वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रामेछापका आठ स्थानीय तहहरूमा उम्मेदवारी दिने महिलाको संख्या उल्लेख्य रहेकाे छ। जिल्लाका दुुई नगरपालिकामध्ये मन्थली नगरपालिका उपप्रमुखमा दुईजनाले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट यशोदा श्रेष्ठ र नेकपा (एमाले)बाट ईश्वरी बस्नेतले नगर उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन्। त्यसैगरी, रामेछाप नगरपालिका उपप्रमुखमा तीन महिलाले उम्मेदवारी दिएका छन्। जसमा कांग्रेसबाट वाला काकी र सुशीला लामा तथा एमालेबाट सीता केसी रहेका छन्।
जिल्लाको ६ वटा गाउँपालिकामध्ये उमाकुण्डको अध्यक्ष पदमा एक र उपाध्यक्षमा दुई गरी तीन महिलाले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसबाट साबित्री सुनुवार, एमालेबाट गंगा कार्की र माओवादी केन्द्रबाट लक्ष्मी बस्नेतले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन्। यता, गोकुलगंगा गाउँपालिकामा तीन महिलाले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसबाट उषा बस्नेत (कार्की), एमालेबाट राधिका श्रेष्ठ र राप्रपाबाट उर्मिला श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन्।
यसैगरी, लिखु तामाकोसी गाउँपालिकाको उपाध्यक्ष पदमा दुई महिलाले उम्मेदवारी दिएका छन्। कांग्रेसको तर्फबाट सरस्वती गुुरुङ (खड्का) र एमालेबाट दीपा पाख्रिनले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्। दोरम्बा शैलुुङ गाउँपालिकाको उपाध्यक्षमा पनि तीन महिलाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा कांग्रेसबाट खमला थापामगर, एमालेबाट मुना कँडेल र माओवादी केन्द्रबाट देउकुमारी थापामगर रहेका छन्।
त्यस्तै, सुुनापती गाउँपालिकाको उपाध्यक्षमा चार महिलाले उम्मेदवारी दिएका छन्। कांग्रेसबाट शान्ति मोक्तान, एमालेबाट रिता गौतम, माओवादी केन्द्रबाट गीता बिष्ट र एकीकृत समाजवादीबाट सरिता खातीले उम्मेदवारी दिएका हुन्। खाँडादेवी गाउँपालिकाको उपाध्यक्षमा दुई महिलाले उम्मेदवारी दिएका छन्। जसमा कांग्रेसको तर्फबाट चण्डिका उप्रेती र एमालेबाट रमा घिसिङ रहेका छन्।
यसैगरी, ८ वटै स्थानीय तहका ६४ वटा वडामा २१७ जना दलित महिला सदस्यले उम्मेदवारी दिएका छन्। जसमा रामेछाप नगरपालिकामा २८, मन्थली नगरपालिकामा ५४, उमाकुुण्ड गाउँपालिकामा २७, खाँडादेवी गाउँपालिकामा २८, गोकुलगंगा गाउँपालिकामा २०, दोरम्बा शैलुङ गाउँपालिकामा २२, लिखुतामाकोसी गाउँपालिकामा २३ र सुनापती गाउँपालिकामा १५ दलित महिलाले सदस्य पदमा उम्मेदवारी दिएका हुन्।