गुल्मीमा एक सय ५६ जनाकाे स्वतन्त्र उम्मेदवारी दर्ता, सबैभन्दा धेरै वडाध्यक्षमा

बुधबार, १४ बैशाख, २०७९
डिजिटल संस्करण

गुल्मीमा स्थानीय निर्वाचनका लागि एक सय ५६ जनाले स्वतन्त्र  उम्मेदवारी दिएका छन् । निर्वाचन कार्यालय गुल्मीले दिएको जानकारीअनुसार पालिका प्रमुखमा २७ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।  अधिकांश नेताले पार्टीभित्रकै द्वन्द्वका कारण स्वतन्त्र उम्मेदवारी दिएको बुझिएको छ । 

खाली चिट्ठा थुताएको आरोप

मदाने गाउँपालिकामा कांग्रेस–माओवादी गठबन्धनको तर्फबाट प्रमुखमा महेन्द्रबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धन नहुँदै कांग्रेसको तर्फबाट काशीबहादुर बोहरा पनि प्रमुखका आकांक्षी थिए । लामो समय कांग्रेसको तर्फबाट उम्मेदवार छनोट भएन । गोलाप्रथा गरेर उम्मेदवारको टुंगो लगाउन चिट्ठा थुताइयो । अन्तत कुँवरलाई चिट्ठा पर्यो । 

तर, दुवै नलेखेको चिट्ठा बनाएर आफूलाई झुक्काइएको भन्दै बोहराले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । ‘हतारमा फर्जी चिट्ठा बनाएको मलाई पत्तो भएन । मैले सरासर उठाएँ, खाली पर्यो,’ अन्तिममा दुवै चिट्ठा खाली रहेछन्,’ उनले भने, ‘मलाई फसाइयो, त्यसैले स्वतन्त्र उम्मेदवारी दिएँ, चिह्न पाएपछि पत्रकार सम्मेलन गर्नेछु ।’ जिल्लाका ११ वटा स्थानीय तहका प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी परेको छ ।  सबैभन्दा धेरै गुल्मी दरबार गाउँपालिकामा ६ जना पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी परेको छ ।  

त्यस्तै, पालिका उपप्रमुखमा सातजनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । जसमध्ये मालिकामा तीनजना रहेका छन् । इस्मा, गुल्मी दरबार, चन्द्रकोट, मुसिकोट, रुरु र सत्यवतीमा भने उपप्रमुखका स्वतन्त्र उम्मेदवार छैनन् । 

सबैभन्दा धेरै वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता
जिल्लाको रेसुंगा नगरपालिका– ४ का कृष्णप्रसाद पाण्डेयले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । ०४८ सालदेखि  कांग्रेसमा क्रियाशील पाण्डेले टिकट वितरणमा पार्टीले अपमान गरेको भन्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरेर राजीनामा दिए । राजीनामा गरेको भोलिपल्ट मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसले रेसुंगा नगरपालिका– ४ मा लीलाधर आचार्यलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । 

त्यस्तै, रेसुंगा नगरपालिका– ५ बाट कांग्रेसकै नेतृ देवी कुँवरले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन् । कांग्रेसको तर्फबाट दुर्गा खनालले वडाध्यक्षमा  उम्मेदवारी दर्ता गरेका छन् ।  रुरु क्षेत्र गाउँपालिका– १ मा एमाले नेता रामलाल विकले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । सोही वडामा एमालेको तर्फबाट नवराज बरालले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । 

जिल्लाका १२ स्थानीय तहको मनोनयनका आधारमा सबैभन्दा धेरै वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारको उम्मेदवारी परेको छ ।  वडाध्यक्षमा ९२ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिइन् । 

सबैभन्दा धेरै रेसुंगा नगरपालिकामा १७ र मदाने गाउँपालिकामा १४ जनाले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृत कुँवरले बताइन् । रुरु क्षेत्रमा १२ र इस्मामा आठजनाले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । छत्रकोटमा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी परेको छैन । 

जिल्लाका १२ स्थानीय तहमा सदस्य पदका पनि २९ जनाले  स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।  सदस्यमा २५ महिला सदस्यमा दुई र दलित महिला सदस्यमा दुईजना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

दोहोरिएका पालिका प्रमुख र उपप्रमुख
जिल्लाको धुर्कोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट भूपाल पोख्रेलले पुनः अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । मालिका गाउँपालिका एमालेको तर्फबाट रितबहादुर थापा, कांग्रेसको तर्फबाट कालीगण्डकी गाउँपालिकामा बेदबहादुर थापा र सत्यवती गाउँपालिकामा पारिश्वर ढकालले अध्यक्ष पदमा पुन: उम्मेदवारी दिएका छन् । 

त्यस्तै, उपप्रमुखमा एमालेको तर्फबाट मदानेमा सरिता खड्का, इस्मामा विमला खत्री र चन्द्रकोटमा राधिका अर्यालले पुन: उम्मेदवारी दिएका छन् । त्यस्तै, जनमार्चाको तर्फबाट कालीगण्डकी उपप्रमुखमा पुन: तारा थापाले उम्मेदवारी दर्ता गराएकी छिन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार