सल्यानमा मनोनयन दर्ता शान्तिपूर्ण, १,६०७ जनाले गराए मनोनयन दर्ता

मंगलबार, १३ बैशाख, २०७९
डिजिटल संस्करण

स्थानीय तह निर्वाचनका लागि सल्यानमा एक हजार ६ सय सातजनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार जिल्लाका १० वटा स्थानीय तहमा उक्त संख्यामा मनोनयन परेको हो । 

तीनवटा नगरपालिका र सातवटा गाउँपालिकामा चाहिने मेयर,  उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी चार सय ३५ जना जनप्रतिनिधिका लागि आवश्यकभन्दा करिब चार गुणा बढी उम्मेदवारी परेको निर्वाचन कार्यालय सल्यानका सूचना अधिरकारी तेजेन्द्र चन्दले जानकारी दिए ।

वैशाख १२ गते दोस्रो दिन अपराह्न ३ बजेपछि मात्रै दलहरू मनोनयन दर्ता गर्न आएकाले शारदा नगरपालिकामा रहेको मुख्य निर्वाचन कार्यालयमा खटिएका कर्मचारीले रातभरि मनोनयन दर्ताको काम गरे पनि अझै फाइनल डाटा बाहिर आउन नसकेको उनले बताए । 

जिल्लाको शारदा नगरपालिकामा दुई सय ८५, बागचौर नगरपालिकामा दुई सय ५६, बनगाड कुपिण्डे नगरपालिकामा दुई सय १२, दार्मा गाउँपालिकामा एक सय ३८, त्रिवेणी गाउँपालिकामा एक सय २२, सिद्धकुमाख गाउँपलिकामा ८१, छत्रेश्वरी गाउँपालिकामा एक सय ६५, कुमाख गाउँपालिकामा एक सय १७ जनाले मनोनयन दर्ता गराएका छन् ।

यस्तै, कालीमाटी गाउँपालिकामा एक सय ३२ र कपुरकोट गाउँपालिकामा एक सय एकजनाले मनोनयन दर्ता गराएको कार्यालयले जनाएको छ । उम्मेदवारी दर्ताका लागि दलहरू स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा  र्यालीसहित पुगेका थिए । 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार