आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मुलुकभर छिटफुटबाहेक सबै ठाउँमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता भएका छन् । प्रहरीका अनुसार सिन्धुपाल्चोकको साँगा चौतारा नगरपालिकामा मेयरको उम्मेदवारी दर्ता गर्ने क्रममा माओवादी कार्यकर्ताबीच झडप भएको छ । पार्टीभित्रकै दुई पक्षबीच झडप हुँदा सोमबार नगरपालिकास्थित निर्वाचन कार्यालय दिनभरजसो तनावपूर्ण बन्यो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जका साथै अश्रुग्यास नै प्रहार गर्नुपर्यो । साँझ भने वातावरण नियन्त्रणमा आएको प्रहरीको भनाइ छ ।
त्यस्तै, डोल्पास्थित ठूलो भेरी नगरपालिकामा उम्मेदवारी दर्ता गर्ने क्रममा नेकपा एमाले कार्यकर्ताबीच विवाद भयो । विवाद झडपमा परिणत हुन सक्ने देखिएपछि प्रहरीले सुरक्षा प्रबन्ध कडा तुल्याएको थियो । दुई पक्षबीच विवाद हुँदा नगरपालिकास्थित निर्वाचन कार्यालय दिनभरजसो तनावग्रस्त बन्यो । साँझसम्म अवस्था सामान्य बनेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै, गोरखास्थित गोरखा नगरपालिकामा पनि उम्मेदवारी दर्ता गर्ने क्रममा कांग्रेस कार्यकर्ताबीच विवाद भयो । अवस्था नियन्त्रणमा लिन त्यहाँ पनि प्रहरीले बल प्रयोग गर्नुपर्याे । प्रहरीका अनुसार गोरखामा कांग्रेस कार्यकर्ताबीच नै विवाद भएको थियो । प्रहरीको हस्तक्षेपपछि अवस्था सामान्य बनेको प्रहरीको भनाइ छ ।
मधेसमा भने सबै निर्वाचन मुकाममा उम्मेदवारी दर्ता शान्तिपूर्ण ढंगले भएको छ । हालसम्म मधेसबाट तनावको कुनै सूचना नआएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए । उनले भने, ‘छिटफुटबाहेक सबै ठाउँमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता भएका छन् । पहाडी क्षेत्रका केही ठाउँमा सामान्य तनाव देखिएका छन् । मधेसका सबै क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता भएको सूचना आएका छन् ।’
काभ्रेस्थित नमोबुद्ध नगरपालिकामा उम्मेदवारी मनोनयनकै क्रममा कांग्रेस कार्यकर्ताबीच आइतबार बेलुका झडप भएको थियो । झडपबाट मेयरका प्रत्याशी रोशन पाण्डे घाइते भएका छन् । उनको अनुहारमा चोट लागेको छ । उनलाई कांग्रेस कार्यकर्ता तथा मेयरका अर्का प्रत्याशी कुन्साङ लामा समूहले कुटपिट गरेको थियो । घाइते पाण्डेको उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।