महानगर र उपमहानगरमा बागीको बिगबिगी

मंगलबार, १३ बैशाख, २०७९
डिजिटल संस्करण

स्थानीय तहको निर्वाचनमा महानगर, उपमहानगर र केही नगरपालिकामा गठबन्धन र एमाले उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेका छन् । चितवनको भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहालले पुनः मेयरमा उम्मेदवारी दर्ता गराएकी छिन् । तर, उनीविरुद्ध कांग्रेस नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारका रूपमा बागी उम्मेदवारी दर्ता गराएका छन् ।

पोखरा महानगरपालिकामा सत्तारूढ गठबन्धनबाट नेकपा एसका धनराज आचार्यविरुद्ध कांग्रेसका नन्द तिवारी र ऋषि सापकोटाले स्वतन्त्र उम्मेदवारका रूपमा बागी उम्मेदवारी दिएका छन् । गठबन्धनबाट उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटको उम्मेदवारी परेको छ । एमालेबाट मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङ उम्मेदवार छिन् । वीरगन्ज महानगरपालिकामा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल छ । मेयरमा एमालेबाट विजय सराबगी र उपमेयरमा लोसपाबाट पुरुषोत्तम झाको उम्मेदवारी छ । तर, उपमेयरमै लोसपाका नेता रम्भा सिंहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन् । 

उता, जनकपुर उपमहानगरमा सत्तागठबन्धनबाट मेयरमा जसपाको उम्मेदवारी परेपछि कांग्रेसबाट राजीनामा दिएका मनोजकुमार साहले पनि स्वतन्त्र उम्मेदवारका रूपमा बागी उम्मेदवारी दर्ता गराएका छन् । करिब एक साताअघि एमालेमा प्रवेश गरेका जानकीराम साहले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् भने एमालेबाट उपमेयरमा सरोजकुमार मिश्रले बागी उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी, नेपाल जनता पार्टी नेपालबाट मेयरमा मुरलीमनोहर मिश्र र उपमेयरमा बन्दना पाण्डेय उम्मेदवारी दिएका छन् । त्यस्तै, लोसपाबाट विद्रोह गरी तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेकी विभा ठाकुरले मेयर र ईश्वर पण्डितले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

जनकपुरको मेयरमै कांग्रेसबाट राजीनामा दिएका बलराम महतो, वैद्यनाथ साह, श्यामकिशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पँजियार र सुधीरकुमार महतोले पनि उम्मेदवारी दर्ता गराएका छन् । एमालेले मेयर पदको टिकट नदिएपछि उमेश चौधरीले र कुमारीबनिता यादवले आइतबार नै उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराइसकेका छन् । कांग्रेसबाट टिकट नदिँदा निर्मलकुमार चौधरीले पनि उपमेयरमा बागी बन्दै उम्मेदवारी दर्ता गराएका छन् ।

सुझावित समाचार