मनाङको चार वडामा कांग्रेस वडाध्यक्ष निर्विरोध

मंगलबार, १३ बैशाख, २०७९
डिजिटल संस्करण

हिमाली जिल्ला मनाङका चारवटा वडामा  कांग्रेसको मात्र एकल उम्मेदवारी परेको छ । चार गाउँपालिका रहेको मनाङमा कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र साथै केही स्वतन्त्र उम्मेदवारको एकल उम्मेदवार परेको हो ।

नासों गाउँपालिकामा कांग्रेसबाट वडा नम्बर ५ को वडाध्यक्षमा थुतेन लामा, वडा नम्बर ६ को वडाध्यक्षमा पुष्पबहादुर गुरुङ र वडा नम्बर ७ को वडाध्यक्षमा ओमबहादुर गुरुङको एकल उम्मेदवार परेको मनाङका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए । 

यस्तै, वडा नं. २ को वडाध्यक्षमा कांग्रेसका मंगलदेव गुरुङ निर्विरोध भएका छन्। सोही वडामा महिला सदस्यमा गममाया गुरुङ र दलित महिला सदस्यमा नवीना परियार कांग्रेसबाट निर्विरोध बनेका छन्।  

यस्तै,  मनाङको चामे गाउँपालिकाको वडा नम्बर १ र २ का वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन्। वडा नम्बर  १ मा नेकपा एमालेका खड्कजंग गुरुङ निर्विरोध भएका हुन्।  सो वडामा एमालेबाटै महिला सदस्यमा राजकासी गुरुङ र दलित महिला सदस्यमा अनिता विक निर्विरोध भएका छन्।

यस्तै, मनाङ ङिस्याङ गाउँपालिकाको वडा नम्बर  ३ को वडाध्यक्षमा स्वतन्त्रबाट कृष्ण लामा र वडा नं. ९ मा नेकपा माओवादी केन्द्रबाट च्योल्पा गुरुङ वडाध्यक्षमा निर्विरोध भएका छन्।

सोही वडामा अनिल गुरुङ, धनबहादुर गुरुङ, महिला सदस्यमा रिया गुरुङ र दलित महिला सदस्यमा सुस्मिता सेन्चुरी स्वतन्त्रबाट निर्विरोध भएका छन्।  मनाङका मुख्य निर्वाचन अधिकृत खनालले अन्तिम नामावली प्रकाशन गरी दाबी–विरोधको समय सकिएपछि मात्र निर्विरोध निर्वाचित घोषणा गर्न मिल्ने बताए।

सुझावित समाचार