माओवादी केन्द्रबाट कमलामाई नगरपालिकाको उपमेयरका उम्मेदवार श्रेष्ठको उम्मेदवारी रद्द

मंगलबार, १३ बैशाख, २०७९
डिजिटल संस्करण

सत्तागठबन्धनबाट जिल्लाको कमलामाई नगरपालिकाको उममेयरमा उम्मेदवार बनेका दीर्घराज श्रेष्ठलाई निर्वाचन प्रक्रियामा सामेल गराउन नसकिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

नेकपा माओवादी केन्द्रबाट उपमेयरमा उम्मेदवारी दिएका श्रेष्ठको जनता समाजवादी पार्टीको समानुपातिक बन्दसूचीमा नाम भएकाले उनलाई उपमेयरको उम्मेदवारमा सहभागी गराउन नसकिएको कमलामाई नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले बताए। 

निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा कुनै पनि राजनीतिक दलको समानुपातिक बन्दसूचीमा नाम समावेश भएका व्यक्तिहरूलाई उक्त नाम सूचीबाट नहटाई स्थानीय तहको उम्मेदवार बनाउन नसक्ने व्यवस्था भएकाले उक्त कानुनी व्यवस्थाअनुसार श्रेष्ठलाई उम्मेदवारको रूपमा सहभागी गराउन असमर्थ भएको सापकोटाले बताए। 

श्रेष्ठसँगै एकजना वडाध्यक्ष र अन्य सातजना वडा सदस्यको लागि उम्मेदवारी दिएका व्यक्तिहरूलाई निर्वाचनमा उम्मेदवारको रूपमा सहभागी गराउन नसकिएको सापकोटाले बताए।
 

सुझावित समाचार