पोखरा र भरतपुर महानगरका बागी उम्मेदवारलाई फकाउने नेताहरूको प्रयास जारी


महानगर र उपमहानगरमा चुनावी तालमेल गर्ने सत्तासाझेदार दलको केन्द्रीय निर्णयलाई चुनौती दिँदै बागी उम्मेदवारी दिएकाहरू टसको मस भएका छैनन् । केन्द्रको निर्णयविपरीत पोखरा, भरतपुर, वीरगन्ज महानगर तथा केही उपमहानगरमा बागी उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्तालगत्तै दलहरूले बागी उम्मेदवारलाई मनाउने र उम्मेदवारी फिर्ता गराउने प्रयास गरे पनि मंगलबार बेलुकासम्म सफल भएको छैन ।
पोखरा महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराएका कांग्रेसका तीन बागीले कुनै हालतमा उम्मेदवारी फिर्ता नलिने बताएका छन् । भरतपुर महानगरका कांग्रेसका बागीले पनि त्यस्तै प्रतिक्रिया दिएका छन् । सत्तागठबन्धनले पोखरा महानगरको प्रमुखमा एकीकृत समाजवादी र उपप्रमुखमा कांग्रेसलाई भागबन्डा गरेको थियो । पार्टीको जनमत राम्रो हुँदाहुँदै स्थानीय कार्यकर्ताको भावनाविपरीत केन्द्रले अर्को पार्टीलाई प्रमुख दिएको भन्दै क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्की, पूर्वकोषाध्यक्ष ऋषि सापकोटा र पूर्वसचिव नन्दप्रसाद तिवारीले बागी उम्मेदवारी दिएका हुन् । पार्टीको निर्णयविपरीत मनोनयन दर्ता गराएका सापकोटाले नयाँ पत्रिकासँग भने, ‘म ४० वर्षदेखि पार्टीमा क्रियाशील छु । रुखमा भोट हाल्न नपाएपछि विद्रोहस्वरूप मनोनयन दर्ता गरेको हुँ । अब पार्टी सभापति शेरबहादुर देउवाले आग्रह गरे पनि पछि हट्दिनँ ।’
उनले कांग्रेसमा आफ्नो योगदान पार्टी सभापति देउवाकै बराबर रहेको दाबी गरे । ‘देउवा कांग्रेसमा लागेको ४० वर्ष भयो, म पनि त्यति नै वर्ष भयो । पार्टीमा हाम्रो योगदान बराबर छ,’ उनले भने, ‘पार्टीले कार्यकर्ताको भावना नबुझी केन्द्रमा बसेर गठबन्धनका नाममा अन्य दलको चिह्नमा मत हाल्न बाध्य पारेपछि त्यसविरुद्ध उभिएको हुँ । पार्टीको आफ्नै उम्मेदवार हुन्थ्यो भने म समर्थन गरेर हिँड्ने थिएँ ।’ तिवारीले मनोनयन फिर्ता लिन केन्द्रका केही नेताबाट फोन आएको तर आफूले वास्ता नगरेको बताए ।
अर्का उम्मेदवार कार्कीले गठबन्धनको नाममा केन्द्रीय नेतृत्वले गलत काम गरेकाले आफूले उम्मेदवारी दर्ता गरेको बताए । ‘केन्द्रले सिन्डिकेट गर्दै हामीलाई कहीँ आँखामा, कहीँ हँसिया हथौडामा र कहीँ कलममा भोट हाल भन्यो । यो स्वीकार भएन, त्यसैले विद्रोह गरेको हुँ,’ कार्कीले भने । उनले आफू देउवाको नभई कांग्रेसको कार्यकर्ता भएको जिकिर गर्दै उम्मेदवारी फिर्ता नलिने अडान व्यक्त गरे । ‘बिपीले भन्नुभएको थियो, पार्टीमा विग्रह आयो भने विद्रोह गर्न सक्नुपर्छ । मैले त्यही गरेको हुँ,’ उनले भने ।
अर्का बागी तिवारीले पनि फिर्ता नलिने अडान व्यक्त गरे । उनले भने, ‘मनोनयन फिर्ता लिन आग्रह र दबाब दिँदै नेताहरूका फोन आएका छन् । तर, म पछि हट्दिनँ । पार्टीको जनमत बलियो भएको ठाउँमा कमजोर दललाई अघि सार्नु यहाँका सबै कार्यकर्ताको अपमान हो, हामीमाथि आस्था राख्ने जनताको अपमान हो ।’ दाङको तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा सत्तासाझेदारले गरेको तालमेलविरुद्ध माओवादी केन्द्रकी मनकुमारी महतले बागी उम्मेदवारी दिएकी छन् । प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन । तर, माओवादीका नगर अध्यक्ष खुसीराम चौधरीले मनकुमारीले उम्मेदवारी फिर्ता लिने सहमति गरिसकेको दाबी गरे ।
