एवं खारेजीसम्बन्धी निर्णय गर्न निर्देशन दिएसँगै एमालेबाट पालिका अध्यक्षमा उम्मेदवारी दिएका दुवैजनाको नाम समावेश गरिएको लुइँटेलले बताए ।
एमालेबाट पालिका अध्यक्ष पदमा उम्मेदवारी दिएका तेम्ब्रेल तामाङ र फुर्पुसिंगी तामाङविरुद्ध मंगलबार दाबी–विरोधसम्बन्धी उजुरी परेको उनले बताए । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबाट उजुरी परेको उनले बताए । आएका दाबी–विरोधसम्बन्धी उजुरीबारे बुधबार र बिहीबार जाँच गरी बिहीबार निर्णय हुने उनले बताए । ‘निर्वाचन आयोगले ११ र १२ गते मनोनयन दर्ता, १३ गते दाबी–विरोध, १४ र १५ गते दाबी–विरोधको जाँच गर्ने, १६ गते अन्तिम नामावली प्रकाशन गर्ने, १७ गते निर्वाचन चिह्न प्रदान गर्ने भनेको छ । आयोगले आएका सबैको मनोनयन दर्ता गरेर जाँच गर्ने वेलामा रित नपुगेको भए रद्द गर्न भनी निर्देशन दिएको छ, हामीले आएका सबैको नाम दर्ता गरेका छौँ,’ उनले भने ।
मनोनयन दर्तापश्चात् परेका दाबी–विरोधको उजुरीको जाँच गरी निर्णय गर्नुपर्नेमा निर्वाचन अधिकृतको कार्यालय आमाछोदिङमाेले मनोनयन दर्ताकै दिन रद्द गरेको सूचना प्रकाशित गरेसँगै मंगलबार दिनभर विवाद भयो । आमाछोदिङमाे गाउँपालिकामा पालिका अध्यक्षका लागि आठजना र उपाध्यक्षका लागि चारजनाको उम्मेदवारी परेको छ । पाँचवटा गाउँपालिका रहेको रसुवामा २७ वटा वडा रहेका छन् भने जिल्लामा ३८ हजार पाँच सय ४५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ३४ वटा मतदान केन्द्र र ५१ वटा मतदानस्थल रहेका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा एक सय ४५ जनाका लागि सय ९४ जनाको उम्मेदवारी परेको छ ।