नेपालगन्ज उपमहानगरको मेयरमा तालमेलविरुद्ध माओवादीका टंक धामीले उम्मेदवारी दिएका थिए । तर, उम्मेदवारी दर्ताको क्रममा त्रुटि भएकाले मंगलबार उनको उम्मेदवारी रद्ध भएको माओवादी नेपालगन्जका अध्यक्ष रतन शाहीले जानकारी दिए । असन्तुष्ट हुँदै उपप्रमुखमा मनोनयन दर्ता गराएकी तारा रोकायको उम्मेदवारी भने यथावत् छ । बाँकेकै कोहलपुर नगर प्रमुखमा उम्मेदवारी दिएका बलराम शर्माले पनि फिर्ता लिएका छैनन् । केन्द्रीय नेताले फिर्ता लिन दबाब दिए पनि अहिलेसम्म नलिएको उनीनिकट एक नेताले बताए । शर्मा कांग्रेस क्षेत्र नं. १ ‘ख’का सभापति हुन् ।
चितवन कांग्रेस निरन्तर छलफलमा
बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल (बीचमा) सँग मंगलबार छलफल गर्दै चितवन कांग्रेसका पदाधिकारी । तस्बिर : नयाँ पत्रिका
स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका कांग्रेसले नपाएपछि असन्तुष्ट बनेको समूहले जगन्नाथ पौडेललाई बागी उम्मेदवार बनाएको छ । असन्तुष्ट पक्षबाट कांग्रेस नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले महानगरको मेयरमा स्वतन्त्र रूपमा सोमबार उम्मेदवारी मनोनयन गराएका हुन् ।
दुईपटकसम्म भरतपुर महानगरको मेयरको उम्मेदवार बन्न नपाएपछि कांग्रेस नेता तथा कार्यकर्ताले विद्रोह गर्दै उम्मेदवारी घोषणा गरेका थिए । कांग्रेस नेता तथा तरुण दल चितवनका सहसचिव मोहित पाण्डेले पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । वडाहरूमा पनि कांग्रेसका केही नेताहरूले बागी उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको झन्डा र बाजागाजासहित उनीहरू मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुर पुगेका थिए ।
भरतपुर महानगरको प्रमुखमा माओवादीकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको उम्मेदवारी परेको छ । बागी उम्मेदवारी घोषणा गरेका पौडेलसँग जिल्ला पार्टीले मंगलबार दुई घन्टाभन्दा लामो समय छलफल गरेको थियो । कांग्रेस उपसभापति राजीव न्यौपानेले पौडेललगायतसँग लगातार छलफल गरिने जानकारी दिए । ‘मनोनयन दर्ता गराउनेहरू पार्टीको अभिभावक पनि हुनुहुन्छ । उहाँहरूले कांग्रेस निर्माणमा ठूलो भूमिका निर्वाह गर्नुभएको छ । त्यसैले हामीभन्दा उहाँहरू पार्टीप्रति गम्भीर हुनुहुन्छ । एकै भेटमा विषय टुंगिने कुरा भएन, हामी सबै पक्षसँग छलफलमा छौँ,’ न्यौपानेले भने ।
जनता समाजवादी पार्टी (जसपा) भने भरतपुरमा चुनावी गठबन्धनबाट बाहिरिएको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनको भावना र मर्मविपरीत गएकाले गठबन्धनबाट बाहिरिएको जसपाले घोषणा गरेको छ ।
जसपा भरतपुरका अध्यक्ष अनुज जोशीले मंगलबार विज्ञप्ति निकाली गठबन्धनबाट बाहिरिएको घोषणा गरेका हुन् । गठबन्धनको राजनीतिक महत्व, हैसियत, मर्म र भावनाविपरीत वडाध्यक्षमा बाँडफाँट गरेको जसपाले अरोप लगाएको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीद्वारा जसपालाई गठबन्धनको बैठकमा नबोलाइएको, सबै वडामा अध्यक्षसहित सदस्यहरूमा एकलौटी रूपमा बाँडफाँट गरिएको आरोप जसपाको छ ।